देवचुली (नवलपुर), ८ फागुन
कविताका हरफहरुमा ‘एमबी दाइ’ भनेर परिचित मानबहादुर खड्का पहिलोपटक एकल कविता वाचनमा उभिएका छन् । सिर्जन साहित्य प्रतिष्ठान नवलपुरको आयोजनामा दलदलेस्थित होटेल हातेमालो इनको हलमा प्रस्तुत भएका खड्काले एक दर्जन कविता सुनाए ।
‘आमा तिम्रो सम्झनामा’ कविताबाट वाचन सुरु गरेका खड्काले पहिलो चरणमा ‘म प्रेम गर्छु’, ‘डाँडाको लाकुरी’ र ‘बालाई चिठी’ शीर्षकका कविता सुनाए । त्यसपछिको लहरमा ‘ब्वाँसा र कुकुरहरू’, ‘आमाजस्ती दिदी’, ‘भन तिमी के गर्छौ ?’, ‘पीडाका बाकसहरु’, ‘प्रेमपत्र’ शीर्षकका कविता सुनाए ।
प्रतिष्ठानको नियमित कार्यक्रमअन्तर्गत राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार दिउँसो आयोजना गरिएको कार्यक्रममा उपस्थित कविता पारखीले खड्काका कविताको भरपुर आनन्द लिए ।
विज्ञानका विद्यार्थी खड्का देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत हुन् । दोलखा घर भएका कुशल प्रशासक खड्काले प्रेम, मातृस्नेह, राजनीति, दर्शन, समसामयिकतालगायत विविध आयाममा लेखिएका कविता सुनाए । कविता लेखन क्षमता भएपनि डायरीमा मात्र सीमित उनको काव्यिक क्षमता देखेर एकल कविता वाचन आयोजना गरिएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा कला पत्रकार लेखराम सापकोटाले कवि खड्काको ‘उडान जिन्दगीको’ कविता वाचन गरेका थिए । स्रस्टाहरु दीपक सोती, सञ्जय भट्टराई, दुर्गा भुसाल र गंगा लामिछानेले पनि कार्यक्रमको बीच–बीचमा कवि खड्काको सम्मान स्वरुप आ–आफ्ना रचना सुनाए । कार्यक्रममा सदानन्द जैसी, कृष्णादेवी शर्मा, सरोज उजाड, टीका सापकोटा, दीपक भट्टराई, आदर्श सुशील, अर्जुन अविरललगायत सहभागी थिए ।