विनोदबाबु रिजाल
चितवन, १७ फागुन ।
‘ए’ डिभिजन क्बल रुस्लान थ्रीस्टार चितवनको नारायणगढमा जारी १३ औं विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । केही महिनाअघि उही मैदानमा जेसीज कप उचालेको मनाङ राष्ट्रिय खेलाडीका साथ योपालि रनिङ शिल्ड उचाल्ने दाउमा थियो । तर, उपाधि उचाल्ने अभियानमा थ्रीस्टारले अवरोध सिर्जना गरेको छ ।
निर्धारित समयमा १–१ गोल भएपछि गरिएको टाई–ब्रेकरमा दुवै टिमबाट ३–३ गोल भयो । त्यसपछि सडन डेथमा थ्रीस्टार ४–३ ले विजयी भयो । ८–८ जनाले प्रहार गरेको पेनाल्टी सुटआउटमा थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले ३ प्रहार रोके । म्यान अफ दी म्याच बनेका उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
टाई–ब्रेकरमा थ्रीस्टारका निरज बस्नेत, सुनिल बल र गोलरक्षक एलेन न्यौपानेले गोल हाने । तर, कप्तान निराजन खड्काको बल क्रस बारभन्दा निकै माथिबाट बाहिरियो भने स्ट्राइकर बुद्ध चेमचोङको कडा प्रहार क्रसबारमा ठोकियो ।
मनाङका तर्फबाट अनिल गुरुङ, हेमन गुरुङ र विमल बस्नेतको प्रहार गोलमा परिणत हुँदा सुजल श्रेष्ठको बल पोष्ट बाहिर गयो भने विमल रानाको बल थ्रीस्टारका गोलरक्षक न्यौपानेले बचाए ।
टाई–ब्रेकरको ५–५ प्रहारमा ३–३ गोल भएपछि सडन डेथमा थ्रीस्टारका पिटर सेगुन र अजयी मार्टिनको बल मनाङका गोलरक्षक विशाल श्रेष्ठले रोके पनि विष्णु सुनुवारले गोल गरे । तर, मनाङका गौरव बुढाथोकी र विराज महर्जनको बल गोलरक्षक एलेन न्यौपानेले रोक्दा विशाल राईको प्रहार पनि क्रस बारमा ठोकियो ।
जितसँगै थ्रीस्टारले फागुन १९ गते हुने सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगको उपाधि भिडन्त पक्का गरेको छ । जित्ने टिमले ५ लाख नगदसहित रनिङ शिल्ड पाउने छ । उपविजेताले साढे २ लाख रुपैयाँ पुरस्कार पाउनेछ । एपीएफ यसअघि बुधबार फ्रेण्ड्स क्लब ललितपुरलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको हो ।