विनोदबाबु रिजाल
चितवन, ९ फागुन ।
एन्फा एकेडेमीको यु–१९ टोलीलाई पराजित गर्दै नारायणगढ फुटबल क्लब (एनएफसी) नारायणगढको क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा ५–४ को जित निकाल्दै एनएफसीले अन्तिम ८ को यात्रा तय गरेको हो । निर्धारित समयको खेलमा कुनैपनि गोल हुन नसकेपछि गरिएको टाई–ब्रेकरमा दुवै टिमले समान ३ गोल गरेपछि खेलले सडेनडेथको दिशा लिएको थियो ।
टाईब्रेकरमा २ गोलले अघि रहेको बेला एन्फाका सञ्जीव अर्याल र रोशन रानामगरले लगातारको प्रहार मिस गरे । तर, नारायणगढका राजेश परियारले सुन्दर गोल गरेपछि खेल ३–३ को बराबरीमा पुग्यो । त्यसअघि एन्फाका पदम भट्टराई, रोशन दोङ र असिम गुरुङले लगातार गोल गरेका थिए । नारायणगढका सुदन महतो र पुकार आलेले गोल गरेपनि सविन विडारी र अमृत श्रेष्ठको प्रहार गोल हुन सकेन ।
त्यसपछि सडन डेथमा नारायणगढका यदु सिलवालले हानेको गोललाई एन्फाका अशोक किङरिङले बराबरी गरे । तर, त्यसपछि नारायणगढका कप्तान कुशल श्रेष्ठले गोल गरेपनि एन्फाका अञ्जल महर्जनले गोल गर्न नसकेपछि एन्फाले खेल गुमायो ।
खेल अवधिभर सुन्दर बचाउ गरेका एन्फाका गोलकिपर विशाल सुनार म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्वखेलाडी तथा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले १० हजार पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा बिहीबार विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र चितवनको अर्को टोली भरतपुर फुटबल क्लब (बीएफसी)बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कूल १२ टिमको सहभागिता छ ।
चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । दर्शकको सहजताको लागि मैदानमा प्याराफिटको व्यवस्था गरिएको छ ।