पवन सुवेदी
सन्दर्भः अन्तर्राष्ट्रिय महिला दिवस
सबभन्दा ठूलो स्रोत वा शक्ति कुन हो ? निश्चय नै मानव स्रोत हो । यो हिसाबले व्याख्या र विश्लेषण गर्ने हो भने यहाँ महिला र पुरुष दुवै समान छन् । सृष्टिमा भएका मानवदेखि पशुपक्षी सबैले आफ्नो अधिकार र पहिचान रक्षा गर्नका लागि आफूमा अन्तरनिहित रहेको शक्तिलाई समयानुकूल सही तरिकाले प्रयोग गरी आफ्नो अस्तित्व रक्षाका लागि संघर्ष गरेका छन् ।
महिला र पुरुष दुई भएपनि, भूमिकामा भिन्नता भएपनि हाम्रा व्यवहारिक तथ्य र लक्ष्य भने एक नै छन् । त्यसैले हामी विकासमा फुटेर होइन, समानतामा जुटेर एक भई अधिकार र लक्ष्य प्राप्तिका लागि अघि बढ्न आवश्यक छ । नेपालमा महिला संघको स्थापना भएपछि महिलालाई विकासमा सहभागिता गराउने उद्देश्यका साथ स्थापना भएका अन्य संघसंस्था हालसम्म पनि यसको श्रीवृद्धिमा सञ्चालित छन् । नेपालको संविधान २०७२ को भाग ३ को धारा ३८ मा महिलाको हक, भाग २७ को धारा २५२ मा राष्ट्रिय महिला आयोग बनाइने र जसमा अध्यक्षको साथमा अन्य चार जना सदस्य रहने र हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकार र व्यवस्था सुरक्षित गरिएको छ । यसको कार्यान्वयनले राजनीतिमा महिलाको सहभागितामा सफलता हात लाग्नेछ ।
साहित्यतर्फ पनि महिलाको अब्बलता धेरै समय अघिदेखि रहेको छ । उदाहरणको रुपमा मदन पुरस्कार विजेता पारिजात (बिष्णुकुमारी वाइबा)को नाम लिन सकिन्छ । उनी नेपालको इतिहासमा मदन पुरस्कार पाउने पहिलो महिला हुन् । अझ राजनीतिक क्षेत्रमा नेपालको इतिहास हेर्ने भने पनि पहिलो उपप्रधानमन्त्री शैलजा आचार्य, पहिलो मन्त्री द्वारिकादेवी ठकुरानी, पहिलो परराष्ट्रमन्त्री सहाना प्रधान (उनकै अध्यक्षतामा सन् १९९२ मा महिला सुरक्षा दबाब समूहको स्थापना भएको थियो), पहिलो रक्षामन्त्री विद्यादेवी भण्डारी (हाल उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिजस्तो गरिमामय पदमा पदासिन छिन्) अगाडि आए । नेपालको महिला आन्दोलनको राष्ट्रियस्तरमा योगमायादेवीको नाम पनि आउँछ । उनी नेपालको महिला संघको पहिलो अध्यक्ष पनि हुन् । उनीहरुबाट हामीले शिक्षा लिन सक्नुपर्दछ । उनीहरुको नाम मात्र लिएर आफ्नो अस्तित्व र पहिचानलाई कमजोर बनाउनु हुँदैन । हरेक क्षेत्रमा महिला सहभागिता गराउन महिला–पुरुष समान भई डटेर यसको सामना गर्नुपर्दछ । सन् २०१७ मा संयुक्त राष्ट्र संघले ‘बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला’ भन्ने नारा लिएर अघि बढेको थियो । यसबाट हामीले सहजै अनुमान गर्न सक्छौँ नेपाललगायत विश्व समुदायले महिला विकासको लागि कति उच्च स्थान दिएर अघि बढेको छ ।
नेपालमा विक्रम सम्वत २०५८ सालमा राष्ट्रिय महिला आयोगको गठन भयो । नेपालको विक्रम सम्वत २०६२÷६३ सालको जनआन्दोलन–२ लाई सफल बनाउन विभिन्न पार्टीमा आबद्ध महिला नेता तथा कार्यकर्ताको उच्च र साहसिक योगदान छ । नेपालमा महिला विकासका लागि विभिन्न नीति तथा ऐन जारी गरिएका छन् । जसमा लैङ्गिक समानता कायम गर्ने ऐन २०६३, घरेलु हिंसा कसुर र सजाय ऐन २०६३ जारी भएका छन् । विश्व परिवेशमा महिलाका हक अधिकारलाई सम्बोधन गर्न सन् १९११ मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने निर्णयसँगै अधिकांश देशका महिलाहरु सकारात्मकरुपमा अगाडि देखिए । संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई महिलासम्बन्धी विभिन्न मुद्दाहरु अघि सार्दै नारी वर्ष घोषणा ग¥यो । यसैगरी महिलाको राजनीतिक अधिकारसम्बन्धी महासन्धि सन् १९५२ ले महिलालाई पुरुष सरह कुनै भेदभावविना समान कार्य गर्न पाउने अधिकार प्रदान गरेको थियो ।
सन् १९७५ देखि १९८५ को अवधिलाई महिला दशकको रुपमा मनाइयो । सन् १९७९ मा महिलाविरुद्ध हुने सबै भेदभाव उन्मूलन गर्ने महासन्धि पारित गरियो । मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा समेत कसैलाई पनि जातजाति, लिङ्ग, धर्म र वर्णका आधारमा भेदभाव, दास र व्यापार गर्न पाइने छैन । अझ महिला र बालबालिकालाई स्वास्थ्य र शिक्षा दिँदा विशेष ध्यान दिनुपर्ने बुँदाहरु उल्लेख छन् । महिलाको सर्वाङ्गीण विकासका लागि धेरै विश्व महिला सम्मेलनहरु सम्पन्न भए । जसमा महिलाका आवाज, अधिकार, अवसर, सहभागिताका साथै महिलाविरुद्ध हुने विभिन्न हिंसा तथा भेदभावको अन्त्य हुनुपर्ने मुद्दा प्राथमिकतामा रहे । महिला र पुरुषबीचमा रहेका असमानता, विभेद र शोषणको अन्त्य गर्नका लागि समतामूलक विकासको लागि सन् १९८० को दशकमा न्ब्म् अर्थात लैङ्गिकता र विकाससम्बन्धी दृष्टिकोणको विकास भयो । यसले विकास प्रक्रियामा महिला र पुरुष दुवैलाई समाहित गराउनुपर्दछ भन्ने धारणा राख्दछ अर्थात महिला पुरुषको सहकार्यलाई आत्मसाथ गरेको छ ।
नेपालमा नेपाली महिलाले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा आफ्नो अधिकारको सहभागिता सुनिश्चित गर्न लामो समय संघर्ष गर्नुपरेको छ । तर, महिला उन्नति र समृद्धिको नाममा एकतर्फी निरन्तर आन्दोलन मात्रै बढाउँदै जाने हो भने त्यसले समाजमा नकारात्मक प्रभाव पनि पार्न सक्छ । त्यतातर्फ पनि ध्यान पु¥याउन जरुरी छ । पुरुषलाई पनि साथ लिएर अधिकार रक्षाको लागि आन्दोलन गर्दा नेपाली महिलालाई फाइदा पुग्ने देखिन्छ । यसप्रकार नेपालमा महिलाविरुद्ध भइरहेका सबै प्रकारका विभेदलाई निर्मूल पार्न आन्दोलनमा होमिएका महिलालाई समाजको संकुचित सोचाइलाई परिवर्तन गर्न, नेपाली समाजमा समतामूलक पुरुष सरहको आफ्नो सार्थक उपस्थिति गराउन पुरुषलाई पनि साथ लिन आवश्यक छ ।
महिलालाई महिलावाद, सामाजिक, लैङ्गिक र यौनिकतासम्बन्धी सैद्धान्तिक, विधिगत र अवधारणागत ज्ञान दिनुका साथै महिला सशक्तीकरण र शिक्षाको माध्यमबाट हरेक तह (प्रशासकीय, विकास निर्माण र राजनीतिक) मा पुरुष समान सहभागिता गराउनुका साथै सामाजिक परिचालनमा विभेदलाई अन्त्य गर्दै सामाजिक काम र कर्तव्यमा समान सक्रिय र निर्णायक भूमिका सुनिश्चित गराउनुपर्दछ ।
जहाँसम्म महिलालाई नेपाली समाजले पितृसत्तात्मक परिवेशको आडमा दोस्रो दर्जामा राखी पछाडि पारेको छ भन्ने सोच विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यमहरुमा आइरहेका छन् । यो विलकुल गलत छ । हाम्रा समाजका कूसंस्कारलाई कसरी बदल्न सकिन्छ भन्नेमा सकारात्मक सोच र विचारका साथ एक भई सशक्त आवाज उठाउन नसक्दा उनीहरु आफै पछि परेका छन् । पितृसत्ता र मातृसत्ताको पर्खालबीचमा राखेर समस्याको समाधान कहिल्यै निस्किँदैन । भएका विभिन्न महिला आन्दोलनमा पुरुषको पनि साथ नभएको भए आजका हाम्रा नेपाली महिलाको अवस्था कस्तो हुने थियो, त्यो सहजै अनुमान गर्न सकिन्छ । हामी आफैमा पनि दलित, मधेसी, आदिवासी जनजाति, यो फलानो, ढिस्कानो भन्दैमा हाम्रो एकता तोडिएको छ । हामी सबै नेपाली महिला एक हौं, समान छौं भन्ने सोचको विकास गर्न किन सक्दैनौं ? हामी सबै समान छौं भन्न किन आफै हिच्किच्याउँछौं ? एउटा सानो उदाहरण दिन चाहन्छु, बाटोमा एउटी महिला हिँडिरहेकी हुन्छिन् । कुनैपनि वर्गका उच्छृ्रङ्खल तत्वले उनलाई जिस्क्याउँछ, आँखा झिम्क्याउँछ तर त्यही बाटोमा हिँडिरहेकी अर्की अपरिचित महिलाले ती पीडित महिलालाई साथ दिँदैनन् । यो हाम्रो यथार्थ हो । कानूनीरुपमा हेर्ने हो भने आँखा झिम्क्याउनु पनि अपराध हो । यो एक महिलालाई यौनजन्य हैरानी हो ।
विश्वजगतमा एक महापुरुषले भनेका छन्, “हजारौं माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ ।” हामी समानतामा जान खोज्दैनौं अनि मातृ र पितृसत्ता कुनमा रहने भनी नाराबाजी गर्छाैं । त्यसपछि समस्याको चाङ बढ्दै गएपछि अधिकार र आन्दोलनको विकल्प सामुन्नेमा आउँछ । नेपालमा महिलाहरु अधिकार र विकासको लागि पुरुषसँगै हात मिलाएर अघि बढ्न आवश्यक छ । एक्लै आन्दोलनमा होमिएर यस्तो जटिल समस्याको निराकरण गर्छु भन्ने सोचाइ पनि मूर्खतापूर्ण छ । आजको समयमा विकासमा महिला र पुरुष हातमा हात थामेर अधिकारको लडाइँ लड्नुमा सार्थकता देखिन्छ । महिला अधिकारको लागि निर्माण भएका नीतिनियम पनि कार्यान्वयन हुन नसकिरहेका बेला यो नै महत्वपूर्ण उपाय हुनसक्छ ।
नेपालमा महिला विकासका लागि विभिन्न आन्दोलन भए, टिकाटिप्पणी र बहसहरु पनि भए । तर, हामीमा प्रभाव पार्न सक्ने भएनन् । कारण सबै महिलाहरुलाई समानरुपमा एकीकृत गराउन सकिएन । हामीहरु आफ्नो पहिचान रक्षाका लागि आफ्नो पहिचान जोगाउँदै भविष्यको लागि अगाडि बढ्नुपर्दछ । त्यसैले दुवैको सहअस्तित्व, पारस्परिकता र समन्वयमा समाजलाई हसाउन सक्नुपर्दछ । यसो हुन नसकेमा आउने समयमा समाजमा महिलाको सुरक्षित अवतरण हुन असम्भव हुन्छ ।
आखिर सबैले अधिकार रक्षाको लागि लडाइँ त लड्नु नै छ किन महिला र पुरुष समान एक भई अगाडि नबढ्ने त ! फेरि पनि एक अर्कोविना अधिकार पाउनु असम्भव जस्तै छ ।
गैडाकोट नगरपालिका १,नवलपुर