आज विश्व प्रेस स्वतन्त्रता दिवस । हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि बहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरुको योगदानलाई सम्झना र सम्मान गर्दै यो दिवस मनाइन्छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघीय महासभाले अनुमोदन गरेपछि यस दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । सञ्चारका माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सूचनाको अधिकारमै धक्का पुग्छ । त्यस्तै प्रेस स्वतन्त्रतामाथि जहाँ अंकुश लगाइन्छ, त्यहाँ निरंकुशता मौलाउँछ । जनताले सूचनाको हक प्रत्याभूति गर्न पाउँदैनन् र बेथिति उग्र भएर जान्छ । त्यसैले विश्वले नै प्रेस स्वतन्त्रतालाई मानेको छ ।
स्वतन्त्रता अनि निष्पक्षताको वकालत गर्ने आजको विश्वमै पनि दर्जनभन्दा धेरै देशहरुमा प्रेसउपर सेन्सर गरिन्छ । प्रेसकर्मीहरु उपर बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप गरिन्छ । आजको दिनले सामान्य जनताहरुलाई प्रेस स्वतन्त्रताका बारेमा जानकारी अनि महत्व वुझाउने सर्वव्यापी चेष्टा गरिन्छ । यसका साथै आजको दिनले संसारभरिका प्रेसकर्मीहरुलाई प्रेस तठस्तताको पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ । पछिल्लो दशकमा प्रजातन्त्रको पुनर्आगमनसँगै नेपालमा पनि प्रेसकर्मप्रतिको उत्साह गज्जबले बढेको छ । देशभर सयौं रेडियो खुलेका छन् । दर्जनौं टेलिभिजन र हजारौं पत्रपत्रिका र अनलाईन गरी विभिन्न स्वरुपमा धेरै सञ्चार केन्द्रहरु स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो । तथापि हरेक विकासँगै आउने चुनौतीहरुझै प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरु नेपालमा कतिको सम्बोधन अनि समाहित गर्न सकिएको छ त ? भन्नेकुरा पक्कैपनि विचारयोग्य कुरा हो ।
छाडातन्त्रबाहेकको स्वतन्त्र प्रेस लोकतन्त्रको अनिवार्य सर्त हो । कुनैपनि मुलुकमा लोकतन्त्र बलियो हुनका लागि प्रेस अंकुसरहित हुनैपर्छ । कसैको निर्देशन, आग्रह वा दबाबमा यदि कुनै प्रेस छ भने पक्कै पनि लोकतन्त्रका आधारहरु बलिया हुँदैनन् । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिएपनि व्यवहारमा त्यसअनुरूप वातावरण पूर्णरुपमा अझैपनि बन्न सकेको छैन । एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवद्र्धन एवं विकासका निम्ति नीतिगत, कानूनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ । राज्यले प्रेस स्वतन्त्रताको सुनिश्तिता गर्नुपर्छ । पत्रकारले पनि सीमासहितको प्रेस स्वतन्त्रतलाई स्वीकार गर्नुपर्छ र पालन गर्नुपर्छ । स्वतन्त्रताको नाममा कुनै अमूक व्यक्ति वा समूहको स्वार्थमा आफूलाई पूरै समर्पित गर्नु अपराध हो, प्रेस स्वतन्त्रताको गलत उपयोग हो । पत्रकार भइयो भन्दैमा जे पनि गरेहुन्छ, जहाँपनि सहुलियत पाउनुपर्छ वा अगाडि नै मेरो काम हुनुपर्छ भन्नु स्वतन्त्र प्रेसको व्यवहारिक कार्यान्वयन होइन । जहाँ निर्भिक भएर व्यावसायिक पत्रकारले समाचार लेख्न सक्छ र कुनै दबाब महसुस गर्न पर्दैन भने त्यहाँ प्रेस स्वतन्त्रताको सुनिश्चितता हुन्छ ।
सम्पादकीय : बलियो प्रेस पहिलो सर्त
सम्पादकीय : बलियो प्रेस पहिलो सर्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु