भरतपुर, ३१ जेठ ।
विश्वकप फुटबलको २१ औं संस्करण केहीबेरमा सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ ।
आधा घन्टासम्म चल्ने उदटन समारोहमा बेलायती गायक, रचनाकार र अभिनेता रोबी विलियम्सले सांगीतिक प्रस्तुति दिनेछन् । उनलाई रसियन गायिका आइडा गारीफुलिनाले साथ दिनेछिन् । ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् । विश्व फुटबल महासंघ (फिफा) ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने जनाएको छ ।
फिफा वरीयताअनुसार विश्वकपमा सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो । तर, आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ । रसिया फिफा वरीयतामा ७० औं स्थानमा छ भने साउदी अरेबिया ६७ औं स्थानमा छ । सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धी हो ।
रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनोट भएको हो । साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भइसकेको छ ।
विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ । प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी हुँदैछन् । विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै, उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।