लेखराम सापकोटा
चितवन, ११ चैत ।
तीन वटा म्युजिक भिडियोमा अभिनय गरेका स्थानीय सूर्या नेपाली मोडलिङमा आफ्नो स्थान बन्नेमा आशावादी देखिएका छन् । स्थानीय स्रस्टा निर्दोष जीवनले आफ्ना गजलमार्फत उनलाई मोडलिङमा प्रवेश गराएका हुन् ।
हिजोआज युट्युब तथा टेलिभिजनका पर्दामा लोकप्रिय रहेको ‘तिमी आगो हौ’ बोलको गजलमा नेपालीले गरेको अभिनयलाई धेरैले रुचाएका छन् । यसमा सुमित लामाको निर्देशन रहेको छ । स्थानीय स्रस्टा टीका सापकोटाले लेखेको यो गजलमा निर्दोष जीवनको स्वर र संगीत समावेश छ ।
अग्लो ज्यान, चौडा छाती र उज्यालो अनुहारका सूर्याले पहिलोपटक मोडलिङ गरेको ‘नसोध तिमी मलाई’ निर्दोष जीवनकै गजल हो । सुजन अनिमेष अधिकारीले निर्देशन गरेको यो भिडियोमा स्वर र संगीत निर्दोष जीवनकै रहेको छ । सूर्यासँगै यो भिडियोमा प्रविना कार्की र निरञ्जन पाण्डेको पनि अभिनय रहेकोे छ । पहिलो भिडियोमा सूर्याको अभिनयलाई दर्शक स्रोताले रुचाएका कारण निर्दोष जीवनले दोस्रो मौका पनि दिए । निर्दोष जीवनकै स्वर, शब्द, संगीत र निर्देशनसमेत रहेको दोष कसैलाई दिन चाहन्न गीतमा पनि उनले आफ्नो क्षमता देखाउने मौका पाए ।
सूर्या नेपाली वि.सं.२०५१ सालमा गैंडाकोटमा जन्मेका हुन् । सीमान्तकृत परिवारमा जन्मे÷हुर्केका उनले दुःखसुख गर्दै एसएलसीसम्म पढेका छन् । सानैदेखि गायन र अभिनयमा लागेका उनी जीवन जिउने क्रममा आमासँग हिंडेर दाउरा बेच्ने, घर बनाउने मिस्त्री काम, ग्यारेज तथा स्टेशनरी पसलमा पनि काम गरेको बताउँछन् ।
तेइस वर्षीय यी तन्नेरी कामकै सिलसिलामा भारत पनि पुगे । प्रवासको दुःखजिलो सहन नसकेर नेपाल आएका उनी स्वदेशमै केही गर्नुपर्छ भनेर लागिपरे । जीवन जिउने क्रममा सानाठूला सबैखाले दुःख झेलेका उनी पैसा कमाउन मलेसिया, अरबतिर जाने सोचाइमा रहेछन् । सूर्या नेपालीको रहर र क्षमता देखेर गायक निर्दोष जीवनले उनलाई विदेशिनबाट रोक्दै अभिनयमा मौका दिएका हुन् । हँसिला र आकर्षक शारीरिक बनावटका नेपालीले अब अभिनयमै सक्रिय भै भविस्यमा नायक बन्ने सपना बुनेका छन् ।