भरतपुर, १४ चैत ।
समाचार संकलनका लागि भरतपुर महानगरपालिका पुगेका चितवनका केही पत्रकारलाई महानगरका प्रशासकीय अधिकृत र वडाध्यक्षले दुव्र्यवहार गरेका छन् ।
महानगरले पछिल्लोपटक बढाएको करको विरोधमा ज्ञापनपत्र बुझाउन गएको उद्योग वाणिज्य संघ–चितवनको टोलीसँग गएको पत्रकार टोलीलाई ‘पत्रकारलाई कसले बोलाएर यहाँ आएको ? तुरुन्त निक्लिनुस्’ भन्दै दुव्र्यवहार गरेको सहभागी पत्रकारले जनाए । “हामी उद्योग वाणिज्य संघको खबरमा महानगर गएका थियौं”, कान्तिपुर दैनिकका चितवन संवाददाता रमेशकुमार पौडेलले भने, “तर, एक्कासि हामीमाथि आइलागे, नबोलाएको ठाउँमा किन आइस् भन्ने ढंगले लखेट्न खोजे ।”
सो क्रममा भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भण्डारीले ‘पित पत्रकारिता गरेको’ भन्दै निराधार आरोपसहित हप्कीदप्की गरे । “तपाईंहरु पित पत्रकारिता नगर्नुस्”, पत्रकारहरुमाथि गम्भीर आरोप लगाउँदै भण्डारीले भने, “तपाईंहरुले के लेख्नुभएको छ, हामीलाई राम्रोसँग थाहा छ, यो विषयमा के–के सोध्नुपर्ने हो मसँग इन्टरभ्यू लिनुहोला, अहिले जानोस् ।”
नागरिक दैनिकका चितवन संवाददाता सविता श्रेष्ठले मेयर र उपमेयरको अगाडि प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडाध्यक्ष भण्डारीले झपारेको घटना दुःखद भएको बताइन् । “हामी ज्ञापनपत्र बुझाउने खबर थाहा पाएर गएका थियौं”, उनले भनिन्, “तर, हुकुमी शैलीमा कसले बोलाएर आएको भन्दै बाहिर निकाल्न खोजे ।”
समाचार संकलनका लागि नेपाल प्रत्रकार महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीणकुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभीका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ, सौराहा अनलाइनका शिव आचार्य महानगर पुगेका थिए ।
पित पत्रकारिता गरियोः वडाध्यक्ष
वडाध्यक्ष भण्डारीले कायाकैरनसँगको कुराकानीमा महानगरको करको विषयमा पित पत्रकारिता गरिएको जिकिर गरे । “हो मैले भनेकै हो, पित पत्रकारिता गरिएको छ”, उनले भने, “पत्रकारले कहिल्यै पनि एकपक्षीय बनेर समाचार लेख्नुहुँदैन, त्यसो गरियो ।” उनले मंगलबारको कार्यक्रम ज्ञापनपत्र बुझाउने नभई दुई पक्षबीचको छलफल भएकोले ‘गोप्य’ गर्न खोजिएको बताए । “पत्रकारलाई कसैले पनि बोलाएको होइन”, उनले भने, “अनि नबोलाएको ठाउँमा किन आउनुप¥यो, जानुहोस् भनेको हुँ ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत जोशीले पनि पत्रकारलाई नबोलाएको कारण नबस्नुस् भनेको बताए । “पत्रकार सम्मेलन गरेको पनि होइन, बोलाएको पनि होइन”, जोशीले भने, “त्यसैले नबस्नुस् भनिएको हो ।”
वडाध्यक्षले ज्ञापनपत्र बुझाउने कार्यक्रम नभई गोप्य छलफल भनेपनि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्षले भने ज्ञापनपत्र बुझाउनकै लागि आफूहरु महानगर पुगेको बताए । तर, पत्रकारलाई आफूहरुले लिएर भने नगएको उनले बताए । “ज्ञापनपत्र बुझाउन गएका हौं, बुझाएका पनि छौं”, उनले भने, “पत्रकारलाई हामीले बोलाएको त होइन, तर गएपछि बस्नै नहुने गोप्य केही पनि थिएन ।”
दुव्र्यवहारको विरोध
महानगरले गरेको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ चितवनले विरोध गरेको छ । मंगलबार साँझ अध्यक्ष राधेश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन हो । त्यसैले यो विषयमा महानगरले दोषीमाथि छानविन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने हाम्रो माग छ ।”
त्यस्तै नेपाल प्रेस युनियनले पनि पत्रकारलाई महानगरले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । “आम जनाताको सूचनाको संवाहकको रुपमा रहेका पत्रकारलाई अपशब्द प्रयोग गर्दै अपमानजनक व्यवहार गरी लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको युनियनले ठहर गरेको छ”, युनियनका सचिव अनिल ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रत्यक्षदर्शी महानगरका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह मूकदर्शक बन्नु दुःखद कुरा हो ।”