ध्रुवराज खनाल
रत्ननगर, १९ बैशाख ।
चितवनको कालिका नगरपालिका–६ मा नचिनेका मान्छेहरुको समूहले सोमबार राति ठूलो परिमाणमा केराखेती नष्ट गरिदिएको छ । सो वडामा करिब ३ हजार १ सयभन्दा बढी केराको बोट सो समूहले काटेर नष्ट गरिदिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।
चितवन केराखेतीका लागि पकेट क्षेत्र मानिन्छ । तर, बेला–बेलामा यस्ता गतिविधि पनि हुँदै आएका छन् । वर्सेनिजसो हावाहुरीले पनि केरा ढाल्ने गरेको थियो । तर, प्राकृतिक विपद्बाहेक यति धेरै क्षति गराइएको भने पहिलो पटक हो । कालिका नगरपालिका–६, नयाँ टोलमा स्थानीय १२ जना किसानले लगाएको केराको बोट चपाचप काटेर ढालिएका छन् । आत्मनिर्भरतातर्फ उन्मुख रहेको केराखेतीमा यसरी क्षति पु¥याउँदा किसान चिन्तामा छन् । “थोरै मात्रामा पहिलेपनि केराको बोट काटेर क्षति पु¥याउँथ्यो”, संघका अध्यक्ष पन्तले भने, “यति ठूलो परिमाणमा क्षति पु¥याएको पहिलो घटना हो, यसले किसानलाई निरुत्साहित पार्ने काम भएको छ ।”
सो समूहले मध्यराततिर बगानमा पसेर छानी–छानी केराको बोट काटेको छ । केरासँगै करिब ५ कठ्ठामा लगाएको मकैमा समेत सो समूहले क्षति पु¥याएको पन्तले बताए । सो अपराधमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिइएको छ । स्थानीय कोपिला दाहालको सबैभन्दा धेरै १२ सय बोट नष्ट गरिएको छ । त्यस्तै शोभा भट्टको ६ सय बोट, झलक सुवेदीको ३ सय, नवराज धितालको १ सय ५०, शंकर अम्गाईंको २ सय ५०, देवीप्रसाद गोतामेको ५०, धु्रव आचार्यको ३५, गोपी लामिछानेको २ सय, गोविन्द दाहालको ५०, लीला पंगेनीको १ सय ५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा पूर्णरुपमा नष्ट भएको चितवन केरा उत्पादक संघले जनाएको छ ।
कोसा लागिसकेको केरा काटेर नष्ट गर्नु सुनियोजित अपराधिक गतिविधि रहेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न किसानहरुले माग गरेका छन् । केहीदिनअघि मात्रै सो क्षेत्रबाट लागूपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरामा क्षति पु¥याएको हुनसक्ने स्थानीयको अनुमान छ । एउटा बोटमा फलेको केरा बिक्री हुँदा किसानले पाँच सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । किसानहरुको साढे १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको संघका अध्यक्ष पन्तले बताए । पूर्वी चितवन केराका लागि विशेष क्षेत्र हो । चितवनमा पछिल्लो समय केराखेती फष्टाउँदै गएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले केरा नष्ट गर्न संलग्नको खोजी भइरहेको बताए ।
यसैबीच चितवन केरा उत्पादक संघले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा संलग्नहरुको खोजी गरी कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष पन्तले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई खोजी गरी सो क्षतिको पूर्ण क्षतिपूर्ति तिराई कडा कारबाही गर्न माग गरिएको छ ।
यस्तै नेपाली कांग्रेस चितवनले केराको बोट फँडानी गरिएकोमा विज्ञप्ति निकालेर विरोध जनाएको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा यस्तो अपराधिक मनोवृत्ति बाट सिंगो केरा व्यवासायी आतंक भएको भन्दै संलग्न अपराधीलाई यथाशक्य छिटो पत्ता लगाई कानूनी कारबाही गर्न माग गरिएको छ ।
यस्तै नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर नगर कमिटीका अध्यक्ष निरज श्रेष्ठ र कृषि प्रवद्र्धन समिति संयोजक भीमबहादुर नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई काराबाहीको माग गरेका छन् ।