भरतपुर, २३ फागुन ।यातायात व्यवसायीले नयाँ गाडी प्रवेशमा नियन्त्रण गर्न भरतपुर महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । मध्य नेपाल यातायात व्यवसायी संघ (मलमल)को दोस्रो वार्षिक साधरणसभा तथा प्रथम अधिवेसनको उद्घाटनसत्रमा व्यवसायीले आवश्यकता भन्दा बढी नयाँ गाडी नभित्राउन महानगरको ध्यानाकर्षण गराएका छन् ।
“गाडी अब नथपौँ, परमिट दिदा ख्याल गरौँ भन्दै आएका छौँ”, संघका अध्यक्ष चिनिबहादुर बोहराले भने, “रुट परमिट रोक्न भनियो, तर काम भएन, महानगरले यथेष्ट पहल चाल्नुपर्छ ।” उनले स्वरोजगार बन्ने लक्ष्य बोकेर विगतमा सवारीसाधनमा गरेको लगानीलाई विस्थापित गर्न नहुनेमा जोड दिए । “स्मार्ट सिटी बनाउनुपर्छ, व्यवस्थित बजार बनाउनुपर्छ भन्ने हाम्रो पनि माग हो”, उनले भने, “व्यवस्थापनको नाममा पुरालाई विस्थापन गर्ने, नयाँ सवारी धमाधम थप्दै जाने हो भने निकास निस्कदैन ।”
नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष मित्रराज केसीले महानगरले यातायात निति बनाउन ढिलाई गरेको बताए । “जनप्रतिनिधि आएको पनि ८÷९ महिना भैसक्यो, तर कसरी यातायात व्यवस्थापन गर्ने छलफलनै भएनन्”, उनले भने, “जेठ ७ मा यातायात कार्यालयमा पत्राचार गरेर पुग्दैन, फलोअप गरेर जथाभावि रुट परमिट दिने काम रोक्नुपर्छ ।” भरतपुर महानगरपालिका मेयर रेनु दाहालले निर्वाचित भएर आएलगत्तै यातायात व्यवस्थापनलाईनै पहिलो प्राथमिकतामा पारेको जीकिर गरिन् । “पूर्वपश्चिमको बाटोकोे केन्द्रमा पर्ने बजार नारायणगढ र भरतपुर बजार व्यवस्थापनमा हामी लागेका छौँ”, उनले भनिन्, “नयाँ सवारीलाई रुटपरमिट दिनुभएन, रोक्नुप¥यो भन्दै मन्त्रालयसम्म गएका छौँ, अब सरकारले स्थाइरुप लिएपछि हामी पनि संस्थागत रुपमै लाग्नेछौँ ।”
उनले नारायणगढ बजार भद्रगोल बजारका रुपमा विकास भएकोमा चिन्ता व्यक्त गरिन् । “सवारी चाप बढेको छ, पार्किङ अस्तव्यस्तता छ”, उनले भनिन्, “निजी सवारी पार्किङ स्थल बनाएका छौँ, छिट्टै फुटपाथ व्यवसाय हटाउने गरी अध्ययन कार्यदलले काम गरिरहेको छ ।” उनले सुन्दर सभ्य शहर बनाउन पहल भैरहेको बताइन् ।
यसैबीच मलमलले ६ जना चालक तथा व्यवसायीलाई सम्मान गरेको छ । म्याजिक व्यवसायी मोहन शाह ठकुरी, प्रेमरजा राइ, म्याजिक कुशल चालक मोतिबहादुर दुरा, अटो व्यवसायी मिलन आले, सुनिता आलेमगर, अटो चालक एकदेव थापामगरलाई सम्मान गरिएको छ । यस्तै दुर्घटनामा परि ज्यान गुमाएका यातायात व्यवसायी डाक्टरप्रसाद चौधरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।