भरतपुर, ८ फागुन ।
चितवनका सञ्जीव बस्यालको पहिलो कृति ‘क्याफे सिड्नी’ प्रकाशनमा आएको छ । बुलबुल पव्लिेकसनले बजारमा ल्याएको उपन्यास क्याफे सिड्नीको सोमबार एक कार्यक्रमका बीच नारायणगढमा विमोचन गरिएको हो । कुनै पनि नयाँ कृति काठमाडौँमा विमोचन गरिने परम्परा तोडेर क्याफे सिड्नीको विमोचन चितवनमा गरिएको हो । विमोचन कार्यक्रममा साहित्यकार एलवी क्षेत्री, अमर न्यौपाने, पव्लिकेसनका अच्यूत घिमिरे, सञ्चारकर्मी रमेश पाण्डे, डा. जीवन क्षेत्रीले संयुक्त रुपमा विमोचन गरेका थिए ।
माडी–५ राधापुरमा जन्मेका सञ्जीवले १० कक्षासम्मको पढाइ माडी माविबाट गरेका थिए । उनले ११, १२ प्रेरणाबाट विज्ञान संकायमा उत्तीर्ण गरेका थिए । उनले सिए पढेलगत्तै हाल बिए अध्ययनरत छन् । उनी विएसपिएन एशोसियट चार्टर एकाउण्टमा काम गर्छन् । “६ वर्ष अघि ड्राफ्ट तयार भएर गर्भमै दबिसकेको उपन्यास हो”, उपन्यासकार सञ्जीव बस्यालले भने, “साथीहरुकै आग्रहमा उपन्यास प्रकाशनमा ल्याएको हुँ ।” उनले सानैमा केही गजल, कविता लेखे पनि कतै सार्वजनिक भने गरेनन् । “भित्रभित्रै लेख्थेँ, तर आँफै दबाउँथे, कहिल्यै सार्वजनिक गर्ने सोचनै आएन”, उनले भने, “क्यानभासमा मेरो प्रेम नामको ड्राफ्टलाई क्याफे सिड्नी बनाएँ ।” उनले यो उपन्यास पाठकले रुचाउने अपेक्षा गरेका छन् । “आगामी दिन साहित्यमा लम्कन यो मेरो पहिलो प्रयास हो”, उनले भने, “सुझाव र प्रेरणा पाउने आशमा छु ।” बुलबुल पव्लिकेसनका सञ्चालक तथा सञ्चारकर्मी अच्यूत घिमिरे क्याफे सिड्नी विशुद्ध प्रेम कथामा आधरित उपन्यास भएको बताउँछन् । राजधानी पछि पुस्तकको ठूलो बजार चितवन भएकाले पाठकहरुको चाहनालाई मध्यनजर गर्दै बुलबुल प्रकाशनबाट प्रकाशित क्याफे सिड्नीलाई पहिलो पटक चितवनमा ल्याएर विमोचन गरिएको उनले जानकारी दिए ।
“उपन्यासका मुख्यपात्र सुयोग र सन्ध्या आँफै हुँ जस्तो लाग्छ”, उनले भने, “सबैको आफ्नो कथा समेटिएको आभाष हुन्छ ।” उनले चार्टर एकाउण्टेण्ट र नर्सिङ पेशामा आवद्ध रहेकालाईसमेत कथाले प्रतिनिधित्व गरेको बताए । बुटबलका सञ्चारकर्मी रमेश पाण्डेले उपन्यासको उत्कर्ष निकै राम्रो रहेको बताउँछन् । “यो सामान्य प्रेम कथा हो”, उनले भने, “नयाँ लेखकले लेखे पनि उपन्यास पुराना लेखकले लेखेभन्दा उत्कृष्ट छ ।” उनले क्याफे सिड्नी प्रेम उत्सव मनाउँदा विशेष उपहार बन्न सक्ने बताउँछन् । “उपन्यास एकै बसाइमा पढ्न मन लाग्छ”, उनले भने, “उपन्यास सकिए पनि ती पात्र के भएहोलान् भन्ने जिज्ञासा उत्पन्न हुन्छ ।”
प्रमुख अतिथि रहेका साहित्यकार एलवी क्षेत्रीले क्याफे सिड्नी उपन्यासले आँफूलाई प्रेम कथामा आधरित उपन्यास लेख्न प्रेरणा मिलेको बताउँछन् । “मलाइ पनि यस कृतिबाट प्रेरणा मिलेको छ, प्रेमिल आख्यान पढ्ने पाठकका लागि उत्कृष्ट कृति बजारमा आएको छ,” उनले भने । कार्यक्रममा बोल्दै साहित्यकार अमर न्यौपाननले पठन संस्कृति बढाउन क्याफे सिड्नीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । “क्याफे सिड्नी पढेको छैन, तर चर्चा निकै पाएको छ”, उनले भने, “पहिलो कृति भएपनि सफल हुने विश्वास छ ।” उनले प्रत्येक घरघरमा सानासानो पुस्तकालय बनाएर पठनसंस्कृति बढाउनुपर्ने बेला आएको बताए । क्याफे सिड्नी २ सय ५३ पृष्ठको छ । यसको बजार मूल्य ३ सय रुपैयाँ रहेको छ ।