विप्लव काफ्ले/कायाकैरन
भरतपुर, २२ फागुन ।
विजय सिंह गोले ६७ वर्षका भए । पदमपुरमा बस्दै आएका उनका दुई छोराछोरी द्वन्द्वकालमा गुमाए । जनयुद्धमा लागेका २० वर्षीय छोरा करुण र १७ वर्षीया छोरी अनुले दोहोरो भीडन्तमा ज्यान गुमाए । “कलिलै उमेरमा छोराछोरी गुमे”, उनले भने, “देशको लागि लड्छौँ भनेर गए, फर्केर आएनन् ।”
उनी १० वर्षदेखि अर्काको घरजग्गा रेखदेख गर्दै आइरहेका छन् । उनका अन्य दुई छोरा ज्यालादारी गरेर घरखर्च चलाउँछन् । “२०५८ सालमा छोरी, ६० सालमा छोरा गुमायौँ”, उनले दुखेसो पोख्दै भने, “देशमा परिवर्तन आयो भन्छन्, हाम्रो घर अझै उस्तै छ ।” उनकी श्रीमती २०६९ सालमा जलविन्दु भएपछि दृष्टिविहीन बनेकी छन् । “गास, बास, कपास पु¥याइदिए हुन्थ्यो”, उनी भन्छन्, “वामपन्थीकै सरकार बनेको सुनेको छु, केही हुन्छ भन्ने आशा छ ।” उनी पटक–पटक सरकार फेरिएपनि जनयुद्धमा ज्यान गुमाएका परिवारलार्ई राज्यले हेर्न नपुगेको गुनासो पोखे ।मकवानपुरबाट बाँदरझुला बसाइ सरेका गोले ५ वर्षपछि नारायणपुर नहरमा घर बनाएर बसे । ऐलानी जग्गामा बसेको भन्दै त्यहाँबाट हट्न अनुरोध गरेपछि उनी पदमपुरमा बस्दै आएका छन् ।
माडी–१, भंगताका केशव क्षेत्री ‘आमा छिट्टै फर्कन्छु’ भन्दै जनयुद्धमा होमिए । तर, उनी २०५६ सालमा ज्यामिरेमा दोहोरो भीडन्तमा ज्यान गुमाए । “बिरामी छोरो उपचार गरेर फर्कन्छु भन्दै गएको थियो, नजाउ भन्दा पनि यहाँ बस्दा डर हुन्छ भन्दै गएको थियो”, आमा हीमा क्षेत्रीले भनिन्, “२÷३ वर्ष त छोरा कहाँ छ केही पत्तै भएन, सबैले सान्त्वना दिन्थे ।” केशवको यसअघि वम विष्फोटमा परेर टाउकोमा गम्भीर चोट लागेकोे थियो । “भएका छोराहरु पनि जागिर खोज्दै विदेशिए, सहारा नै हराएजस्तो लाग्छ”, उनले भनिन्, “गणतन्त्र आयो, देशमा परिवर्तन आयो, तर हाम्रो पीडा सुन्ने केही देखिएन ।” उनले नयाँ सरकार बनेपछि जनयुद्धका घाउमा मल्हम लगाउने आशा रहेको बताउँछिन् ।
लमजुङका राममणि भट्टराईले द्वन्द्वकालमा ज्यान गुमाए । उनका दुई छोरा र एक छोरी छन् । जेठो छोरा नेपाल आर्मीमा कार्यरत छन् भने अर्को छोरा विदेश छन् । “देशमा खुसी ल्याउँछु भन्दै गएका भाइ फर्किएन्, सेनाले मारे”, भरतपुरको अमृतनगरमा बस्दै आएकी दिदी भागिरथा कोइरालाले भनिन्, “सहाराविहीन बनेको परिवारले ठूलै संघर्ष गर्नुप¥यो, सरकारले सामान्य राहत त दियो, तर रोजगारी दिन सकेन ।”
द्वन्द्वकालमा धेरैले अनाहकमा ज्यान गुमाए । कयौं बेपत्ता भए, कयौं घाइते भए । सरकारले आयोग बनाएर न्याय दिलाउने भन्यो, तर काम भएन । तत्कालीन माओवादीको जिल्ला समितिमा रहेर काम गरेका विष्णु दवाडी द्वन्द्वकालमा गम्भीर घाइते भए । त्यही चोटले उनको ज्यान गयो । “जनयुद्ध दिवस भनेर कहिलेकाहीं सम्मान हुन्छ, फेदा लगाइन्छ”, दाजु दयाराम दवाडीले भने, “खादा र सम्मानले मन खुसी बन्दो रहेनछ ।” उनी देशमा शहीदले बगाएको रगतको अवमूल्यन भएको तर्क गर्छन् । “सरकार फेरिन्छन्, आश्वासन फेरिन्छन्”, उनले भने, “जनताले परिवर्तनको अनूभूति गर्न पाएकै छैनन्, शहीद परिवारका पीडा उस्तै छन्, हेर्ने केही छैनन् ।”
नेकपा माओवादी केन्द्रले सोमबार पार्टी कार्यालयमा जनयुद्धमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारका सदस्यलार्ई सम्मान गरेको छ । शहीद सप्ताहको अवसर पारेर उनीहरुलार्ई पार्टीले सम्झेको छ । यस्तै विप्लव र वैद्य नेतृत्वको पार्टीले पनि संयुक्तरुपमा केही दिन पहिले सम्मान गरेका थिए । सोमबार आयोजित कार्यक्रममा प्रदेश सांसद् माओवादी केन्द्रका घनश्याम दाहालले समाजवादी क्रान्ति पूरा गर्न माओवादी र एमाले एकताको अन्तिम चरणमा पुगेको बताए । “४ कम्युनिष्ट पार्टी एकताबाटै जनयुद्ध सुरु भएको थियो”, उनले भने, “समाजवादी क्रान्ति ल्याउन दुई पार्टी एकता हुन लागेको छ, जनयुद्धका पीडामा अब मल्हम लगाउने काम हुनेछ । सो कार्यक्रममा प्रदेश सांसद् कञ्चन खनाल, रामलाल महतो, जिल्ला इञ्चार्ज इश्वरी भट्टराई, बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।