भरतपुर, ७ फागुन ।
भरतपुरमा भएको प्रथम मेयर कप पुरुष भलिबलको उपाधि चुल्हो रेष्टुरेण्ट नारायणगढले जितेको छ । सोमबार भएको फाइनल भिडन्तमा चितवन नीलोलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
च्याम्पियन ट्रफीसँगै चुल्होले १ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । दोस्रो हुने चितवन नीलोले ५० हजार नगद र ट्रफी पाएको छ । चुल्होले २५–१८, २५–१९, १९–२५ र २५–१९ को सेटमा जित निकालेको हो ।
त्यस्तै भरतपुरको दी फेमस महेन्द्र दल गणले तेस्रो स्थान हात पा¥यो । युवा संघ नेपाल भरतपुर–१९ लाई २–० को सेटमा पराजित गर्दै दी फेमसले २५ हजार नगद र ट्रफी उचाल्यो । सान्त्वना स्थान हात पारेको युवा संघले १० हजार पुरस्कार पायो ।
प्रतियोगितामा बेस्ट प्लेयर घोषित चुल्होका घनश्याम महतो, बेस्ट स्पाइकर घोषित चितवन नीलोका सन्तोष बस्नेत, बेस्ट डिफेन्डर चितवन नीलोकै हेमन्त चौधरी, बेस्ट सेटर दी फेमसका भेसन गैरे र बेस्ट ब्लकर युवा संघका नवीन महतोलाई जनही २ हजार र ट्रफी प्रदान गरिएको कार्यक्रम संयोजक रिपेन्द्र थापाले जानकारी दिए ।
कृष्णपुर खेलकुद विकास समितिको आयोजनामा गरिएको प्रतियोगितामा २० टिम सहभागी थिए । कार्यक्रमको समापन समितिका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षता तथा समाजसेवी राजेन्द्रमणि खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि खनाललगायतले विजयी सबैलाई पुरस्कार तथा ट्रफी प्रदान गरे ।