ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर, ३० चैत । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाका रुवेन चेपाङ कक्षा एकमा उत्तीर्ण मात्रै भए । पहाडी क्षेत्र, घको गरीबी त्यसमाथि निकै विकट ठाउँ भएकाले चामलको भात खान दशैं नै कुर्नुपर्ने बाध्यता थियो । गिठ्ठा भ्याकुरको भरमा उनी आधा घण्टाको बाटो हिडेर विद्यालय जान्थे ।
चेपाङ अभियन्ता केपीकिरण शर्मा घुम्दै जाँदा रुवेनका बाबुुसँग भेट भयो । चेपाङ बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराएको थाहा पाएपछि रुवेनलाई पनि शर्माको जिम्मा लगाए । गाउँमा कक्षा एक पढेका रुवेनलाई चेपाङ संरक्षण केन्द्रमा ल्याएर पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना गरियो । गाउँको भन्दा केही पढाइमा निखारता आएपनि कक्षा २ बाट रुवेन उत्तीर्ण मात्रै भए । ३ कक्षामा पुगेपछि उनको पढाइ निखारिदै गयो । उनको निखारपना कक्षा ६ सम्म घटेको छैन । कक्षा ३ मा पहिलो, ४ मा दोस्रोे र ५ मा उनी पहिलो नै भए । हालै सम्पन्न भएको कक्षा ६ को परीक्षामा पनि उनी पहिलो नै भए ।
वैरिया माविमा अध्ययनरत रुवेन आफ्नो कक्षाका २७ जनालाई पछि पार्दै पहिलो हुन सफल भए । पहाडमा खान लाउन समस्या रहने चेपाङ समुदायका रुवेन अहिले यहाँ दुई छाक खान र राम्रो लुगा लगाउन पाउँदा खुसी छन् । सँगै पढाइमा अव्वल बन्दै जाँदा झनै खुसी छन् । “गाउँमा छँदा गिठ्ठा भ्याकुरको भरमा विद्यालय जानु पथ्र्यो, कहिले त खानै पाइन्थेन”, रुवेनले भने, “यहाँ खान लगाउन पाएको छु, पढाइमा राम्रै छ, आफ्नो नजिता प्रति खुसी छु ।”
रुवेनको कक्षामा उनी पहिलो हुँदा आफूसँगै रहेका राजेन्द्र चेपाङ दोस्रोे र शिवराम चेपाङले तेस्रो स्थान हासिल गरेका छन् । सो विद्यालयमा हुनेखाने, टाठाबाठाका पनि छोराछोरी पढ्छन् । बाहुन, क्षेत्री, चौधरीका पनि छोराछोरी अध्ययन गर्छन् । तर, उनीहरु सबैलाई पछारेर रुवेनले पहिलो स्थान हात पारे । उनलाई राजेन्द्र र शिवरामले पछ्याए ।
यस्तै रत्ननगर–११ स्थित पञ्चतेज ज्योति आधारभूत विद्यालयमा कक्षा ४ बाट निशान्त चेपाङ पहिलो भएका छन् । चेपाङ संरक्षण केन्द्रमा आएर अध्ययन सुरुआत गरेका निशान्त सुरुकै वर्ष पहिलो भए । भरतपुर महानगरपालिका–२९, कविलास घर भएका निशान्त कक्षा २ मा दोस्रोे र कक्षा ३ मा पुनः पहिलो भए । अहिले कक्षा ४ बाट ५ मा जाँदा पनि उनी पहिलो नै भए । घरको समस्याका कारण निशान्तलाई पनि उनका बाबुले चेपाङ संरक्षण केन्द्रमा ल्याएका थिए ।
रुवेन र निशान्त मात्रै होइन, पञ्चतेज ज्योति विद्यालयमा कक्षा १ देखि ५ सम्म सबै चेपाङ विद्यार्थी पहिलो, दोस्रो र तेस्रो भएका छन् । यस्तै वैरियमा माविमा कक्षा ६ र ७ मा पहिलो, दोस्रो र तेस्रो स्थानमै चेपाङ विद्यार्थी नै परे । कक्षा ८ मा भने चेपाङका विद्यार्थी पहिलो मात्रै भए । आर्थिक अभावका कारण बिहान बेलुका छाक टार्न समस्या पर्दै आएको चेपाङ संरक्षण केन्द्रमा रहेका विद्यार्थीको शैक्षिक अवस्थाप्रति सञ्चालक केपीकिरण शर्मा निकै खुसी व्यक्त गर्छन् । “आर्थिक अभावबाट गुज्रिरहेका छौं, मागेरै बिहान बेलुकाको छाक टार्नुपर्छ, कहिलेकाँही दाताहरुले सहयोग गर्छन्”, केन्द्रका अध्यक्ष शर्मा भन्छन्, “अभावका बीचमा पनि चेपाङ विद्यार्थीको शैक्षिक गुणस्तरप्रति खुसी छु ।”
केन्द्रमा चितवन, मकवानपुर र धादिङका १ सय ५ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । हालै प्रकासित भएको नतिजाअनुसार उनीहरु सबै उत्तीर्ण भएका छन् । जसमध्ये पञ्चतेज ज्योति आधारभूत विद्यालयको कक्षा १ मा महेश चेपाङ पहिलो, शैलेन्द्र चेपाङ दोस्रोे र प्रदीप चेपाङ तेस्रो भए । कक्षा २ मा रमिता चेपाङ, राजकुमारी चेपाङ र प्रचण्ड चेपाङ क्रमशः पहिलो, दोस्रोे र तेस्रो भए । कक्षा ३ मा योजकुमार चेपाङ पहिलो, किरण चेपाङ दोस्रो र वसन्ती चेपाङ तेस्रो भईन् । कक्षा ४ मा निशान्त चेपाङ पहिलो, सुवर्ण चेपाङ दोस्रो र विपिन चेपाङ तेस्रो भए । कक्षा ५ मा मातृका चेपाङ, असिम चेपाङ र सृजना चेपाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका संरक्षण केन्द्रमा अध्यक्ष शर्माले बताए ।
वैरिया माविको कक्षा ६ मा रुविन चेपाङ पहिलो, राजेन्द्र चेपाङ दोस्रो र शिवराम चेपाङ तेस्रो भए । कक्षा ६ मा २८ जना विद्यार्थी थिए । कक्षा ७ मा सिम्रन चेपाङ पहिलो, जीतवहादुर चेपाङ दोस्रो र सुनिल चेपाङ तेस्रो भए । सो कक्षामा ६४ जना विद्यार्थी अध्ययनरत थिए । कक्षा ८ मा भने ईश्वर चेपाङ पहिलो भए । दोस्रो र तेस्रो अरु नै भए । वैरिया माविका प्राचार्य युवराज शर्मा सीमान्तकृत समुदायका चेपाङ विद्यार्थीले पढाइमा प्राप्त गरेको नजिताप्रति खुसी छन् । “चेपाङ भन्नेबित्तिकै हाम्रो हेर्ने दृष्टिकोण फरक छ”, प्राचार्य शर्माले भने, “वातावरण राम्रो भए नजिता पनि राम्रै आउँछ भन्ने उदाहरणको पात्र उनीहरु बनेका छन्, उनीहरुको लगनशीलता र नजिताप्रति खुसी छु ।”
स्टाफ नर्सदेखि ईञ्जिनियरसम्म
चेपाङ संरक्षण केन्द्रको संरक्षणमा आएका चेपाङ विद्यार्थीमध्ये एकजनाले स्टाफ नर्सको प्रवीणता प्रमाणपत्र तह सकिसकेकी छन् । इच्छाकामना गाउँपालिका हात्तीबाङकी सर्मिला चेपाङले पूर्ण छात्रवृत्तिमा नाम निकालेर स्टाफ नर्सको तीन वर्षे कोर्स सकेकी छन् । इच्छाकामना–२, गाईथलीका होमराज चेपाङ भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटमा सिभिल ईञ्जिनियरिङ पढ्दै छन् । “शक्तिखोरबाट चेपाङ होस्टलमा बसेर एसएलसी सकेपछि बाँकी पढ्ने अवस्था नभएपछि घर फर्किएछ”, संरक्षण केन्द्रका अध्यक्ष शर्माले भने, “मैले फेला पारेर केन्द्रमा ल्याएँ र थप पढाएँ ।” होमराजलाई पञ्चकन्या माविमा विज्ञान विषय पढाइयो । उत्कृष्ट भए । त्यसपछि एमबीबीएस पढाउने इच्छा थियो, सम्भव भएन । “तर, सिभिल ईञ्जिनियरिङमा नाम निस्कियो”, शर्माले भने, “दोस्रो सेमेष्टर पढ्दै छन्, पूरा गर्न ११ लाख लाग्छ, जसोतसो तानतुन पारिएको छ ।” होमराजको पढाइ सक्ने बलियो आधार छैन । उनी सहयोगको खोजीमै छन् । त्यस्तै केन्द्रकै संरक्षणमा रहेका रेशम चेपाङ पनि भेटेरिनरी पढ्दैछन् ।
निरक्षर निर्मूल पार्ने अभियान
केपीकिरणको एकसूत्रीय अभियान चेपाङ बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित नगर्ने हो । अरबको खाँडीमा परिश्रम गरेर फर्किएका उनी यही सपना बोकेरै रातोदिन चेपाङका लागि कुदिरहेका छन् । उनी धेरैजसो समय गाउँ डुलिरहन्छन् । स्कूल नगएका चेपाङ बालबालिका भए केन्द्रमा ल्याइहाल्छन् । तिनलाई विद्यालय पठाउँछन् । नतिजा पनि राम्रो आएपछि त उनी झनै हौसिएका छन् ।
कसैले सकेनन् चेपाङलाई , चेपाङ केन्द्रका विद्यार्थीको अब्बल नतिजा
कसैले सकेनन् चेपाङलाई , चेपाङ केन्द्रका विद्यार्थीको अब्बल नतिजा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस