विप्लव काफ्ले/कायाकैरन
भरतपुर,९ जेठ ।
स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि तीन तहको निर्वाचन गर्ने तयारी सुरु भएको छ । कानूनले गरेको व्यवस्थाअनुसार कार्यपालिका, न्यायिक समिति र जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन हुनेछन् ।
यी निर्वाचनमा जनताले प्रत्यक्ष मतदानमा सहभागिता जनाउनुपर्ने व्यवस्था छैन । मतदाता पनि ठूलो संख्यामा नहुने भएकाले नतिजा आउन हप्तौं कुर्नुपर्ने अवस्था रहने छैन । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले स्थानीय तह कार्यान्वयन गर्न निर्वाचित प्रतिनिधि मतदानमा सहभागी हुने बताए । उनले मतपरिणाम सार्वजनिक भइसकेका तहमा निर्वाचनका प्रक्रिया सुरु हुने क्रममा रहेको बताए । गाउँसभा वा नगरसभाको निर्वाचनको घोषणा भएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचनको कार्यक्रम तालिका निकाल्नुपर्ने हुन्छ ।
“मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र जिसस गठन भइसक्नुपर्छ”, उनले भने, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति घोषणा गर्नेछ ।” कम्तीमा ६ जना र बढीमा ९ जनासम्मको जिल्ला समन्वय समिति पदाधिकारीका लागि निर्वाचन गरिने उनले बताए ।
कार्यपालिकाको गठन मतपरिणाम सार्वजनिक भएको १५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा स्थानीय तहको निर्वाचनबाट जिल्लामा कूल ५०४ जनप्रतिनिधि चुनिदै छन् । “निर्वाचित जनप्रतिनिधिले कार्यपालिकाका लागि प्रतिनिधि चयन गर्नेछन्”, प्रमुख ढकालले भने, “चितवनमा २० जना जनप्रतिनिधि थप हुनेछन् ।” गाउँ तथा नगर सभाले आफ्नो तहको बजेट, योजना बनाउने, कार्यक्रम स्वीकृत गर्ने, कानून बनाउने जस्ता काम यिनै सभाले गर्छन् ।
“भरतपुर महानगरबाहेकका अन्य तहमा अब कार्यपालिका गठनका लागि प्रक्रिया अघि बढ्दैछ”, उनले भने, “सर्वदलीय बैठक बसेर निर्वाचनको मिति प्रस्ताव गर्नेछन्, उम्मेद्वारको नामसहितको मतपत्र तयार गर्ने, निर्वाचन गराउने काम निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।” कार्यपालिकाले योजना निर्माण, कार्यान्वयनलगायत काम गर्नेछ । गाउँपालिकामा २ र नगरपालिकामा ३ जना दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित प्रतिनिधिले दलहरुले छनौट गरेका उम्मेद्वार मध्येबाट चयन गर्नेछन् ।
सभा चयन भएपछि गाउँ कार्यपालिकामा निर्वाचित प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष र वडा सदस्य रहनेछन् । गाउँ कार्यपालिका सदस्यका ४ महिला र नगर कार्यपालिका सदस्यका लागि ५ जना गाउँ सभा वा नगर सभाले चयन गर्नेछ । कार्यपालिका सदस्य हुन गाउँ सभा र नगरसभाका सदस्य भित्रैबाट उम्मेदवार बन्नुपर्ने प्रावधान छ । गाउँ कार्यपालिकामा गाउँ सभाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, चारजना महिला सदस्य र दुईजना दलित वा अल्पसंख्यक समुदायका सदस्य रहनेछन् ।
गाउँ सभा र नगर सभाले गाउँ सभाका उपाध्यक्ष तथा नगर सभाका उपप्रमुखको अध्यक्षतामा तीन सदस्यीय न्यायिक समिति समेत गठन गर्नुपर्नेछ । न्यायिक समितिको अध्यक्ष सम्बन्धित स्थानीय तहको उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ । गाउँ सभा वा नगर सभाका सदस्यहरूभित्रैबाट थप दुई जनालाई न्यायिक समितिको सदस्यमा निर्वाचित गर्नुपर्ने व्यवस्था छ । कार्यपालिकाको निर्वाचन हाल तोकिएका निर्वाचन अधिकृतले नै गराउनेछन् भने न्यायिक समिति सदस्यको निर्वाचन गाउँसभा र नगरसभा आफैले गर्छन् ।
यी दुई तहको निर्वाचनपछि जिल्ला समन्वय समितिका लागि निर्वाचन हुनेछ । जिल्ला सभामा जिल्लाभित्रका गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । जिल्ला सभाले १ प्रमुख, १ उपप्रमुख, कम्तीमा ३ जना महिला र कम्तीमा १ दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन गर्नेछ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी काममा सन्तुलन राख्ने, संघीय र प्रदेश सरकारी कार्यालयसँग समन्वय गर्ने काम जिससले गर्छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेकाले महानगरमा तीनै तहको निर्वाचन केहि हप्ता प्रभावित हुने देखिएको छ । जिसस गठनमा समेत ढिलाई हुने देखिन्छ । ७ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले जिसस गठन गर्दा मतदान गर्नेछन् । निर्वाचित जनप्रतिनिधि र थपिएका प्रतिनिधि उम्मेद्वार हुन सक्नेछन् । एकजना समन्वय समितिको प्रमुख, उपप्रमुख र अन्य सदस्य निर्वाचित बन्नेछन् । मेयर, उपमेयर र वडा अध्यक्ष उम्मेद्वार बन्न सक्ने व्यवस्था भएपनि उम्मेद्वार बन्न राजीनामा दिनुपर्ने प्रावधान छ ।कसको पल्लाभारि ?
सभा, कार्यपालिका र जिससमा एमालकै पल्लाभारी हुने देखिएको छ । पूर्वी चितवनका ४ नगरपालिकामा एमालेको वर्चश्व जमाएको छ । हालसम्म सार्वजनिक मतपरिणाम हेर्दा एमालेले धेरै ठाउँमा जित हात पारेको छ । भरतपुर महानगरपालिकाको घोषणा भएको मतपरिणामअनुसार २, ९, १०, ११, २८ र २९ मा एमालेले प्यानलसहित जितेको छ । ३ र ६ वडामा प्यानलसहित कांग्रेसले जितेको छ । १ मा एक सदस्य एमालेबाहेक वडाध्यक्षसहित अन्य पदमा कांग्रेसले जितेको छ । ४ मा वडाध्यक्ष एमालेले जितेको छ भने अन्य सदस्य पदमा कांग्रेसले जितेको छ । ५ मा वडाध्यक्ष र २ सदस्य एमालेले जितेको छ भने दुई सदस्यमा कांग्रेसले जितेको छ । ७ मा वडाध्यक्ष एमालेले जितेको छ भने अन्य सदस्य पदमा कांग्रेसले जितेको छ । ८ मा एक सदस्य एमालेले जितेको छ भने अन्य सबै पदमा कांग्रेसले जितेको छ । हालसम्म मतपरिणाम सुनाइएका १३ वडा तहमा माओवादी केन्द्रले कुनै पदमा जितेको छैन ।
इच्छाकामना गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष कांग्रेसले जितेको छ । १, २ र ३ वडामा एमाले प्यानलै विजयी भएको छ भने कांग्रेसले ५ र ७ मा प्यानल जितेको छ । ४ वडामा एक सदस्य माओवादीले जितेको छ भने अन्य पदमा कांग्रेसले जितेको छ । माओवादी केन्द्रले ३ नम्बर वडामा प्यानल जितेको छ । माडी नगरपालिकामा मेयर सहित २, ४ र ५ वडामा प्यानल सहित माओवादी केन्द्रले जितेको छ । उपमेयर सहित ६, ७ र ८ मा एमालेले प्यानल सहित जितेको छ । १ नम्बर वडामा वडाध्यक्ष सहित तीन पदमा कांग्रेस र अन्य दुई पदमा राप्रपा र माओवादी केन्द्रले जितेको छ । ९ नम्बर वडामा एक सदस्यबाहेक सबै पदमा एमालेले जितेको छ ।
स्थानीय तह कार्यपालिका र जिसस चुनावको चर्चा
स्थानीय तह कार्यपालिका र जिसस चुनावको चर्चा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस