केपीकिरण शर्मा
रत्ननगर, १९ बैशाख ।
राप्ती नगरपालिका वडा नम्बर २ स्थित धमिली गाउँमा दुई सयभन्दा बढी घरपरिवार चेपाङ छन् । २५ वर्षअघि खुलेको स्थानीय जनज्योति आधारभूत विद्यालयबाट वर्सेनि दुईदर्जनभन्दा बढी चेपाङ बालबालिका पाँचकक्षा पास गर्छन् । तर, खाद्यान्न अभाव र भौगोलिक विकटताका कारण सोभन्दा माथि अध्ययन गर्दैनन् । उल्लेख्य के छ भने त्यति धेरै चेपाङको बसोबास भएको गाउँमा एसएलसी उत्तीर्ण गर्ने दुई जना मात्रै छन् ।
केही बालबालिका पिप्लेमा रहेको बुद्धशान्ति माविमा ६ कक्षामा भर्ना भएपनि विभिन्न बाधा व्यवधानले गर्दा बीचमै पढाइ छाड्न बाध्य छन् । सरकारले बालबालिकालाई विद्यालय भर्ना गराउन जतिसुकै हल्लाखल्लाका साथ विभिन्न अभियान चलाएपनि धमिली गाउँमा भने भर्ना अभियान ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ सरह भएको छ ।
जनज्योति आधारभूत विद्यालयका प्राधानाध्यापक कृष्णवहादुर सारु मगर भन्छन्, “हामीले वर्षौंदेखि अभिभावकलाई जनचेतना दिलाउने प्रयत्न गरिरहेका छौं । तर, हात लाग्यो शून्य छ ।” अभिभावकहरुमा शिक्षाको कमी र गरीबीका कारण यस्तो भएको उनी बताउँछन् । स्थानीय सरकार, बलियो सरकारको झ्याली पिट्ने नगरपालिकाका कुनैपनि पदाधिकारीले यो गाउँमा आएर अहिलेसम्म कुनैपनि खालका प्रयास नगरेको स्थानीयको गुनासो छ ।
बुद्ध शान्ति माविमा कक्षा १२ मा अध्ययन गरिरहेका सन्तबहादुर चेपाङ भन्छन्, “मसँग आफ्नो गाउँका १४ जना चेपाङहरु कक्षा ६ मा भर्ना भएकोमा कसैले पनि ६ कक्षा पूरा गरेनन् । अहिले सबै दौतरीहरुको विवाह भएर बाबु आमासमेत बनिसकेका छन् ।” सन्तबहादुर यस्ता अपवाद हुन्, जसले स्थानीय आधारभूत विद्यालयमा पढेर दुःखजिलो गर्दै घरबाट २ घण्टा उकालीओराली धाउँदै १२ कक्षासम्मको पढाइलाई निरन्तरता दिइरहेका छन् ।
धमिलीकै अर्का उदाहरणीय पात्र हुन्ः कमल चेपाङ । जसलाई कुनै सहयोगीले काठमाडौंको बालआश्रममा राखेर १ कक्षादेखि १२ कक्षासम्मको पढाइ पूरा गरिदियो । पढाइमा अब्बल रहेका उनी गाउँ फर्किएर पिप्लेमा रहेको बुद्धशान्ति क्याम्पसमा भर्ना भए र हाल बीबीएसको अन्तिम वर्षमा अध्ययन गरिरहेका छन् । यो गाउँबाट एसएलसी उत्तीर्ण गर्ने यी दुई युवामात्रै हुन् ।
“चेपाङ बालबालिकालाई आवासीय सुविधाको विद्यालयको व्यवस्था गर्नु नै अन्तिम विकल्प हो”, नेपाल चेपाङ संघका शिक्षा विभाग प्रमुख तिलक चेपाङ भन्छन्, “अन्यथा धमिलीजस्ता दर्जनौं चेपाङ गाउँमा अझैपनि शिक्षाको उज्यालो ज्योति लैजान सकिदैन ।” तिलककै भनाइसँग मेलखाने गरी पूर्व सभासद गोविन्दराम चेपाङ भन्छन्, “सरकारले सबै चेपाङ गाउँलाई पायक पर्ने गरी विभिन्न ठाउँमा आवासीय विद्यालय स्थापना गरिदिए मात्रै चेपाङका बालबालिका पनि शिक्षाको ज्योतिबाट वञ्चित हुनुपर्ने थिएन । धमिली त उदाहरण मात्रै हो चितवनका दर्जनौं चेपाङबस्तीहरुमा पाँचकक्षा भन्दाबढी शिक्षा हासिले गरेका विद्यार्थी भेट्न मुिस्कल छ ।