भरतपुर, ७ फागुन ।
चितवनको भेटेरान फुटबल टोलीले काठमाडौंमा भएको जावलाखेल भेटेरान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबारको फाइनल खेलमा फ्रेण्ड्स क्लब भेटेरान ललितपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै चितवनको टोलीले उपाधि उचालेको हो ।
फाइनलमा चितवनका दीपक कार्कीले ह्याट्रिक गरे । पहिलो हाफमा २ गोल गरेका उनले दोस्रो हाफमा फेरि अर्को गोल थपे । विपक्षी टिमबाट कुनै गोल हुन सकेन । उपाधिसँगै चितवनको टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । दोस्रो भएको फ्रेण्ड्सले ५० हजारमा चित्त बुझायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीतर्फबाट अधिकांश ट्रफी चितवनकै खेलाडीले जिते । म्यान अफ दी सिरिज चितवनका यमबहादुर कार्की बने । उनले १० हजार नगदसहित ट्रफी उचाले । फाइनल म्याचका दीपक कार्की उच्च गोलकर्ता बने । कूल ७ गोल गरेका उनले ५ हजार रुपैयाँ पाए । फाइनल म्याचका म्यान अफ दी म्याच भने महेन्द्र खवास घोषित भए ।
उनले ५ हजार पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक पनि चितवनकै छन्नुराम चौधरी भए । चितवनका टिम क्याप्टेनसमेत रहेका गोलरक्षक चौधरीले पनि ५ हजार पुरस्कार पाए । गत शुक्रबारदेखि काठमाडौंको जावलाखेलमा गरिएको प्रतियोगितामा १८ टिम सहभागी थिए । प्रतियोगिता जावलाखेल क्लबले आयोजना गरेको हो ।