विप्लव काफ्ले/कायाकैरन
सुन्दरवस्ती,३० चैत ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सामुदायिक विद्यालय सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नेतर्फ लागेको बताएका छन् । भरतपुर–२४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीको स्वर्ण महोत्सव उद्घाटन गरेपछिको सम्बोधनमा उनले सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनकै लागि निजी विद्यालयलाई नियन्त्रण गर्ने बताए ।
“अब आउने दिनमा निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतर्फ लागिनेछ”, उनले भने, “सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर विकासमा जोड लगाइनेछ ।” उनले अत्यधिक बहुमतको बलियो सरकार बनेकाले शिक्षामा आमूल परिर्वतन ल्याउन सहज हुने धारणा राखे । “सामुदायिक विद्यालयको स्थिति नाजुक बन्दै गएको छ, निजी विद्यालय फस्टाउँदै गएका छन्”, उनले भने, “शिक्षकशिक्षिकाले छोराछोरी आफूले पढाउने विद्यालयमा नपठाइ बोर्डिङमा पढाउने संस्कृति बढ्दै गएको छ । यो दुर्भाग्यपूर्ण हो ।” उनले शिक्षा नीतिमा सुधार गर्न कम्युनिष्ट नेतृत्वको सरकार प्रतिबद्ध रहेको दावी गरे ।
“बेरोजगार उत्पादन गर्ने, साधरण शिक्षा पढ्ने, सैद्धान्तिक कुरा गर्ने अवस्था छ”, उनले भने, “व्यवहारिक काम नजान्ने, व्यावसायिक तथा प्राविधिक कुरा नजान्ने अवस्थाको छ । यो स्थिति परिवर्तन गर्ने संकल्प गरेका छौँ ।” उनले ७० प्रतिशत प्राविधिक तथा व्यावसायिक शिक्षा र ३० प्रतिशत साधरण शिक्षा हुने गरी नयाँ शिक्षा नीति बनाउन पहल भइरहेको बताए ।
आफै रोजगारी सृजना गर्दै देशप्रति समर्पित हुने जनशक्ति निर्माण गर्ने गरी शिक्षा नीति बनाइने उनले बताए । उनले सरकारको वैधानिक प्रक्रियाबाट त्यो नीति कार्यान्वयनमा ल्याइने बताए । शिक्षा र स्वास्थ्यमामा जनपक्षीय नीति नलिएसम्म अन्य विकासले गति नपाउने बताए । “वैज्ञानिक र व्यावसायिक, प्राविधिक शिक्षा दिन लाग्नेछौँ”, उनले भने, “देशभित्रै रोजगारी र विकास गरेर नेपाललाई नयाँ युगतफ लानेछौँ ।”
सुकुमबासीलाई छिट्टै लालपुर्जा
भरतपुर–१४ मा सुकुमबासीको घनाबस्ती छ । पुस्तौँदेखि भोगचलन गर्दै आएपनि जग्गा पूर्जा नहुँदा सुकुमबासी समुदाय निराश बन्ने गरेका छन् । चुनावी दौरानमा लालपुर्जा दिने थुप्रै आश्वासन बाँडिने गर्छ । “निर्वाचनको सन्दर्भमा भनेको थिएँ, वामपन्थीको क्याविनेट बनेपछि पहिलो एजेण्डाका रुपमा सुकुमबासी समस्या समाधान गर्ने विषय राख्ने भनेर सोही अनुसार अघि बढिएको छ”, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, “पुर्जा वितरणको प्रक्रिया अगाडि जान्छ, लालपुर्जा पहिले भने अनुसारनै दिइनेछ ।” प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी बनेका थिए । उनले सुरुमा घर दर्ता र दोस्रोे चरणमा लालपूर्जा वितरण गर्ने गरी सरकारले काम अघि बढाएको जानकारी दिए । वडा नम्बर १४ प्रचण्डको आफ्नै वडा हो ।
पूरै कक्षा अंग्रेजी माध्यममा गर्ने तयारी
भरतपुर–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरवस्ती (१–८) ले आगामी शैक्षिक सत्रदेखि सबै कक्षा अंग्रेजी माध्यमबाट पढाउने तयारी गरेको छ । २०७२ सालदेखि नर्सरीदेखि ५ सम्म अंग्रेजी माध्यममा शिक्षण गर्न थालेको सो विद्यालयले गत शैक्षिक सत्रदेखि ६ कक्षा र यो शैक्षिक सत्रदेखि कक्षा ७ सम्मै अंग्रेजी माध्यममा पढाउन सुरु गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक भोजराज पौडेलले विद्यालयलाई नमूना विद्यालय बनाउन लागिपरेको बताए । “झण्डै ९० प्रतिशत विद्यार्थीका अभिभावक भूमिहीन सुकुमबासी छन्”, उनले भने, “विद्यालयको भौतिक अवस्था पनि राम्रो छैन, तर सुधारको पक्षमा लागिपरेका छौँ ।” विद्यालयमा हाल २ सय २० जना विद्यार्थी अध्ययनरत छन् । यही क्षेत्रका झण्डै दोब्बर बढी विद्यार्थी नजिकका निजी विद्यालय जाने गरेका छन् । स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले केही रकम बचत गरेको छ । आर्थिक समितिका संयोजक खेम भट्टले झण्डै १९ लाख १६ हजार रुपैयाँ बचत हुन पुगेको बताए । “यो रकम अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न प्रयोग हुनेछ”, उनले भने, “सामुदायिक विद्यालयमै अंग्रेजी माध्यममा पढाइ भएपछि विद्यार्थी आकर्षण पनि बढ्ने अपेक्षा छ ।”
५ कक्षा माथिको दरबन्दी नहुँदा विद्यालयले ७ जना निजी शिक्षक राखेर पढाउँदै आएको छ । २०२४ सालमा आँपको बगैंचाबाट सञ्चालनमा आएको विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर स्वर्णद्वार, सरस्वती मन्दिर, स्वर्ण स्तम्भ, स्वर्ण मञ्च विभिन्न दाताको सहयोगमा बनाएको छ । यस्तै विद्यालयमा हाल ६ वटा भवनमा १७ कोठा छन् । विद्यालयको झण्डै २ विघा जग्गा ऐलानी छ । ऐलानी जग्गालाई विद्यालयको नाममा पुर्जा मिलाउन सहयोग गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिबद्धतासमेत गरेका छन् ।