हेम रोकाहा
जेठ ८,
कसरा/२० वर्ष देखि संकलन गरेर राखिएको दुर्लभ वन्यजन्तुहरुको अखेटोपहार (वन्यजन्तुको अवशेष) लाई आज चितवन राष्ट्रिय निकुञ्ज कसराको परिसरमा जलाएर नष्ट गरिएको छ । प्राकृतिक रुपमा मृत्युभएका तथा चोरी शिकारी गरी अवैध रुपमा व्यापारको लागि लैजाने क्रममा जफत गरिएका अखेटोपहारलाई आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर नष्ट गरिएको हो ।
अखेटोपहार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकासशरण महतले दागबत्ती दिएर जलाए । वन्यजन्तुको चोरी शिकारी एवं अबैध व्यपारलाई निरुत्साहित पार्ने अपेक्षाका साथ अखेटोपहार नष्ट गरिएको हो ।
यसअघि २०५४ साल चैत ९ गते पनि नपालले अखेटोपहार जलाएर नष्ट गरेको थियो । गत २०७० साल साउन १४ गतेको प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय बाघ संरक्षण समितिको चौँथो बैठकले भण्डारण गरिएका आखेटोपहारलाई कार्यविधि बनाएर नष्ट गर्ने प्रक्रियामा लैजाने निर्णय गरिएको अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजक मन बहादुर खड्काले बताए । त्यसपछि २०७४ साल जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले पनि अखेटोपहार नष्ट गर्ने निर्णय गरेको थियो ।
सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौलीमा रहेका १ हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्ज कसरामा भण्डारण गरिएका २ हजार २७३ थान गरी ४ हजार १२ थान अखेटोपहार नष्ट गरिएको हो । जसमा बाघको छाला ६७ थान, गैंडाको खाग ३५७ थान, हात्तीको पुच्छरको रौँ ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला २ थान, हिउँ चितुवाको छाला १ थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा २ पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ लगायतका अखेटोपहार नष्ट गरिएको हो । अखेटोपहार व्यवस्थापन कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री महत, बन तथा भू संरक्षण मन्त्री शंकर भण्डारी, नेपालका लागि अमेरिकी राजदुत एलेइना बी टेपलीजलगायतको सहभागीता रहेको थियो ।