भरतपुर, १५ चैत ।
भरतपुर–१८ स्थित चनौली बजारमा हाटबजार सञ्चालनमा ल्याइएको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न वडातहमानै हाटबजार सञ्चालनमा ल्याइएको हो । चनौली बजार व्यवस्थापन समितिले उपलब्ध गराएको करिव १० कट्टठा क्षेत्रफलमा हाट बजार सुरु भएको हो । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले हाटबजारको एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् ।
उपमेयर पार्वती शाहले स्थानीय हाटबजारले स्वरोजगारको अवसर सृजना गराउन सघाउने बताइन् । “कलकारखाना मात्रै खुलेर रोजगारी सृजना हुने होइन्”, उनले भनिन्, “स्थानीय तहमै करेसाबारीको उत्पादनलाई बजारीकरण गर्ने वातावरण मात्रै बने पनि आयआर्जन गर्न सहज हुन्छ ।” उनले हाटबजार अवधारणाले ग्रामीण भेगको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । “थोरै लगानीले पनि आर्थिकस्तर उकास्न सकिन्छ”, उनले भनिन्, “हाटबजार बजारकै स्वरुप हो । गाउँघरमै सजिलो रुपमा किनमेलको वातावरण बन्ने छ ।”
हाटबजार प्रत्येक महिनाको १५ गते सञ्चालन हुनेछ । स्थानीय माग अनुसार हाटबजार सञ्चालन हुने अवधि बढाइने लक्ष्य छ । “महानगरले सबै वडामा कम्तिमा एक हाटबजार चलाउने निती लिएको छ”, उनले भनिन्, “जनस्तरबाट माग भएमा महानगर सहयोग गर्न तयार छ ।” उनले हाटबजारले महिलालाई आर्थिक सवलीकरणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखिन् । भरतपुर–१८ का वडाध्यक्ष दिपक लामाले पश्चिम चितवनकै मुख्य बजारका रुपमा हाटबजार विकास हुने बताए । “कृषिजन्य उत्पादनलाई बजारीकरण गर्ने थलो पनि बनेको छ”, उनले भने । भरतपुर–१९ का वडाध्यक्ष कर्णबहादुर गुरुङले हाटबजारले विचौलियालाई निरुस्ताहित गर्ने बताए ।
“स्वयम् किसानले बजारसम्म उत्पादन लिएर जाने वातावरण बन्दै छ”, उनले भने, “हाटबजारलाई वहृत बनाइनुपर्छ ।” हाटबजार भरतपुर–१८ र चनौली बजार व्यवस्थापन समितिले संयुक्त रुपमा सञ्चालन गरेका हुन् । चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद पौडेलले पश्चिम चितवनलाई आर्थिक हब बनाउने अभियान सुरु भएको बताए । उनले खाली भएका जमिन प्रयोग गरेर आर्थिक क्रियाकलाप सञ्चालन गर्न बजार सञ्चालनमा ल्याइएको बताए । कार्यक्रममा भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, २७ का वडाध्यक्ष गोविन्द तामाङ्, भरतपुर–२० का वडा सदस्य मन्दिरा पोखरेल, भरतपुर–१८ का वडासदस्य जीतबहादुर तामाङ, कांग्रेसका शालिग्राम पौडेल, माओवादीका पिताम्वर पोखरेल, लाहुरे टोल विकास समितिका अध्यक्ष भिमसेन राउत लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा राष्ट्रिय कलाकार सरस्वती लामा, रेश्मा पुन मगर, हास्यकलाकार सुलेमान शंकर इकु, मेडेल रिया श्रेष्ठले विशेष प्रस्तुति दिएका थिए ।