भरतपुर, २९ चैत ।
भरतपुर महानगरपालिकाले ४५ जना प्राविधिक जनशक्ति थप गर्न लागेको छ । दैनिक ज्यालादारीमा कर्मचारी राख्न लागिएको हो । ६ सय ३१ जना परीक्षामा सहभागि भएकामध्ये लिखित परीक्षाबाट ८३ जना छनौटमा परेका छन् ।
यही माघ ७ गते प्रकाशित सूचनाका आधारमा फागुन २० देखि २५ गतेसम्म सीप परीक्षण परीक्षा सञ्चालन गरिएको थियो । अन्तरवार्ताका माध्यमबाट उनीहरुमध्येबाट योग्य व्यक्ति छनौट गर्न लागिएको हो । “प्राविधिक जनशक्तिको निकै माग थियो”, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले कायाकैरनलाई भने, “माग विश्लेषण गरेरै सूचना निकालेका थियौँ, अन्तरवार्तालगत्तै कर्मचारी नियुक्त हुनेछन् र काम गर्नेछन् ।” उनका अनुसार सहायक स्तरको ५ औं तह र अधिकृतस्तरको छैटौँ तहमा नयाँ कर्मचारीले काम गर्ने बताए ।
“अनलाइन घटना दर्ता, वेबसाइट अपडेट, इमेल÷इन्टरनेट चलाउन सक्ने सक्षम जनशक्तिको अभाव थियो”, उनले भने, “सबै वडामा सक्षम जनशक्ति पुग्ने गरी कर्मचारी राख्दैछौँ ।” महानगरले सबैभन्दा बढी जनशक्ति कम्युटर अपरेटर राख्ने तयारी गरेको छ । कम्प्युटर अपरेटरका रुपमा ३१ जनालाई नियुक्त गर्न लागिएको छ । ४ सय ४९ जनाले आवेदन दिएकामध्ये ५४ जनाको नाम छनौटमा परेको छ । कम्युटर अपरेटरका लागि वैशाख ४ गते बिहान ८ बजेदेखि अन्तरवार्ता छ । नक्सा शाखा तथा योजना शाखामा जनशक्ति कम हुँदा काम गर्न निकै कठिनाइ परेकाले नयाँ जनशक्ति थप गर्न लागिएको बताए ।
यस्तै ३ जना सिभिल इञ्जिनियरको माग भएकोमा ८३ जनाको आवेदन परेको थियो । जसमध्येबाट ६ जनाले लिखित परीक्षामा नाम निकालेका छन् । यस्तै ५ जना सिभिल सब–ईञ्जिनियरको माग भएकोमा ४९ जनाको आवेदन परेको थियो । जसमध्येबाट १० जनाले लिखित परिक्षामा नाम निकालेका छन् । यस्तै १ जना मेकानिकल सबइञ्जिनियरको माग भएकोमा ८ जनाले आवेदन दिएका थिए । जसमध्येबाट ३ जनाले लिखित परीक्षामा नाम निकालेका छन् । यस्तै ५ जना अमिनका लागि आवेदन माग गरिएकोमा ५२ जनाको आवेदन परेको थियो । जसमध्येबाट १० जनाले लिखित परिक्षामा नाम निकालेका छन् । यी सबैको वैशाख ३ गते बिहान ८ बजे अन्तरवार्ता लिइनेछ । महानगरपालिकाले छनौटमा परेका उम्मेदवारको नामावली मंगलबार प्रकाशन गरेको छ ।