धुर्वराज खनाल
रत्ननगर, २९ चैत ।
झट्ट हेर्दा दिदी बहिनी झै देखिन्छन् । उमेरमा धेरै फरक भएपनि उस्तै देखिन्छन् । घरमा यी आमाछोरी मात्र छन् । खानका लागि घरमा अन्नपात छैन । कसैले दिए खान्छन्, नत्र भोकै बस्नुपर्ने उनीहरुको बाध्यता छ ।
कपडा पनि अरुले दिएकै लगाउँछन् । यस्तै समस्यासँग जुध्दै छन् खैरहनी नगरपालिका–२, लदरीस्थित नमूना बस्तीकी ९९ वर्षीया विष्णुमाया दाहाल र उनकी ६७ वर्षीया छोरी धनकुमारी । उमेर ज्यादा हुँदा विष्णुमायाका हातपाखुरा चल्न छोडेका छन् । एउटा आँखाले सामान्य देख्न सक्ने उनका अर्को आँखा ठप्पै छ । छोरी धनकुमारी शारीरिकरुपमा तन्दुरुस्त छैनन् । रोगका कारण उनी कुप्रो परेर हिड्छिन् । मानसिक अवस्था राम्रो नहुँदा धनकुमारी औषधिको साहारामा छिन् । तर, उनी सामान्य मान्छे जस्तै बोल्ने भने गर्छिन् ।
हातपाखुरा चलेसम्म आमा विष्णुमायाले मेलापात, मजदुरी गरेर आफू र छोरीलाई पालिन् । तर, हातपाखुरा चल्न छाडेको करिब २ वर्षजति भयो । सँगै रहेकी कान्छी छोरी एक वर्षको हुँदैमा श्रीमान् र छोरा गुमाएकी विष्णुमायालाई हकवालाले निकालेपछि भाइको सहारामा ३० वर्षअघि चितवन आइन् । केही वर्ष सहारा दिएपनि पछि भाइले पनि छोडिदिए । भाइका छोरा (भदा) ले उनलाई आफैसँग राख्छु भनी लगे । त्यसपछि विष्णुमाया र धनकुमारी मात्रै रहे । माइती बाढीमा परेपछि उनीहरु बाढीपीडितका नाममा सरकारले लदरीमा घर बनाएर राख्यो ।
अहिलेसम्म उनीहरु त्यही बाढीपीडित रहेको बस्तीमै छन् । उमेर ढल्किदै जाँदा उनीहरुमा खान, लगाउनको समस्या पर्दै गएको छ । बिरामी हुँदा छरछिमेकले अस्पतालसम्म पु¥याउँछन् । कान्छी छोरी एक वर्ष छँदा श्रीमान्ले संसार छाडे, छोरा जन्मेको १२ दिनमै बित्यो, बज्रपात सहेरै बसेको छु”, विष्णुमाया दुखेसो पोख्दै भन्छिन्, “दोलखामा रहेको सम्पतीका लागि हकवालाले निकालिदिए, अहिले कष्टकर जीवन झेल्दै छु ।”
अरुले दिए खाने नभए भोकै बस्नुपरेको व्यथा उनले सुनाइन् । “छरछिमेकीले दिएको एक दुई माना चामल र मकै खाएरै बसेका छौं”, उनले भनिन्, “उनीहरुले सधैं दिन सक्दैनन्, केही नहुँदा भोकै बस्नुपर्छ ।” सरकारले उपलब्ध गराउने वृद्धभत्ता पनि उनका लागि बुढेसकालको सहारा बनेको छ । तर, त्यतिले पर्याप्त हुँदैन । खैरहनी रहेका भदा सोमनाथ तिमल्सिनाले कहिलेकाहीं चामल ल्याउने गरेका छन् । बिरामी पर्दा छिमेकीले अस्पताल ल्याएर खबर गर्दा उनले औषधोपचार खर्च पनि व्यहोर्ने गरेको उनको भनाइ छ ।
“कहिलेकाहीं चामल लिएर खैरहनीमा भएको भदा आउँछ, बिरामी पर्दा अस्पताल पुगेको खबर दिए उपचार गरिदिन्छ”, विष्णुमायाले भनिन् । दाहाल आमा छोरीको अवस्थाबारे स्थानीय स्वयंसेविका चन्द्रमाया श्रेष्ठले जानकारी गराएपछि समाजसेवी मुरलीप्रसाद गजुरेलले बुधबार तत्कालका लागि एकबोरा चामल सहयोग गरेका छन् । गरीब, जेहेन्दार विद्यार्थीका लागि एक्लो प्रयासमा अक्षयकोष सञ्चालन गरिरहेका गजुरेल दीनदुःखीको सेवामा तल्लिन छन् । उनकै पहलमा धेरैले सहयोग पाइसकेका छन् ।