लेखराम सापकोटा
चितवन, ११ चैत ।
चितवनमा कलासाहित्यको विकासका लागि कवि भूपिनको नेतृत्वमा बेग्लै फोरम बन्दै थियो, ‘अफ दी बिन जेनेरेसन’ । बहुआयामिक व्यक्तित्वलाई समेटेर बनाइएको यो समूहका एक मूर्धन्य खम्बा थिए डा. बालकृष्ण थापा ।
निकटमै आयोजना गर्न लागिएको कला साहित्य महोत्सव यो समूहको पहिलो ‘भव्य’ उत्सव थियो । एक हिसाबले संस्थाको जन्म पनि यही उत्सवले गरेको थियो । आगामी जेठ ५ देखि ७ गतेसम्म सौराहामा आयोजना गर्न लागिएको नारायणी साहित्य कला संगीत महोत्सव यसले गर्न लागेको थियो । तर, यही तयारीबीच वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापाको निधन भयो ।
“हामी महोत्सवको तयारीमै थियौं, बैठकका लागि मैले खबर गरें”, डा. थापाको १३ औं दिनको पुण्यतिथिमा कवि भूपिनले सम्झिए, “तर, उहाँले आफू बंगलादेश जाँदै गरेको र आएपछि छलफल गर्ने बताउनुभयो ।” भूपिनसँगको फोनसंवादमा डा. थापाले आइतबार फर्किने बताएका थिए । सोमबारै बैठकको निर्णय जानकारी गराउने तयारमिा उनी थिए । तर, आइतबार थापाको विमान उड्न सकेन । सोमबार आउन त आए । तर, काठमाडौं ओर्लन सकेनन् । उनी आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा प¥यो । डा. थापाको देहावसान भयो ।
भूपिनलगायत समूहले डा. थापालाई महोत्सव तयारीबारे कहिल्यै भन्न पाएनन् । यही वियोगान्त माहोल शनिबार होटल ग्लोबलमा देखियो । १३ औं दिनको पुण्यतिथिमा चितवनका कविहरुले डा. थापाको कवित्व, व्यक्तित्व तथा चिकित्सकीय योगदानको चर्चासहित श्रद्धाञ्जली व्यक्त गरे ।
अफ दी बिट जेनेरेसनको आयोजनामा भएको कार्यक्रममा डा. थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनकै सम्झनामा लेखिएका कविता वाचन गरिए । कार्यक्रममा चितवन, नवलपरासीका कविहरुसँगै चिकित्सा क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । श्रद्धाञ्जली सभामा डा. कृष्ण पौडेल, डा. भोजराज अधिकारी, भूपिन, ईश्वर कँडेल, सुप्रदिप्ती भण्डारीलगायतले डा. थापाका बारेमा अभिव्यक्ति दिएका थिए । डा. बालकृष्ण थापालाई नजिकैबाट चिन्ने रामकुमार कार्कीले थापा एकदमै सरल, निडर र बौद्धिक डाक्टर भएको बताए ।
पारिवारिक सदस्यसमेत रहेका चित्रकार प्रकाश थापा प्रथाले डा. थापा कविता लेखनसँगै मादल बजाउने, गाउने र नाच्ने कलामा पनि निपूण भएको बताए । साहित्यकार एलबी क्षेत्रीले चिकित्सा क्षेत्रबाट बिरामीलाई ठूलो सेवा दिएका थापाले साहित्य क्षेत्रमा पनि दिएको योगदानको प्रशंसा गरे । कार्यक्रममा एलबी क्षेत्रीले डा. थापाकै कविताको केही अंश सुनाए भने कवि विजय बिश्वकर्माले ‘बस्, दुई मिनेटवाला एकपटकको भेट’ शीर्षकको कविता वाचन गरेका थिए ।