विप्लव काफ्ले
भरतपुर, १९ बैशाख ।
चितवनमा सुविधासम्पन्न केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र निर्माण गर्न पहल थालिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तसञ्चार केन्द्र स्थापना गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन भरतपुर महानगरपालिकासँग आग्रह गरिसकेको छ ।
“चितवन मेडिकल सिटीका रुपमा विकास हुँदै गएको छ”, चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानले भने, “सुविधासम्पन्न रक्तसञ्चार केन्द्र स्थापना हुनसके बिरामीको उपचार गर्न सहज हुने थियो ।” विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसारको भवनसहितको गुणस्तरीय सेवा पु¥याउन जग्गा खोजी भइरहेको बताए । “न्यूनतम १० कठ्ठा जग्गा आवश्यक देखिएको छ”, उनले भने, “महानगरसँग अनुरोध गरेका छौँ ।” रेडक्रस चितवनले सो परियोजनाबारे स्थानीय सरकारदेखि केन्द्रीय सरकार समक्ष अवगत गराउँदै आइरहेको छ । “चितवनमा वार्षिक झण्डै ४० हजार युनिट संकलन हुने गर्छ”, उनले भने, “क श्रेणीको रक्तसञ्चार बनाउन ५० हजार युनिट संकलन हुनुपर्ने न्यूनतम मापदण्ड छ । त्यो पूरा गर्न सक्छौँ ।”
नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानले चितवनले रगत संकलन र वितरणमा उल्लेखनीय काम गरेको स्मरण गर्दै भने, “अन्तर्राष्ट्रियस्तरको रक्तसञ्चार बनाउन पहल गरौँ ।” उनले ‘ब्लड बैंक’ स्थापना गर्न महानगरले पहल गर्नुपर्नेमा जोड दिए । “अब सामान्य ब्लड बैंक चलाएर हुँदैन”, उनले भने, “धेरै किसिमका रोगका संक्रमण आउन थालेका छन् । रगतलाई अझ बढी ‘स्क्रनिङ’ गरेर गुणस्तरीय रगत दिन आधुनिक औजार उपकरणको व्यवस्थापन गर्न जरुरी छ ।” ‘होल ब्लड’लाई ‘मल्टिपल’ प्रयोग हुने गरी सेवा विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिए । चितवन देशकै केन्द्रभागमा रहेकाले रक्तसञ्चार केन्द्र स्तरोन्नती गर्न आवश्यक रहेको बताए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र स्थापना गर्न सक्रिय सहयोग गर्ने प्रतिवद्धता जनाइन् । “रेडक्रसका पदाधिकारी पटक–पटक विभिन्न माग लिएर आएका छन् । असाध्यै गम्भीर भएर स्वीकार गरेको छु”, उनले भनिन्, “व्लड बैंक स्थापना गर्न जमिनको अपेक्षा गर्नुभएको छ । सकेसम्म बजारमै नभए नजिकमा जग्गा उपलव्ध गराउन पहल हुनेछ ।” उनले बजार क्षेत्रमा सार्वजनिक जग्गा कम भएकाले तत्काल जग्गा उपलब्ध गराउन अप्ठ्यारो परेको उनको भनाइ थियो । उनले चितवन उपचार, रगत संकलन र वितरणका लागि देशकै दोस्रो जिल्लाका रुपमा चिनिएकाले रक्तसञ्चार केन्द्र बनाउन आवश्यक पहल गरिने बताइन् । चितवनमा रेडक्रस सोसाइटी मातहतका क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर अस्पतालभित्र छ ।
यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडीकल कलेज भरतपुरमा रक्तसञ्चार युनिट सञ्चालनमा छ । करिब ४ वर्ष पहिले कोरियाको कोइकाले रेडक्रस चितवनलाई २५ करोड बराबरको उपकरण तथा मेसिन सहयोग गर्न सकिने बताएको थियो । तर, रक्तसञ्चार केन्द्र भवन बन्न नसकेपछि सो सहयोग त्यसै हराएको थियो ।
रक्तदातालाई प्रोत्साहन गरौँ
उपचारका सिलसिलामा अत्यावश्यक पर्ने रगत अभाव हुन नदिन रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले आयोजना गरेको ‘रक्तदान उत्प्रेरणा कार्यतालिका तथा पुरस्कार वितरण’ कार्यक्रममा सामाजिक अभियान्ताले रक्तदातालाई प्रोत्साहन गर्ने नीति लिएमा रगत अभावको समस्या हल हुने बताए ।
“एउटा रक्तदाताले १० जनालाई रक्तदान गर्न प्रोत्साहन गर्ने वातावरण बन्नुपर्छ”, १६२ पटक रक्तदान गरेका अर्जुन मैनालीले भने, “रक्तदाता स्वयं उत्प्रेरित बने रगत अभाव समस्या हल हुन्छ ।” नेपाल राष्ट्रिय अण्डा उत्पादक महासंघका अध्यक्ष त्रिलोचन कंडेलले रक्तदातालाई प्रोत्साहन गर्न रक्तदानका समयमा दुई वटा अण्डा सहयोग गर्दै आएको बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले रक्तदातालाई सामाजिक सेवा गरे सरह सेवा सुविधा दिनुपर्नेमा जोड दिए ।
फिजिसियन डा. भोजराज अधिकारीले धेरैपटक रक्तदान गर्ने व्यक्तिलाई कम्तीमा एक दिन सामाजिक सेवा गरेवापत व्यक्तिगत विदा दिने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले दुर्घटनाका बेला तत्काल उद्धार गर्न ‘आईआरटी’ सञ्जाल बनाएर रगत अभाव हुन नदिनुपर्ने बताए । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट युवानिधि बस्यौलाले रगत अभावले अप्रेशननै रोक्नुपर्ने अवस्था अन्त्यका लागि रक्तदातालाई उत्प्रेरित गर्नुपर्ने बताए ।
केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक मनितराज कर्णिकारले रगतको विकल्प विज्ञानले पत्ता नलाएकाले नयाँ रक्तदाताको खोजी गर्नुपर्ने बताइन् । चितवनमा रक्तदातालाई प्रोत्साहन गर्न स्थानीय सरकारले पतिबद्धता जनाएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए । उनका अनुसार रक्तदान गर्ने व्यक्तिलाई प्रोत्साहन स्वरुप रकम दिन थालिएको छ ।
भरतपुर महानगर, राप्ती नगरपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँ, रत्ननगर नगरपालिका, माडी नगरपालिकाले प्रतिव्यक्ति १ सय रुपैयाँ दिनेछन् । यस्तै उपशाखा कृष्णपुर, भरतपुर १२, पार्वतीपुरले १ सय रुपैयाँ, भरतपुुर ९ वडा कार्यालयले १५० रुपैयाँ दिनेछ । यसैबीच क्षेत्रीय रक्तसञ्चार केन्द्रले धेरै युनिट रगत संकलन गरेको भन्दै नेपाल युवा रेडक्रस सर्कल अरोमा कलेजलाई सर्वोत्कृष्टको रनिङ शिल्ड प्रदान गरेको छ ।