६ महिनादेखि भुक्तानी रोकियो
धु्रवराज खनाल/कायाकैरन
रत्ननगर, ३ जेठ ।
सरकारले दूधलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइरहेका बेला किसानले उत्पादन गरेको दूध भने सहज ढंगबाट बिक्री हुन छाडेको छ । निजी डेरी कम्पनीले सहज ढंगबाट दूध नउठाउनु र ६ महिनासम्मको भुक्तानी नदिनुले अदृश्य मिल्क होलिडे प्रमाणित भएको चितवनका अगुवा किसान तथा सहकारीका प्रतिनिधिले बताएका छन् ।
केही दुग्ध उत्पादक सहकारी संस्थालाई निजी डेरी कम्पनीहरुले दूध नउठाउने भनेर चिठीसमेत काटिसकेको छ । व्यावसायिक पशुपालक कृषक समाज रत्ननगर र नगरस्तरीय दुग्ध उत्पादक सहकारी समन्वय समिति रत्ननगरले बुधबार पत्रकार सम्मेलन आयोजना गरी दूधको बजारीकरणमा समस्या देखिएको अगुवा किसानहरुले बताए । “दूध संकलन र भुक्तानी सहज ढंगबाट भएको छैन”, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य एवं अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष भागिरथ तिमल्सिनाले भने, “हामीले १५–१५ दिनमा किसानलाई भुक्तानी दिनुपर्छ । तर, निजी डेरीहरुले ६ महिनासम्म भुक्तानी दिदैनन ।”
तिमल्सिनाका अनुसार चितवनका केही दुग्ध उत्पादक सहकारी संस्थाले ६ महिनासम्मको भुक्तानी पाएका छैनन् । केही दुग्ध उत्पादक सहकारीले ४०–५० लाखसम्म भुक्तानी पाउन बाँकी छ । यही अवस्था रहिरहे आगामी भदौ– असोजदेखि मिल्क होलिडे हुनेछ । चितवनमा २०६० सालदेखि मिल्क होलिडे भएको छैन । व्यावसायिक पशुपालक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले निजी डेरी कम्पनीलाई दूध बिक्री गर्नु बाध्यता रहेको बताए । “धान मकैजस्तो दूध स्टोर गरेर राख्न मिल्दैन”, बगालेले भने, “त्यसको फाइदा निजी कम्पनीहरुले उठाइरहेका छन्, निजी डेरीलाई दूध दिनु हाम्रो बाध्यता हो ।”
भारतबाट आयातित हुने धुलो दूध र कच्चा दूधका कारण स्वदेशमा उत्पादित दूधले बजार नपाएको बगालेको दावी छ । सरकारले नेपाललाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । तर, स्वदेशमा उत्पादित दूधप्रति ध्यान दिएको छैन”, बगालले भने, “बाहिरबाट दूध आइरहँदा यहाँको दूध बाटोमा फाल्ने दिन टाढा छैन ।” उनले दूध उत्पादनमा दिइने अनुदान विभेदकारी रहेको बताए । सरकारले भारतको अमुल डेरीलाई नेपालमा सञ्चालन दिने तयारी गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै बगालेले स्वदेशी उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
चितवनको ठिमुरास्थित धुलो दूध प्लान्ट बन्द छ । तर, भारतबाट भने धुलो दूध र कच्चा दूध भित्रिरहेका छन् । खैरहनी–१०, शान्तिबजारस्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवं केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले चितवनका केही दुग्ध उत्पादक सहकारी संस्थालाई निजी डेरी कम्पनीहरुले दूध नउठाउने र मूल्य घटाउनुपर्ने भनेर चिठी पठाएको बताए । उप्रेतीका अनुसार चितवनको बलराम दुग्ध उत्पादक सहकारी संस्था, जनमुखी, परेवाश्वरी दुग्ध उत्पादक संस्थालाई जेठदेखि दूध नउठाउने भनेर चिठी पठाइएको छ ।
चितवनमा दैनिक करिब ३ लाख दूध उत्पादन हुँदै आएको छ । चितवनबाट सबैभन्दा धेरै काठमाडौंमा दूध खपत हुँदै आएको छ भने हेटौंडा र पोखराका डेरीले पनि यहाँको दूध खरिद गर्दै आएका छन् । यहाँबाट करिब ३५ वटा दुग्ध डेरीहरुले दूध उठाइरहेका छन् । चितवनमा १३८ वटा दुग्ध सहकारी संस्था तथा ४ सय वटा फर्म रहेका छन् ।
सरकारले दूधलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइरहँदा अदृश्य मिल्क होलिडे हुनु अनि दैनिक ४ लाख लिटर दूध अपुग रहनु सरकारका लागि चुनौतीको विषय बनेको छ । त्यसैले भारतबाट आयातित कच्चा दूध र धुलो दूध नियन्त्रण गरी यहाँका किसानलाई प्रोत्साहन गर्दै दूध उत्पादनलाई बढावा दिनुपर्ने किसानहरुको भनाइ छ । नगरस्तरीय दुग्ध उत्पादक सहकारी समन्वय समितिका अध्यक्ष शिवकान्त पौडेलको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा अगुवा किसानहरु एकनारायण पौडेल, टोमराज भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
दुग्ध किसानलाई ‘मिल्क होलिडे’ को डर
दुग्ध किसानलाई ‘मिल्क होलिडे’ को डर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस