लेखराम सापकोटा
चितवन, ११ चैत ।
चितवन साहित्य परिषद्ले आफ्नै जग्गासहितको भवन भएको साहित्यिक संस्थाको पहिचान बनाएको छ । नारायणगढको आनन्दमार्गमा निर्मित परिषद्को भवन यसैसाता प्रा.डा. वासुदेव त्रिपाठीले उद्घाटन गरेपछि परिषद् आफ्नै जग्गासहितको भवन भएको पहिलो साहित्यिक संस्था भएको हो । गत चैत ३ गते शनिबार प्रमुख अतिथि त्रिपाठीले भवन उद्घाटन गरेका हुन् ।
चितवन साहित्य परिषद्को भवन बन्नुमा धेरैले धेरै ठाउँबाट योगदान दिएका छन् । ठुला साना गरि सयौंको संख्याका ब्यक्ति बिसेषको योगदान यसमा रहेको छ । वि. सं. २०५९ सालमा गुणचन्द्र विष्ट (स्वामी कृष्णानन्द भारती)ले निःशुल्क प्रदान गरेको १० हात घडेरी र ७० हजार नगदबाट भवन निर्माण सुरु गरिएको थियो । संस्थाका अन्य सदस्यसहित २६ जना मनकारीहरुले दान गरेको रकमबाट जग्गाले विस्तारित हुने मौका पाएको हो । अहिले भवन ठडिएको जग्गा २० हात मोहडा र ४१ हात पिछाडमा फैलिएको छ ।
गायत्री श्रेष्ठ परिषद्को अध्यक्ष रहँदा बनाइएको भवन निर्माण समितिको संयोजक श्रीभक्त अच्युत वाग्ले, उपाध्यक्ष केदारनाथ खनाल र गायत्री श्रेष्ठले ‘सिड मनी’को रूपमा एक–एक लाख जम्मा गरेपछि भवन निर्माण अभियानको रफ्तार बढ्दै गयो । तत्कालीन सभासद गीता वाग्ले र तारा काफ्लेबाट प्राप्त एकमुष्ट १ लाख रुपैयाँले पनि भवन निर्माणको गतिलाई थप रफ्तारमा लगेको हो । निर्माण समितिका सचिव बालकृष्ण थपलिया तथा सदस्यहरु श्यामजी अतिथी, रेशमलाल श्रेष्ठ र जगन्नाथ पण्डितसहितको टोली भवन निर्माण कसरी सम्पन्न गराउने भन्नेमा अहोरात्र लागीपरे ।
सभासद वाग्लेले सांसद् विकास कोष तथा विभिन्न मन्त्रालयबाट आर्थिक सहयोगको व्यवस्था मिलाएपछि भवन निर्माणमा ठूलो सहयोग पुगेको हो । बेलायतमा रहेका चितवनेहरुको संस्था चितवन सहायता कोषले करिब सवा लाख रुपैयाँ उपलब्ध गराएको छ भने विभिन्न मुलुकमा बस्ने चितवनका सहयोगीहरुले पनि सहयोगस्वरुप रकम उपलब्ध गराएका छन् ।
भवन निर्माणका लागि धेरै रकम उपलब्ध गराउनेमा जिल्ला विकास समिति चितवन, माधव सुमार्गी ट्रस्ट, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, भरतपुर महानगरपालिका, भवन भट्ट, भानु स्मारक चितवनलगायत छन् । सबैतिरबाट संकलन गरिएको कूल रकम ७५ लाख २६ हजार ६ सय अठार पुगेको छ भने भवन निर्माणमा ७० लाख ७४ हजार ८ सय बयालिस रुपैयाँ खर्च भएको चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए ।