भरतपुर, २९ चैत ।
विगत दुई वर्षदेखि सरसफाइ अभियानमा सक्रिय ‘वी आर युथ’ अर्थात ‘वे ग्रुप’ले निर्माण गरेको सरसफाइसम्बन्धी भिडियो सार्वजनिक गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपमेयर पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव शर्मा आचार्यलगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भरतपुर महानगरकी मेयर दाहालले म्युजिक भिडियो प्ले गरेर सार्वजनिक भएको घोषणा गरेकी हुन् ।
गायक सशान कँडेलको निर्देशनमा तयार भएको उक्त भिडियोमा वे ग्रुपका अभियान्ताहरूको साथमा भरतपुर महानगरका मेयर रेनु दाहाल, जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्य, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलगायतले अभिनय गरेका छन् । दीपक गौतमको शब्दमा युवराज कँडेल र सशान कँडेलले आवाज दिएका छन् भने युवराज कँडेलको संगीत र विनय केटुले म्युजिक एरेञ्ज गरेका छन् ।
भिडियोलाई उमा प्रसाइँले खिचेका छन् भने रमेश बस्यालले सम्पादन गरेका हुन् । वातावरण सरसफाइसम्बन्धी सामाजिक विषयवस्तुमा तयार भएको गीतको भिडियो राम्रो बनेको महानगरका मेयर दाहालले बताइन् । समाजमा सरसफाइबारे सचेतना जगाउनको लागि भिडियो तयार पारेको वे ग्रुपले जनाएको छ ।