धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,९ जेठ ।
पूर्वी चितवनका चारैवटा नगरपालिकामा नेकपा एमालेले कब्जा जमाएको छ । सबै नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेकै नेतृत्व पाएको छ । पूर्वी चितवनमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका छन् ।
रत्ननगर र राप्ती नगरपालिकामा एमालेलेले धेरै वडा जितेको छ भने खैरहनी र कालिका नगरपालिकामा कांग्रेसको भन्दा एउटा मात्रै बढी वडा जितेको छ । पूर्वका चार नगरपालिकामा नेकपा माओवादीले भने कुनैपनि पदमा जित हात पार्न सकेन । स्थानीय तह निर्वाचनको पछिल्लोपटक सार्वजनिक मतगणनाको अन्तिम नजितामा सोमबार खैरहनी नगरपालिकाको प्रमुख(मेयर) पदमा नेकपा एमालेका लालमणि चौधरी तथा उपप्रमुख (उपमेयर) मा सुनिता थपलिया निर्वाचित भएका छन् । मेयरमा निर्वाचित चौधरी चितवन क्षेत्र नम्बर १ बाट २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन निर्वाचित हुँदै सांसद् भएका थिए । उपमेयरमा निर्वाचित थपलिया लामो समयदेखी महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी छन् ।
सोमबार सार्वजनिक अन्तिम मत परिणाममा चौधरी कांग्रेसका मेयरका प्रत्यासीभन्दा ९ सय ८४ को मतान्तरले विजयी भए । निर्वाचित चौधरीले कूल खसेको मतमध्ये १० हजार ७ सय १७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद चौधरीले ९ हजार ७ सय ३३ मत पाए । उपमेयरमा निर्वाचित थपलियाले १० हजार ४ सय ५१ मत प्राप्त गरिन् । उपमेयरकै प्रत्यासी कांग्रेसकी सुशीला उप्रेतीले ९ हजार ८ सय ८८ मत पाइन् । नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी एकराज डल्लाकोटीले ३ हजार १ सय ४७ र उपमेयरकी प्रत्यासी रेवती उप्रेतीले २ हजार ९ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खैरहनी नगरपालिकाको मेयरमा निर्वाचित भएका पूर्वसांसद्समेत रहेका लालमणि चौधरीले निर्वाचन प्रसारप्रसारका क्रममा सार्वजनिक गरिएको घोषणापत्रका आधारमा काम गर्ने बताए । खैरहनी नगरपालिका मुख्यतः कृषि र पर्यटनको सम्भावना बोकेको नगर हो । नगरलाई सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय प्रदान गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए । त्यस्तै भ्रष्टाचार नियन्त्रण, सेवामैत्री नगर, शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार निर्माण सबैको सहभागितामा गर्ने मेयर चौधरीको भनाइ छ ।
खैरहनी नगरपालिकाका ७ वटा वडा एमाले र ६ वटा वडाध्यक्ष कांग्रेसले जितेको छ । खैरहनी १ मा भूमिप्रसाद कँडेल (एमाले) २ मा टीकादत्त इटनी(कांग्रेस), ३ मा पूर्णबहादुर गुरुङ(कांग्रेस), ४ मा नरेन्द्र अधिकारी (कांग्रेस), ५ मा विश्वविजय बस्नेत(कांग्रेस), ६ मा रामशरण पाण्डे(एमाले) निर्वाचित भए । त्यस्तै वडा नम्बर ७ मा मनेजर चौधरी (एमाले), ८ मा टेकबहादुर थापा(एमाले), ९ मा होमबहादुर पुन(एमाले), १० मा कारीराम चौधरी(एमाले), ११ मा हाकिम उप्रेती(एमाले), १२ टिकाराम भट्टराई (कांग्रेस) र १३ मा बालकुमार उप्रेती (कांग्रेस) वडाध्यक्षमा निर्वाचित भए ।
यस्तै आइतबार सम्पन्न मतगणनाबाट रत्ननगर नगर प्रमुख (मेयर) मा नारायण वन निर्वाचित भएका छन् । उनी २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पनि निर्वाचित भएका थिए । लोकप्रिय नेताका रुपमा चिनिने नवनिर्वाचित मेयर नारायण वनले पहिलो पटक निर्वाचित भएका बेला अपूरा रहेका काम यो कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।
“रत्ननगरमा सिटी हल, रंगशाला, बसपार्क पशु बधशालालगायतका काम अपूरै थियो”, वनले भने, “ती सबै काम अबको पाँच वर्षे कार्यकालमा पूरा गर्न प्रयास गर्नेछु ।” त्यस्तै तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई दोस्रो बनाउने, साविक रत्ननगरलाई व्यवसायिक क्षेत्र बनाउने र पिठुवालाई आवास र कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । निर्वाचनमा एमालेका तर्फबाट मेयरमा निर्वाचित वनले १४ हजार ६ सय ७७ मत प्राप्त गर्दै विजयी भए ।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सय २७ मत पाए । उपमेयरमा निर्वाचित एमालेकी विमला दुवाडीले १४ हजार ६ सय ७७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नीता ढकालले १२ हजार ७ सय ३ मत पाइन् । यसअघि राप्ती नगरपालिकाको मेयरमा एमालेकी प्रभा बराल मेयर र इमानसिंह लामा उपमेयर तथा कालिका नगरपालिकाको मेयरमा खुमनारायण श्रेष्ठ र कल्पना भट्टराई उपमेयरमा निर्वाचित भएका थिए । राप्तीमा २ वटा वडाबाहेक अरु सबै एमालेले जितेको थियो भने कालिकामा ६ वटामा वडाध्यक्षमा विजयी भएका थिए ।