धुर्वराज खनाल/कायाकैरन
भरतपुर, भरतपुर, २३ फागुन ।
झुपडीमा वस्दै आएका रत्ननगर–८ स्थित माझी मुसहर अहिले धमाधम पक्की घर बनाउन व्यस्त छन् । माझी मुसहर सीमान्तकृत समुदायको सूचीमा सूचीकृत माझी मुसहरको बसोबास रहेको सो ठाउँले मुहार फेर्दै छ ।
अति विपन्न र गरिबीबाट जीवनयापन गर्दै आइरहेका उनीहरुले ऋण काढेर आफ्ना लागि नयाँ घर बनाइरहेका छन् । एउटै कोठामा ५–६ जनाको परिवार बस्दै आएका उनीहरु ऋणै काढेर भएपनि पक्की घर बनाई बस्न पाउने भएपछि खुसी छन् । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरले संयुक्तरुपमा स्थापना गरेको शहरी गरिब सहयोग कोषबाट ऋण लिएर उनीहरुले घर निर्माण गरिरहेका हुन् ।
२४ घरधुरी रहेको सो समुदायमा अहिले १४ वटा घर बन्दै छ । त्यसमध्ये ११ घरधुरीले शहरी गरिब सहयोग कोषबाट ऋण झिकेर घर निर्माण गरिरहेका हुन् । तीन घरले भने आफ्नै लगानीमा घर निर्माण गरिरहेका छन् । “दिनरात कटाउन पनि निकै मुस्किल थियो”, माझी मुसहर टोलका अध्यक्ष बासमती माझीले भनिन्, “नयाँ घर निर्माणपछि छुट्टाछुट्टै बस्न पाइने हुँदा ज्यादै खुसी लागेको छ ।” बासमती माझीले पनि सो कोषबाट २ लाख ऋण झिकेर घर बनाएकी छिन् । कोषबाट २ लाख लिएपनि अपुग रकम जगेडा र अन्य ठाउँबाट पनि ऋण गरेर घर बनाइरहेका छन् ।
उनीहरु धेरैले पिल्लर नै उठाएर पक्की घर बनाएका छन् । माछा मारेर जीवन गुजारा चलाउँदै आएका सो समुदायमा अहिले प्रायः सबै ज्याला मजदुरीको काम गर्छन् भने केही वैदेशिक रोजगारीमा समेत गएका छन् । विदेशमा कमाएको पैसा र यहाँ ज्याला मजदुरी गरेको पैसा थप गरेर घर बनाइरहेको टोल विकास संस्थाका अध्यक्ष माझीले बताइन् । रत्ननगर नगरपालिका र लुमन्तीले वि.सं.२०७० सालमा शहरी गरिब सहयोग कोष खडा गरेका थिए ।
सो कोषमा हालसम्म २६ लाख ८५ हजार रुपैयाँ संकलन भएकोमा २२ लाख मुसहर समुदायका लागि लगानी गरिएको छ । दुवै संस्थाबाट ३०–३० लाख जम्मा गरेर कोषमा ६० लाख पु¥याउने लक्ष्य रहेको लुमन्तीका रत्ननगर कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिए । तर, रत्ननगर नगरपालिकाबाट हालसम्म ६ लाख ८६ हजार मात्रै जम्मा भएको छ भने लुमन्तीले २० लाख रुपैयाँ कोषमा जम्मा गरिसकेको लामाले बताए । बाँकी रकम जम्मा गर्न नगरपालिकाले ढिलाई गर्दा मुसहर बस्तीका बाँकी घर निर्माण गर्न रकम अभाव भएको छ ।
कोषबाट ऋण लिनेहरुमा वीरमाया माझी, रामकुमारी माझी, बासमती माझी, सरवस्ती माझी, सफी माझी, चन्द्रकुमारी माझी, श्रीया माझी, किसुनी माझी, प्रभावती माझी, जानकी माझी र वेफी माझी छन् । रत्ननगर नगरपालिकाका मेयर नारायण वन नगरभित्र पनि गरिब, सुकुमबासी धेरै रहेकाले उनीहरुको जिविकोपार्जनमा सहजता ल्याउने गरी नगरपालिकाले काम गर्ने बताउँछन् ।
रत्ननगरमा कलैयाको टोली
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा सुकुमबासी समुदायका क्षेत्रमा भएका गतिविधिबारे कलैया उपमहानगरपालिकाका सरोकारवाला संस्थाहरुले अनुगमन गरेका छन् । कलैयास्थित विपन्न तथा दलित समुदायबाट सञ्चालित दीपशिखा महिला बचत तथा ऋण सहकारी सस्ंथा र लुमन्ती आवासका लागि सहयोग समूहका प्रतिनिधिको टोलीले रत्ननगरमा सुकुमबासी समुदायका क्षेत्रमा भएका प्रगतिबारे स्थलगत अनुगमन गरेको हो । लुमन्तीका संयोजक अब्दुल कैसको नेतृत्वमा सहकारीका अध्यक्ष रामरती पासवानसहित १६ जनाको टोली रत्ननगर आएको छ ।
टोलीले मंगलबार रत्ननगर–८ स्थित माझी मुसहर बस्ती र रमाइलो टोलको अनुगमन गरेको थियो । माझी मुसहर टोलमा रत्नगर नगरपालिका र लुमन्तीले संयुक्तरुपमा स्थापना गरेको शहरी गरिब सहयोग कोषमार्फत ऋण लिएर पक्की घर निर्माण भइरहेको छ । कलैयामा पनि नगरपालिका र लुमन्तीकै सहयोगमा गरिब समुदायका लागि घर निर्माणका साथै चेतनास्तर अभिवृद्धि, आयआर्जनका लागि काम भइरहेको छ ।