भरतपुर, २९ बैशाख ।
माडी नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले क्यानभासमा बसेर चित्र कोर्न एक दर्जन बढी कलाकार माडी पुगेका छन् । पर्यटन विकास समिति माडीले आयोजना गरेको चित्रकला कार्यशालामा अन्तराष्ट्रिय स्तरमा कला प्रर्दशनीमा सहभागि हुने अधिकाँस कलाकार सहभागि हुनेछन् । पर्यटन समितिका सचिव गोविन्द न्यौपानेले कलाकारले माडीका ऐतिहासिक, धार्मिक तथा कृषिका पर्यटकीय गन्तव्यलाई अवलोकन गरेर चित्रमा उतार्ने बताए । माडी नगरपालिका तथा पर्यटन समितिले शनिबार साँझ कलाकारलाई स्वागत गरेका छन् ।
“माडीलाई पर्यटनको केन्द्र बनाउन कार्यशाला कोशेढुंगा बन्नेछ”, उनले भने, “माडीको पहचानलाई उजागर गर्ने कला तयार हुनेछन् ।” कार्यशालामा चित्रकार दामोदर बराल, डिराम पाल्पाली, केशवराज खनाल, लालकाजी लामा, भीमबहादुर श्रेष्ठ, डिवी राई, तमबहादुर पुन, प्रकाश थापा, बरुणबाबु घिमिरे, योगेश खनाल दयालु, दिनेश्वर महतो, राजेश बराल लगायतका कलाकार सहभागि छन् । कार्यशाला जेठ २ गतेसम्म चल्नेछ । कार्यशालाबाट झण्डै ३५ वटा चित्र बन्नेछन् । “माडी चिनाउने जीवन्त चित्र कोर्नेछौँ”, चित्रकार दामोदर बरालले भने, “क्यानभासमा बसेर चित्र बनाउने छौँ ।” कार्यशालाबाट बनेका चित्रलाई माडीमा प्रदर्शनी गरिनेछ । यस्तै भरतपुर, काठ्माण्डौ लगायतका क्षेत्रमा विशेष प्रर्दशनी गरेर माडी चिनाउने अभियानै चलाइनेछ । माडीमा वाल्मीकि आश्रम, गोद्धक, सोमेश्वर, बैकुण्ठ ताल, थारु वस्ती, शिवद्वार होमस्टे, माछापालन लगायतका पर्यटक लोम्याउने गन्तव्यहरु प्रशस्तै छन् ।