विनोदबाबु रिजाल
चितवन, १० बैशाख ।
देशभर विद्यार्थी भर्ना तथा विद्यालयमा स्वागत अभियान चलिरहेको छ । जतिसुकै प्रचार गरिएपनि अधिकांश सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण कम भएपनि केही विद्यालयले भने शैक्षिक उपलब्धीकै कारण विद्यार्थी र अभिभावकलाई मज्जाले आकर्षण गरेको देखिन्छ ।
चितवनको भरतपुरमा रहेको नारायणी नमूना माविमा पढ्न खोज्ने विद्यार्थी र बाबुनानी पढाउन खोज्ने अभिभावकको ओइरो देख्दा अनौठो लाग्छ । हरेक वर्ष यो विद्यालयमा बाबुनानी भर्ना गराउन खोज्नेको घुइँचो बढ्दै गएको छ ।
अधिकांश सामुदायिक विद्यालयले आवश्यक पर्ने विद्यार्थी संख्या पनि पु¥याउन सकेको छैन । तर, यो विद्यालयले हरेक वर्ष विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिन्छ । यसपालिको लागि यो विद्यालयले सोमबार प्रवेश परीक्षा लियो । जसमा ११ सय ७८ जना विद्यार्थी सहभागी भए । यो संख्या गतवर्ष ७ सय ५८ जना थियो । “विद्यार्थी र अभिभावकको चाप थामिसक्नु भएन”, प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले भने, “यो आकर्षणले अझै चुनौती थपिदिएको छ ।” विद्यार्थीको चापले गर्दा नारायणीले एक दिनअघि नै फारम रोक्नुपरेको थियो ।
यो विद्यालय राष्ट्रियस्तरमै पटक–पटक पुरस्कृत भएको छ । विगत लामो समयदेखि परीक्षाको नतिजा उत्कृष्ट हुनु, अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराउनु, अपाङ्ग तथा दृष्टिविहीनलाई होस्टेलको व्यवस्था गर्नु तथा समय–समयमा अतिरिक्ति क्रियाकलापको आयोजना गर्नुलगायतका कारणले गर्दा नमूना माविमा आफ्ना बालबालिकालाई पढाउन चाहने अभिभावकको संख्या अत्यधिक देखिएको छ । त्यसैगरी अनुशासित र समाजमा नेतृत्व गर्न सक्ने विद्यार्थीको उत्पादनले गर्दा यस विद्यालयमा आफ्नो बालबच्चा पढाउन आउनेको लर्को लागेको छ । “हामीले दिएको नतिजा नै हामीप्रतिको आकर्षणको कारण हो”, प्रधानाध्यापक दवाडीले भने, “अंग्रेजी माध्यममा हामी बलियो भएका छौं र सबैले विश्वास गर्ने वातावरण बनेको छ ।”
चितवनका नाम कहलिएका र महँगो शुल्क लिने परिचित बोर्डिङबाट पनि सोमबारको प्रवेश परीक्षामा सामेल हुन आएका थिए । नारायणी माविकै कारण कयौं बोर्डिङले सोचेजस्तो विद्यार्थी नपाउने अवस्था पनि छ । यसमा पनि ८ र ९ कक्षाका लागि परीक्षा दिनेहरु बढी आउने गरेका छन् । सोमबारको परीक्षामा पनि ८ कक्षाका लागि ४ सय र ९ कक्षाका लागि ३ सय ५० जना सहभागी भए । त्यसमध्ये ८ मा डेढ सय र ९ मा १ सय २० जना विद्यार्थी लिने तयारीमा विद्यालय छ । नर्सरीदेखि ९ सम्मै विद्यार्थी लिइदैछ ।
यसअघि ४ वटा सेक्सन रहेको कक्षा ८ मा यसपालि ५ पु¥याइँदैछ । ९ मा ७ सेक्सन, ६ मा ३ सेक्सन, १० मा ५ सेक्सन पु¥याइँदैछ । त्यसमध्ये धेरैजसो अंग्रेजी माध्यमका विद्यार्थी छन् ।
विद्यालयमा हाल ३४ जनाको शिक्षकको दरबन्दी छ । तर, ७१ जना शिक्षक कर्मचारी छन् । दरबन्दीबाहेक शिक्षक कर्मचारीलाई विद्यालय स्रोतबाटै सेवासुविधा दिनुपरेको छ । त्यसका लागि अंग्रेजी माध्यम पढ्ने विद्यार्थीबाट विद्यालयले सामान्य आर्थिक सहयोेग लिने गरेको छ । जसलाई ‘शैक्षिक सुधार चन्दा’ भनिएको छ । “हामी मेहनत गर्छौं, त्यसमा अभिभावकको सानो सहयोग जरुरी छ”, प्रधानाध्यापक दवाडीले भने, “त्यसैको लागि चौमासिकमा सामान्य सहयोग उठाउँछौं ।”
यो विद्यालयलाई अझैपनि पुरानो पुस्ताले ‘नाइट स्कूल’ भनेर चिन्छन् । सानो झुप्रोमा मैन्टोल बालेर रात्रि कक्षा सञ्चाल हुन्थे । प्रौढ स्कूलका रुपमा २०२० साल जेठ ६ गतेबाट नारायणी रात्रि हाइस्कूल सञ्चालनमा आएको थियो ।
तत्कालीन रात्रि हाइस्कूलका पालमा जिल्ला एसएलसी परीक्षामा सहभागि विद्यार्थी २०२४ सालमा जिल्ला प्रथम भएका थिए । २०५६ सालदेखि यो विद्यालयले जिल्लास्तरीय मूल्यांकनमा अग्रस्थानमा रहँदै आएको थियो । २०६८ सालदेखि निरन्तर यो विद्यालयले राष्ट्रियस्तरमा आफ्नो छवि कायमै राखेको छ ।