५ वैशाख ।
निरोगीताको प्रतिकात्मक खाद्यान्न जौको सातु, खुदो, सर्वत, मह खाएर र दान गरेर आज अक्षय तृतीया पर्व मनाईदैछ । हिमालय पर्वतमा विराजमान हिन्दुहरुका आराध्यदेव महेश्वर पशुपतीनाथको माता उमासंग बिहे भएको दिनको धार्मिक विश्वास अनुसार आजको दिनलाई अक्षय तृतिया पर्वको रुपमा मनाउने गरिन्छ ।
आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाको जुत्तादान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ ।
वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ’बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ । चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासले समेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।