नेपाल विद्युत् प्राधिकरणमा विगत केही समयमै अभूतपूर्व परिवर्तन भएको छ । १८ घण्टासम्म दैनिक लोडसेडिङ हुने नेपालमा केही समयमै कत्तिपनि लोडसेडिङ नहुने अवस्था ल्याउन विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले सोमबारबाट देशलाई नै लोडसेडिङमुक्त घोषणा गरेको छ । खेर गएको र अनियमितता भएको बिजुलीको सदुपयोग गरी सही व्यवस्थापन गर्दा यो सम्भव भएको हो । विशेषगरी यसको श्रेय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उनलाई आफ्नो सिर्जनात्मक क्षमताअनुसार काम गर्ने वातावरण बनाइदिने सम्बन्धित मन्त्रालय प्रमुख (मन्त्री) तथा अरु अधिकारीहरुलाई जान्छ । उनीहरुले अथक मेहनत गरेर अहिले चौबिसैघण्टा देशभर बिजुली दिएर सबैको धन्यवाद पाएका छन् ।
ग्राहकले गतवर्षको असोजदेखि नै नियमितरूपमा विद्युत् पाएपनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमितरूपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिए । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी ग¥यो । औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्ने र त्यो पनि सफल भयो । प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटाँैडा छन् । यस्तै विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । बैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । प्राधिकरणका अनुसार हाल एक मेगावाटभन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाटभन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ । यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमितरूपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रूपमा रहेको कालीगण्डकी एबाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङ कटौती गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सकारात्मक पहल र घिसिङको उत्कृष्ट व्यवस्थापनका कारण यो सम्भव भएको हो । मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई पनि प्राधिकरणले अब हटाउँदै लैजानुपर्छ । अहिले भएको लोडसेडिङको मुक्तिलाई सधैंका लागि ‘सिस्टम’ मै लैजान आवश्यक छ । त्यसो भएमा जनताले यो कालको एकदमै ठूलो परिवर्तन महसुस गर्न पाउने छन् ।