विनोदबाबु रिजाल
चितवन, १९ फागुन ।
१३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै एपीएफले शिल्ड उचालेको हो । गत भदौमा पहिलो जेसीज कपमा फाइनल हारेकै मैदानमा एपीएफले यो सिजनको पहिलो उपाधि जित्यो । यसअघि ४ फाइनल खेलेर पनि एपीएफले एउटा उपाधि पनि जित्न सकेको थिएन ।
नारायणगढको क्याम्पाचौरमा भएको फाइनल खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखियो । चौथो मिनेटमा विकु लामाले डीबक्सभित्र श्याम नेपालीबाट पाएको लामो क्रसलाई गोलमा परिणत गरे । त्यसपछि पनि लगातार अवसर सिर्जना गरेको एपीएफले गोल भने गर्न सकेन । निर्णायक गोलकर्ता विकु नै फाइनल खेलको म्यान अफ दी म्याच बने । उनले १० हजार नगद पुरस्कार पाए ।
थ्रीस्टारले पनि पहिलो हाफमा धेरै उत्कृष्ट मुभ बनाएको थियो । १६ औं मिनेटमा विष्णु गुरुङ र १९ औं मिनेटमा सुनिल बलको सशक्त प्रहार क्रसबारमा ठेकिएर फर्किनु नै थ्रीस्टारका लागि दुर्भाग्य सावित भयो । १८ औं मिनेटमा निराजन खड्काले पनि वान भर्सेस वानमा गरेको प्रहार गोल हुन सकेन । २५ औं मिनेटमा एपीएफका रुपबहादुर लामाको सशक्त प्रहार थ्रीस्टारको गोलरक्षक एलेन न्यौपानेले रोके ।
दोस्रो हाफमा फेरि एपीएफ खेलमा हावी भयो । थ्रीस्टारले राम्रा मुभ बनाउनै सकेन ।
जितसँगै एपीएफले विकास रनिङ शिल्ड र ५ लाख रुपैयाँ नगद पुरस्कार हात पा¥यो । दोस्रो भएको थ्रीस्टारले साढे २ लाख पाएको छ । उत्कृष्ट खेलाडी बनेका एपीएफका डिफेन्डर रमेश दंगालले ५० हजार नगद पुरस्कार पाए । फेयर प्लेको उपाधि नारायणगढ फुटबल क्लबले जित्यो । विजेता सबैलाई प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पुरस्कार बाँडे ।
जितप्रति एपीएफका प्रशिक्षक रत्नकाजी महर्जन निकै खुसी देखिए । “मेरा केटाहरुले सोचेभन्दा राम्रो खेले”, उनले भने, “सुरुदेखि निकै राम्रो मुभ बनाउँदै बलियो थ्रीस्टारलाई पूरै दबाबमा राख्यो ।” थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीहरुले सक्नेभन्दा ५० प्रतिशत कम खेलेको बताए । “थ्रीस्टारको खेल यो स्तरको होइन”, उनले भने, “केटाहरुले ५० प्रतिशतमात्रै खेले ।
प्रतियोगितामा १२ टिम सहभागी थिए । आयोजक विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले आगामी दिनमा पनि यो प्रतियोगितालाई परिमार्जनसहित निरन्तरता दिने बताए ।