विप्लव काफ्ले/कायाकैरन
भरतपुर, चैत १५ ।
चितवनका भेडाबाख्रालाई संक्रामक रोगविरुद्ध पिपिआर विरुद्धको खोप दिने तयारी सुरु भएको छ । १ लाख २० हजार भेडाबाख्रालाई यो महिनामा पिपिआर खोप दिइन लागिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. चेतनारायण खरेलले सम्भावित जोखिम कम गर्न वर्सेनि पिपिआर खोप लगाउँदै आएको बताए ।
“झण्डै ७० प्रतिशत कभरेज गर्ने गरी खोप लगाइनेछ”, उनले भने, “महामारी फैलन नदिन खोप अभियानले सघाउने छ ।” पिपिआर नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर रोगको जोखिम कम गर्न मन्त्रालयले अभियानै चलाएको छ । मंगलबार भरतपुरमा पिपिआर खोपबारेको अन्तरक्रिया कार्यक्रम गरिएको छ । पिपिआर एकप्रकारको हैजा रोग हो । नाक तथा आँखामा बाक्लो केस्रा आउने, सिंगान आउने, गिंजामा घाउ हुने, अत्यधिक ज्वरो आउने, झोक्राउने जस्ता लक्षण देखा पर्छन् । यो रोग लागेपछि बचाउन निकै गाह्रो हुन्छ । यो सरुवा रोग हो । यो खोप जिल्लामा यही १६ गतेदेखि दिइदैछ । भरतपुर महानगरमा रहेका ७ वटा सेवा केन्द्र र जिल्ला कार्यालयबाट ५५ हजार, कालिका नगरमा २ सेवा केन्द्रबाट १५ हजार भेडाबाख्रामा यो खोप दिइदैछ । यस्तै राप्ती, खैरहनी, रत्ननगर, माडी, इच्छाकामनामा रहेका १–१ वटा पशु सेवा केन्द्रमार्फत १०÷१० हजार भेडाबाख्रालाई खोप लगाउने तयारी छ । खोप लगाउन आवश्यक पर्ने सिरिञ्ज, निडल, स्प्रे (पहिचान गर्न प्रयोग गरिने रङ), टुल बक्स, आइस प्याक लगायतका सामाग्री आइसकेको छ । “खोप लगाउने प्राविधिक छनौट हुने क्रममा छन्”, उनले भने, “विगतमा झण्डै १ लाख बाख्रा तथा भेडामा खोप लगाइएको थियो । यो वर्ष पनि लगाइनेछ ।” उनले भेडाबाख्रा आयात निर्यात गर्दा रोगको जोखिम बढ्ने गरेको बताए ।
पशु सेवा कार्यालय चितवनका योजना शाखाका दीपचन्द्र घिमिरेले मुख्य सडक आसपासमा रहेका बाख्राफर्ममा समेत खोप लगाइने बताए । “१ पटक लगाएको खोपले सामान्यतया २ वर्ष काम गर्छ”, उनले भने, “तर, वर्सेनि लगाउँदै आइएको छ । रोग लाग्नै नदिन खोप अनिवार्य छ ।” ३ महिनामाथिका सबै भेडा बाख्रामा खोप लगाउन सकिने उनले बताए । चितवनमा गत आर्थिक वर्षमा पशु कार्यालयमा २ सय ९४ वटा बाख्राफर्म दर्ता भएका थिए । जसमध्ये १ सय बढी बाख्रा पाल्ने फर्म १ सय बढी छन् । भेडाफर्म हालसम्म दर्ता भएका छैनन् ।
खसीबोकाको मासु चितवनमा ४ हजार १ सय ८३ मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्ला पशु सेवा कार्यालय चितवनका पशु चिकित्सक डा. विकास श्रेष्ठले पिपिआर खोप निःशुल्क भएकाले किसानले कुनै सेवा शुल्क तिर्नुनपर्ने बताए । “यो खोप निःशुल्क हो । राष्ट्रिय अभियानका रुपमा खोप लगाउँदै आइएको हो”, उनले भने, “प्राविधिकले कुनै बहानमा शुल्क लिन पाउने छैनन् । लिएको पाइए कानूनी कारबाही हुनेछ ।” प्रति भेडाबाख्रालाई खोप लगाए वापत प्राविधिकले ५ रुपैयाँ पारिश्रमिक पाउनेछन् । प्राविधिकलाई पारिश्रमिक दिन ६ लाख रुपैयाँ बजेट निकासा भएको छ ।
“खोपको माग अत्यधिक छ । तर, उत्पादन कम छ”, उनले भने, “सम्भावित जोखिम क्षेत्रलाई आधार बनाएर पकेट क्षेत्रमा खोप लगाउने गरिन्छ ।” चैतदेखि जेठसम्म यो रोगले महामारीको रुप लिनसक्ने भएकाले चैतभित्रै खोप लगाउने तयारी भएको जानकारी उनले दिए । पिपिआर देखिएका बाख्रा, भेडालाई यो खोप दिन हँुदैन । चितवनमा ०५७÷५८ देखि खोप दिन लागिएको हो । नेपालमा यो रोग ०५०÷५१ सालमा भित्रिएको थियो । यो रोग लागेको करिव एक हप्तामा बाख्रा, भेडा मर्ने गर्छन् । रोगले महामारिको रुप लिएमा किसानले बढी क्षति व्यहोर्नुपर्ने भएकाले खोप लगाउन थालिएको हो । चितवनमा पनि पिपिआर रोग बेलाबखत देखा पर्ने गरेको छ । नश्ल सुधारका लागि, मासुका लागि भेडा बाख्रा आयात निर्यात गर्दा रोग फैलने गर्छ । पिपिआर रोग नियन्त्रण कार्यक्रम देशैभर लागू भएको छ ।