लेखराम सापकोटा
चितवन, १६ फागुन ।
सिरियामा भैरहेको अमानवीय नरसंहारको विरोधमा चितवनका कविहरुले ऐक्यबद्धता जनाउँदै कविता वाचन गरेका छन् । युद्धको विरोधमा कवितामार्फत शान्तिको कामना गर्दै दुई दर्जन कविहरुले सिरियामा जारी युद्धलाई सम्बोधन गरी लेखिएका कविता सुनाए ।
संयुक्त राष्ट्रसंघको युद्धविरामलाई पनि अवज्ञा गर्दै सिरिया सरकारले रुसी सेनाको समर्थनमा पछिल्ला दिनहरुमा भीषण बमबारी गर्दा बालबालिकासहित कैयौंले ज्यान गुमाइरहेका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोले जो कोही पनि भावबिह्वल हुन्छन्, सिरियाको अवस्था देख्दा मानवीय संवेदना गुमिसकेको भान हुन्छ, कवि भूपिनले भने– सिरियाको गृहयुद्ध रोकियोस्, निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु नपरोस् भन्नका खातिर विरोधस्वरुप कार्यक्रमको आयोजना गरिएको बताए ।
चितवनमा यस्ताखाले कार्यक्रम यसअघि पनि आयोजना गरिएका थिए । जनआन्दोलन, भारतीय नाकाबन्दी, डा. गोविन्द केसीको समर्थनमा पनि चितवनमा विरोधस्वरुप यस्ताखाले सांकेतिक कार्यक्रम भैसकेका छन् । सांकेतिक रूपमा गरिएका यी खाले कार्यक्रमले समस्या समाधानमा विशेष अर्थ राख्ने कवि गोविन्दराज बिनोदीले बताए ।
कार्यक्रममा कवि विजय विश्वकर्माले ‘जिहाद’ शिर्षकको लामो कविता सुनाए ।
हे ईश्वर
म वस मान्छे हुन चाहन्छु
मान्छे भएर बाँच्न चाहन्छु
माफ गर,
तिम्रो अस्तित्व अस्विकार गर्न म मजबुर छु
माफ गर
तिम्रो धर्मले मलाई युद्ध सिवाय अरु केही दिन सकेन ।
सिरियामा सुन्नी र सिया समुदायको लडाइँलाई सम्बोधन गरी लेखिएको यो कविताले सबैलाई मन्त्रमुग्ध बनायो । कवि मन भएका इन्स्पेक्टर गणेश पौडेल, इन्द्र रेग्मी, राजेन्द्र घायल, उदास कार्की, प्रभाकर पण्डित, नवीन नुतन, धनराज गिरी, लक्ष्मण श्रेष्ठ, खनाल रेवतीरमण, उजिर मगर, लकास पौडेल, रन्जना लिम्बु, सचित्रा बम, पुष्प अधिकारी अञ्जलि, माइलादाइ न्यौपाने लगायतका स्रस्टाले वाचन गरेका कविताले युद्धविरामको माग राखेका थिए । केही स्रस्टाले गीती लयमा सिरिया, रुस र अमेरिकामाथि व्यंग्य गरिएका कविता पनि वाचन गरे ।
कार्यक्रमको फेसबुक लाइभ हेर्दै बाहिरबाट पनि कार्यक्रममाथि ऐक्यबद्धता जनाउँदै केही कविहरुले पठाएका कवितालाई कवि भूपिन, लेखराम सापकोटा र बालकृष्ण थपलियाले वाचन गरेका थिए । कार्यक्रममा पाका कवि प्रेमविनोद नन्दन, तितेपाती, सरोज पाठक सुमन, अमृता रामदाम, एलबी क्षेत्री लगायतले पनि कविता सुनाए । सिरिया आन्दोलनको विरोधममा नेपालमा पहिलोपटक कविता वाचन चितवनमा गरिएको हो । नेपालका विभिन्न जिल्लामा सिरिया गृहयुद्दको विरोधस्वरुप कविहरुले दीप प्रज्वलन सँगै कविता वाचन राख्ने तयारी गरिरहेका छन् । छिमेकी मुलुक भारतका नेपाली भाषी कविहरुले पनि यस्तै कार्यक्रमको तयारी गरिरहेको अक्षर समूहका अध्यक्ष ईश्वर कँडेलले बताए ।