भरतपुर, ५ फागुन ।
भरतपुरमा जारी राइट एण्ड एशोसिएट अन्तर विद्यालय यु–१४ फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा सनराइज बोर्डिङ र स्मल हेभन बोर्डिङ विजयी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा भएको पहिलो खेलमा सनराइजले आदर्श पब्लिकलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । सनराईजका लागि सशांक दुराले पहिलो हाफको छैटौं र २३ औं मिनेटमा गरी २ गोल गरे भने पुरुषोत्तम शराफले पहिलो हाफको २४ औं तथा निशान्त श्रेष्ठले दोस्रो हाफको १८ औं मिनटमा १–१ गोल गरे । आदर्शका लागि सुमित तिवारीले २ गोल गरेपनि टोलीको हार भने टार्न सकेनन् ।
यस्तै शनिबारकै अर्को खेलमा स्मल हेभनले जनप्रिय स्कूललाई १–० गोलले पराजित गरेको हो । स्मल हेभनका लागि क्रिश गुरुङले दोस्रो हाफको पहिलो मिनेटमा निर्णायक गोल गरे । प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा वाल्मीकि विद्यामन्दिरले शान्ति विद्याको तथा दोस्रो खेलमा स्मल हेभनले स्टेप बाई स्टेप बोर्डिङको सामना गर्ने मिडिया संयोजक कृष्ण कार्कीले जानकारी दिए ।
जिल्ला फुटबल संघको मुख्य आयोजना तथा यात्रा ग्रुप भरतपुर र भरतपुर फुटबल क्लबको सहआयोजनामा जारी प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।