भरतपुर, १० जेठ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल भरतपुर महानगर समितिले भरतपुर महानगरलाई ४० सुत्रीय माग पेश गरेको छ । बुधबार महानगरपालिकाका मेयर रेनु दाहाललाई मोर्चाको एक टोलीले ज्ञापनपत्र बुझाएको हो । मोर्चाका तर्फबाट महानगर समिति संयोजक बाबुराम प्यासी परियारले ज्ञापनपत्र बुझाएका हुन् ।
जनजीविकाका मुख्य मुद्धालाई केन्द्रमा राखेर ज्ञापनपत्र बुझाइएको परियारले जानकारी दिए । “स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्यो, जनताले प्रत्यक्ष देखिने काम हुन सकेका छैनन्”, उनले भने, “ढाड सेक्ने गरी कर बढाएर हुँदैन । सोअनुसार विकास निर्माणले गती लिन सक्नुपर्छ ।” मजदुरको सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, विचौलिया प्रथा हटाएर प्रत्यक्ष रोजगार प्रणाली कायम गर्नुपर्ने, भुउपयोग नीति कार्यान्वयन गरिनुपर्ने, भूमिहीनलाई जग्गा उपलब्ध गराइनुपर्ने, महानगरमा मजदुर न्यायिक डेस्क स्थापना गर्नुपर्ने माग उल्लेख गरिएको छ । महानगरको कृषि नीति बनाउनुपर्ने, कृषिजन्य वस्तुको उचित मूल्य निर्धारण गर्नुपर्ने, गुणस्तरहिन खाद्य तथा पेय पदार्थको उत्पादन तथा बिक्रि वितरणमा रोक लगाउनुपर्ने, युवालाइ बेरोजगार भत्ता दिनुपर्ने, निजी स्कूल, कलेजलाई सरकारीकरण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
“दृष्टि बन्धक, मिटर ब्याज, चर्को ब्याज, ढुकुटी, हुण्डीलगायत अवैधानिक क्रियाकलाप बढेका छन्”, संयोजक परियारले भने, “अवैधानिक आर्थिक क्रियाकलाव र जुवाका अघडा बन्द गर्न पहल होस् ।” उनले घरभाडा अनावश्यकरुपमा वृद्धि गर्ने, कर छली गर्ने, बहाल कर समेत स्वयं बहालवालालाई तिराउने प्रथा अन्त्य गर्न महानगरले कदम चाल्नुपर्नेमा ध्यानाकर्षण गराए । “सेवा प्रवाहमा निकै ढिलासुस्ती र पक्षपाती व्यवहार हुने गरेका छन्”, उनले भने, “घुस माग्ने कर्मचारी पहिचान गरेर कारवाही होस् ।
सेवाग्राहीलाई सहजरुपमा सेवा लिने वातावरण बनोस् ।” उनले महानगरले फोहरमैलाको उचित व्यवस्थापन नगरेको भन्दै मेयरको ध्यानाकर्षण गराए । भरतपुर विमानस्थललाई अन्यत्र सार्न प्रभावकारी कदम चाल्न आग्रह गरे । “सार्वजनिक एवम् ऐलानी जग्गा जमिनदारले प्रयोग गर्दै आएका छन्”, उनले भने, “तत्काल लगत संकलन गरी नियन्त्रण गर्ने काम होस् ।” ज्ञापनपत्र बुझ्दै मेयर रेनु दाहालले मागका विषयलाई गम्भीररुपमा लिएको बताइन् । “समग्र महानगर हितका पक्षमा माग पेश भएको अनुभूति गरेको छु”, उनले भनिन्, “तत्काल पुरा गर्न नसकेपनि आगामी दिनमा मागका सवालमाथि सम्बोधन हुनेछ ।”