भरतपुर, ३ फागुन ।
भरतपुरमा बिहीबारबाट सुरु भएको राइट एण्ड एशोसिएट अन्तरविद्यालय यु–१४ फुटबल प्रतियोगितामा वाल्मीकि शिक्षा सदन र डन एकेडेमीले विजयी सुरुआत गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा भएको उद्घाटन खेलमा वाल्मीकिले ब्लुबर्ड एकेडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलमा पहिले अग्रता भने ब्लुबर्डले लिएको थियो । तर, सुरुआती अग्रता जोगाउन नसक्दा वाल्मीकिसँग स्तब्ध बन्यो । वाल्मीकिका लागि सार्थक निरौलाले २ तथा देव दुरा, साजन भुषाल र हिमांसु थापाले समान १–१ गोल गरे । ब्लुबर्डका लागि सान्त्वना गोल विशाल तामाङले फर्काए ।
यस्तै बिहीबारै सम्पन्न दोस्रो खेलमा नारायणी पब्लिक स्कूललाई सडन डेथमा पराजित गर्दै डन एकेडेमीले विजयी सुरुआत गरेको छ । निर्धारित समयमा दुबैतर्फबाट १–१ गोल भएको थियो । खेलमा नारायणी पब्लिकले उपहार गोल पाएको थियो भने डन एकेडेमीका लागि क्रितेश न्यौपानेले १ गोल गरेका थिए ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । तर, टाइब्रेकरमा पनि दुवै तर्फबाट ४–४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको प्रतियोगिताका मिडिया संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । शुक्रबारको पहिलो खेलमा प्रेरणा बोर्डिङ र गुरुकुल स्कूल तथा दोस्रो खेलमा सिर्जना स्कूल र सनफ्लावर बोर्डिङ भिड्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारी गोलकिपर बसेर र विशिष्ट अतिथि प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले पेनाल्टी प्रहार गरेर उद्द्घाटन गरिएको थियो ।
चितवन जिल्ला फुटबल संघको मुख्य आयोजना तथा यात्रा ग्रुप भरतपुर र भरतपुर फुटबल क्लबको सहआयोजनामा सुरु भएको प्रतियोगिता आगामी फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा चितवनका विभिन्न १४ विद्यालयका यु–१४ फुटबल टिम सहभागी छन् । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै म्यान अफ दी सिरिज, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।