भरतपुर, २० चैत ।
नारायणी नदी किनारमा देशका प्रतिष्ठित रक ब्याण्डका कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘प्रोजेक्ट वान लाइभ इन चितवन’ नाम दिइएको सांगीतिक कन्सर्टमा देशका ‘बिग ब्याण्ड’का कलाकार सहभागी हुनेछन् ।
आगामी चैत २४ गते गरिने कार्यक्रमलाई पोजिटिभ भाइब्स र मण्डला इभेन्ट नेपालले आयोजना गरेको हो । कन्सर्टमा प्रोजेक्ट वान नेपालका तर्फबाट मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रोविन एण्ड न्यू रिभोल्युसनका रोविन तामाङ, द स्याडोजका स्वप्निल शर्मा, अनुप्रस्थका निरन शाहीले सांगीतिक प्रस्तुति दिनेछन् ।
त्यस्तै सांगीतिक कलाकारहरु नेपथ्यका पूर्व लिड गिटारिस्ट हरि महर्जन, एक्स ब्याण्डका पूर्व लिड गिटारिस्ट शरद श्रेष्ठ, नेवाजका रोशन कंशाकार, नेपथ्यका पूर्व ड्रमर निखिल तुलाधरले लाइभ म्युजिक दिनेछन् ।
कन्सर्ट प्रवेशका लागि ५०० रुपैयाँको प्रवेश टिकट व्यवस्था गरिएको छ । आयोजकले ५ हजार दर्शक आउने अपेक्षा गरेको छ । कार्यक्रमका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक मनोज घिमिरेले जानकारी दिए ।