लेखराम सापकोटा
गैंडाकोट, २३ बैशाख ।
युवा आख्यानकार जिएस पौडेलको उपन्यास `एक सर्को माया´ को गृह विमोचन गरिएको छ ।
गैंडाकोट नगरपालिकाका स्थायी बासिन्दा पौडेलको उपन्यासलाई गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, साहित्यकार धनराज गिरि, पत्रकार लेखराम सापकोटा र लेखक पौडेलले संयुक्तरूपमा विमोचन गरे । मेयर छत्रराज पौडेलले लेखक पौडेल गैंडाकोट नगर क्षेत्रका प्रतिभा भएकाले उनको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए । उनको लेखनले गैंडाकोटको ख्याती संसारभर फैलिने र गैंडाकोटको गरिमा बढ्ने भएकाले यस क्षेत्रमा रहेर कलम चलाउनेहरुलाई नगरपालिकाले सदैव सहयोग गर्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरे ।
उपन्यासमाथी साहित्यकार धनराज गिरीले समीक्षात्मक टिप्पणी राखे । पौडेलको लेखनकला बेजोड छ, गिरीले भने – आख्यान पढ्ने पाठककाई फरक स्वाद सहितको पुस्तक पौडेलले दिएका छन् । नेपाली साहित्यमा आएका प्रेमील उपन्यासहरु मध्य एक सर्को माया अब्बल उपन्यास भएको उनले बताए । कार्यक्रमकै विचमा पत्रकार विजय विश्वकर्माले लेखक पौडेलसँग केही बेर संवाद चलाए । आख्यान लेखनका सन्दर्भ, आख्यानभित्रका पात्र र आख्यानको विषयबस्तुमा रहेर विश्वकर्माले लेखक पौडेललाई विभिन्न प्रश्नहरू राखेका थिए । रोजगारीको सिलसिलामा माल्दिभ्स बस्दै आएका पौडेलले आत्महत्या गरेकी माल्दिभ्सकी मोडेल राउधालाई पात्र बनाएर उपन्यास लेखेका छन् । उपन्यासमा २०७२ सालको महाभूकम्प, भारतीय नाकाबन्दी, छुवाछूत लगायतका प्रसङ्ग पनि जोडिएका छन् । सुनगाभा बुक हाउसको आयोजना र मुकुन्दसेन टेलिभिजनको व्यवस्थापनमा गरिएको कार्यक्रममा ईश्वर कँडेल, लेखराम सापकोटा, दिनेश कँडेल लगायतले पुस्तकका बारेमा बोलेका थिए ।
सोही समारोहमा गजल एल्बमको पनि विमोचन गरियो । स्थानीय युवा गायक निर्दोष जीवनको गजल एल्बम फस्ट लभमा ७ वटा गजलहरु समावेश छन् । पुष्प अधिकारी अञ्जली, टीका सापकोटा र उर्मिला कार्की सहित निर्दोष जीवनले लेखेका गजकहरु एल्बममा छन् । एउटा गजलमा दीवस श्रेष्ठको आवाज रहेकोे छ भने बाँकी ६ वटै गजलमा निर्दोष जीवन कै स्वर रहेको छ । सबै गजलमा आफै संगीत दिएका निर्दोष जीवनको फस्ट लभ चितवन र नवलपुर क्षेत्रकै पहिलो गजल एल्बम हो ।
एक सर्को मायाको गृह विमोचन
एक सर्को मायाको गृह विमोचन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस