भरतपुर, २० जेठ ।
ओईसीसी मिस एसईई स्टार चितवन २०१८ को उपाधि नारायणी नमूना मा.वि. भरतपुर अध्ययनरत निशा खत्रीले जितेकी छन् । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्य र नेपाल डायरिजको व्यवस्थापनमा गरेको प्रतियोगिताको शुक्रबार बेलुकि भएको फाइनलमा २५ फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले ताज पहिरिएकी हुन् ।
भरतपुर–२ क्षेत्रपुरकी खत्रीले उपाधिसँगै नगद ५० हजार रुपैयाँसँगै अक्सफोर्ड कलेज गैंडाकोटमा कक्षा ११ अध्ययन गर्न पूर्ण छात्रवृत्ति पाउने भएकी छन् । स्त्री तथा प्रसूती चिकित्सक बन्ने सपना लिएकी खत्री कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न चाहन्छिन् । चितवनलाई बालश्रममुक्त बनाउने अभियानमा सक्रिय हुने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।
नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमालको प्रमुख आतिथ्यमा गैंडाकोटको नारायणी रिसोर्टमा भएको फाइनल प्रतिस्पर्धामा टप टेन र टप फाइभ हुँदै विजेता घोषणा गरिएको थियो । टप फाइभलाई मुख्य निर्णायक अक्सफोर्ड कलेजका प्रिन्सिपल ईञ्जिनियर हरि भण्डारीले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिएर खत्री ओईसीसी मिस एसईई स्टार चितवन २०१८ बनेकी हुन् । टप फाइभलाई ‘तपाईंले उच्च शिक्षा अध्ययन गर्न चाहनुभएको विषयमा मौका पाउनुभएन भने त्यो समस्यालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?’ भनी प्रश्न गरिएको थियो । खत्रीले मिस फ्रेण्डसिपको उपाधि पनि जितिन् ।अन्तिम प्रस्पिर्धामा निर्णायकको भूमिकामा ईञ्जिनियर भण्डारीसँगै रंगपत्रकार तथा चलचित्र निर्देशक सुव्रतराज आचार्य, युवा व्यवसायी तथा कलाकर्मी चन्दन अग्रवाल, एलाईभ हरिपटल भरतपुरका प्रबन्ध निर्देशक डा. बीएम खरेल र चितवनका पुराना रेडियोकर्मी अजिता अधिकारी रहेका थिए ।
प्रतियोगितामा पूर्वी चितवन भण्डारास्थित ग्लोसाइन एकेडेमीकी शीर्षक भण्डारी फस्र्ट रनर अप भइन् । उनले नगद ३० हजार र अक्सफोर्डमै कक्षा ११ को पूर्ण छात्रवृत्ति पाउने छिन् । सेकेण्ड रनर अप बनेकी ज्ञानदर्शन स्कूल पढ्ने भरतपुर–११ की ऋतिका रानाभाटले २० हजार पाइन् । ऋतिकाले मिस मल्टिमिडिया र बेस्ट क्याटवाक सबटाइटल पनि जितिन् ।
उनले पनि अक्सफोर्डमा ७५ प्रतिशत छात्रवृत्ति पाउने छिन् । थर्ड रनरअप, बेष्ट स्माइल र मिस पर्सनालिटी उपाधि जितेकी रत्ननगरको न्यू स्पीडी स्कूलकी स्मृति रानाभाट र फोर्थ रनरअप बनेकी ग्रीनल्याण्ड पब्लिक स्कूल भरतपुर–१२ की शिवानी परियारले अक्सफोर्डमा ५० प्रतिशत छात्रवृत्ति पाउने कार्यक्रम संयोजक अनिस तामाङले जानकारी दिए ।
सहभागीमध्ये वविता तामाङले मिस पपुलर च्वाइस, बेष्ट पर्फमेन्स र मिस ट्यालेण्टको उपाधि हात पारिन् । त्यस्तै मिस डिसिप्लिन रिया श्रेष्ठ, मिस फोटोजेनिक र बेष्ट स्टायलिस ड्रेस सजिता न्यौपाने, बेष्ट अफिसियल ड्रेस डिजाइनर इन्टरनेसनल फेसन कलेजकी समीक्षा रेग्मी र बेष्ट ड्रेस कलेक्सन स्रष्ठाका डिजाइनर समन प्रजापति भएको इभेन्ट म्यानेजमेन्ट संस्था नेपाल डायरिजका प्रबन्ध निर्देशक विनेश थापाले जानकारी दिए । सब टाइटल जितेका सबैलाई अक्सफोर्डले जनही ३० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ ।
गत बैशाख ३ र ४ गते गरिएको अडिसनमा सहभागी ८७ जनामध्येबाट फाइनल प्रतिस्पर्धामा २६ जना छनोट गरिएको सञ्चार संयोजक अनिल घिमिरेले जानकारी दिए । फाइनल प्रतिस्पर्धा कायाकैरन मिडिया नेटवर्कका निर्देशक विनोदबाबु रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
…….