विप्लव काफ्ले
भरतपुर, २ गते वैशाख ।
१२ वर्ष विदेश बसेर फर्केका पटिहानीका सूर्यप्रसाद देवकोटा जागिरको सिलसिलामा निकै भौँतारिए । ४ वर्षदेखि स्वदेशमै बस्दै आएका सूर्यप्रसाद विदेशमा ‘हेल्पर‘मा काम गर्थे । काम बढी तर कमाइ थोरै भएपछि नेपालमै केही गरौँ भनेर फर्किएका थिए । रोजगारीका अवसर नभेटेपछि निराश बनेका उनी आजभोलि स्वरोजगार बन्न एसी फ्रीज बनाउने तालिम लिदै छन् ।
सिटिईभिटिले विश्व बैंकको आर्थिक सहयोगमा इभेन्ट परियोजनामार्फत चितवनमा पनि सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको छ । “इलेक्ट्रिक, प्लम्बिङ पहिल्यैदेखिको रुचि हो”, उनले भने, “सीप सिक्न पाएको छु, स्वदेशमै आत्मनिर्भर बन्छु भन्ने आशा पलाएको छ ।” उनी विदेशमा दैनिक ९ घण्टासम्म काम गर्थे । अधिकांश समय अतिरिक्त काम गरेर घर रकम पठाउँथे । “विस्तारै विकास हुँदै छ, मानिस सुविधामा बस्न रुचाउँछन्”, उनले भने, “अफिसियल मात्र होइन घरघरमा एसी जडान हुँदैछन्, फ्रीज राख्ने पनि बढेका छन् । राम्रो सीप भए मर्मत गरेरै आयआर्जनको बाटो पनि बन्छ ।”
शिक्षा संकायमा स्नातक गरेकी गैंडाकोटकी प्रतीक्षा पौडेल बोर्डिङ तथा स्कूलमा पढाउने जागिर खोज्दै धाइन् । हातमा सर्टिफिकेट भएपनि जागिर पाउनै मुस्किल प¥यो । “अहिले मोबाइल मर्मत तालिम लिदै छु”, उनले भनिन्, “सानो मोबाइल पसल सञ्चालन गर्ने लक्ष्य छ । हेरौँ के हुन्छ ।” उनले अहिले मोबाइल चार्जिङ, हेडसेट कनेक्सन, डिस्प्ले मर्मत गर्न सिक्दै छिन् । उनले घरपरिवारले सीपमूलक तालिम लिन प्रेरित गरेको बताइन् । पूर्वी चितवनकी रोजिना लोहनी पाण्डे व्युटिसियन बन्ने सपना बोकेर तालिम लिदै छिन् । “बाबुनानीलाई राम्रो शिक्षा दिने उपाय खोज्दै थिएँ”, उनले भनिन्, “सीप जानेपछि सानोतिनो काम पाइन्छ भन्ने लागेको छ ।” उनका श्रीमान्ले केही महिना पहिले जेसीभी अपरेटरसम्बन्धी निःशुल्क तालिम लिएका थिए । भरतपुर बसेनीका बिक्की शर्मा चापागाईंले विदेश जाने सपनाले पासपोर्ट बनाए । तर, घरायसी व्यवहारले उनी विदेश जान पाएनन् । उनको पासपोर्टको म्याद पनि सकियो । उनी हाल मोबाइल मर्मतको तालिम लिदै छन् । “विदेशमा गर्ने मिहेनत यही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ”, उनले भने, “आँफै स्वरोजगार बन्न तालिम लिएको छु । विदेश जाने सपना हटेको छ ।”
गैंडाकोटकी भाग्य श्रीले पनि व्युटिसियन तालिम लिदै आएकी छिन् । राम्रो पढाइ नभएपछि राम्रो जागिर नपाएको उनको अनुभव छ । “आफूमा सीप भएपछि आयआर्जन गर्न पनि सजिलो हुन्छ”, उनले भनिन्, “सौन्दर्यता धेरैको रोजाइमा पर्छ । पार्लरको माग देखेरैनै तालिम लिएको छु ।” क्रियटिभ स्कील्स प्रा.लि. चितवन सहित प्रदेश २ र ३ नम्बरभित्रका विभिन्न जिल्लामा सिटिईभिटीका तालिम सञ्चालन गर्न स्वीकृत पाएको छ । क्रियटिभ स्कील्सको चितवन तालिम संयोजक वर्षा घिमिरेले हाल चैत १० गतेदेखि तह एकको तालिम सञ्चालन भइरहेको जानकारी दिइन् । उनका अनुसार एसी फ्रीज मेकानिक, मोबाइल रिपेरिङ, असिष्टेण्ट व्युटिसियन तालिममा २०÷२० जनाले निःशुल्क तालिम लिइरहेका छन् । तालिम असार १० मा सकिने छ । दैनिक ५ घण्टाका दरले ७८ दिनसम्म तालिम सञ्चालन हुनेछन् । १६ देखि ४० वर्ष उमेर समूहका बेरोजगार, विदेशबाट फर्केका बेरोजगारले तालिम लिइरहेको उनले बताइन् ।
“निःशुल्क तालिम हो । दैनिक ७५ रुपैयाँ बराबरको खाजा समेत दिने गरेका छौँ”, उनले भनिन्, “तालिम सकिएपछि राष्ट्रिय सीप परीक्षण समितिले परीक्षासमेत लिनेछ, प्रमाणपत्र पनि दिनेछ ।” तालिम लिइसकेको ६ महिनासम्म प्रशिक्षार्थीको रोजगारी र आयको अवस्थाबारे जानकारी लिने र स्वरोजगार बन्न उत्प्रेरित गरिने बताइन् । मोबाइल तालिम दिदै आएका प्रशिक्षक अरुण शाक्यले सीप सिकेका जनशक्तिको बजारमा निकै बढी माग रहेको बताउँछन् । “निःशुल्क तालिम लिन आउने धेरै छन्, युवाको आर्कषण बढ्दो छ”, उनले भने, “विगतमा तालिम लिएका धेरै स्वरोजगारतर्फ उन्मुख भएका छन्, माथिल्लो तहका तालिमको माग गर्दै आउने पनि छन् ।” तालिममा ८० प्रतिशत व्यवाहारीक ज्ञान र २० प्रतिशत मात्रै सैद्धान्तिक कक्षा लिने गरिएको बताए । चितवनमा सिटिईभिटीमार्फत अन्य विभिन्न संस्थाले समेत निःशुल्क तालिम सञ्चालन गर्दै आइरहेका छन् ।