भरतपुर, ७ चैत ।
नेपाल रेडक्रस सोसाइटीको अध्यक्षमा पुनः ज्ञानशाली न्यौपाने निर्वाचित भएका छन् । बुधबार नारायणगढमा सम्पन्न ४६औं जिल्ला अधिवेशनमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । लामो समय जिल्ला शाखा मन्त्री भएर गत कार्यकालबाट अध्यक्ष बनेका उनले अर्का प्रत्यासी विजयराज शर्मा भुषाललाई पराजित गरे । कूल खसेको १८८ मतमध्ये ज्ञानशालीले १०७ मन प्राप्त गर्दा विजयराज शर्मा भुषालको पक्षमा ८० मत प्राप्त भयो ।
शाखा अधिवेशनले अरु १२ जना सदस्य पनि निर्वाचित गरेको छ । जसमा हरिप्रसाद पौडेल(१३५), विदुर केसी(१३४), रामबहादुर लामा(१२७), हरिचन्द्र महतो(१२६), रत्नप्रसाद सापकोटा(११०), महेश्वर थपलिया(१०६), विजयराज खनाल(९४), शालिग्राम पौडेल(८७), सिर्जना अधिकारी(८४), केशबहादुर अधिकारी(८३), जगदीश्वर खनाल(८३) र चिजकुमार आले(८३) छन् । रेडक्रसको विधानअनुसार शाखा सदस्यमा निर्वाचितमध्येबाट अध्यक्षबाहेक पदाधिकारी चयन गरिनेछ ।
शाखा अधिवेशनको बुधबार कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले उद्घाटन गरेका थिए । रेडक्रसको नमूना जिल्ला चितवनले समाज सेवाको क्षेत्रमा धेरै राम्रा काम गरेको भन्दै प्रशंसा गरे । सहमहामन्त्री हरिप्रसाद न्यौपानेले चैत २८ र २९ गते विराटनगरमा नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन हुन गइरहेको जानकारी गराए ।
सो क्रममा बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार ईश्वरकुमार जोशी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पूर्वकार्यकारी निर्देशक डा. सीबी पुन, रेडक्रसकर्मीहरु रामचन्द्र उपाध्याय, धन्कीलाल गुरुङ, विष्णुमाया न्यौपाने र धनमानसिंह बस्नेतलार्ई सम्मान गरिएको छ । यसैगरी रेडक्रस उपशाखा कृष्णपुर, पार्वतीपुर, चनौली, महेन्द्रचोक, गीतानगर र शुक्रनगरलार्ई कामको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा मन्त्री हरिप्रसाद पौडेलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष अनिता मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।