विनोदबाबु रिजाल
भरतपुर, २ फागुन ।
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुको अन्तिम खेलमा अन्तिम क्रममा आएका बलर कम ब्याट्सम्यान करण केसीले अपत्यारिलो लाग्ने ब्याटिङ गरेपछि नेपाल क्यानडालाई पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको छ ।
एक दिवसीय विश्वकप छनोट खेल्नका लागि जित्नैपर्ने दबाबमा रहेको नेपालका लागि एक समय पूरै गुमेको खेल करणले नै जोगाए । ४२.१ ओभरमा १४४ रन बनाएको अवस्थामा आरिफ शेख आउट भएपछि क्रिजमा आएका करणले ४ छक्का र ३ चौका मद्दतले ४२ रन बनाएपछि १९५ रनको विजय लक्ष्य पार गराए । उनलाई अन्तिम समयसम्म साथ दिएका सन्दीप लामिछानेले धेरै रन त जोडेनन् । तर, करणलाई खुलेर खेल्न पर्याप्त वातावरण मिलाइदिए । राम्रो साझेदारी दिएका सन्दीपले भने जम्मा ५ रन बनाए ।
यसअघि २१ ओभरमा ३ विकेट गुमाएर ७२ रनको अवस्थामा रहेको नेपाली टिम त्यसपछि लगातार धरमराएको थियो । ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत स्कोर ९ रन बनाएर आउट हुँदा नेपालको रन २२ मात्रै थियो । अघिल्ला ३ खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि चौथोमा हटाएर यो खेलमा फेरि ल्याइएका अर्का ओपनर दिलीप नाथले नेपालको इनिङ माथि उठाउन केही योगदान गरे । उनले प्रतियोगिताकै राम्रो प्रदर्शन गर्ने क्रममा ५ चौका मद्दतले ४१ रन बनाए । दोस्रो विकेटका रुपमा पारस खड्का पहिलो बलमै गोल्डेन डक भएपछि नेपाली ब्याट्सम्यानले सम्हालिएर खेल्न सकेनन् ।
रोहित पौडेल र आरिफ शेखले राम्रो साझेदारी गरेर टिमलाई केही माथि उठाएपनि रोहित आउट भएपछि लगातार अरु विकेट पनि झ¥यो । तर, १४४ को अवस्थाबाट पारीको जिम्मा लिएका करणले चमत्कार लाग्ने सट मारे । उनले अन्तिम ३ ओभरमा मात्रै ३ छक्का र २ चौका हानेका छन् ।
अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो र क्रिजमा करण थिए । लगातार चार बल उनले रन जोड्न सकेनन् । तर, पाँचौं बल छक्का हान्दै जितको आश जगाए । अर्को बल वाइड भएसँगै नेपालको खातामा एक रन थपियो र दुवै टिमको स्कोर ड्र भयो । अब अन्तिम बलमा मात्र एन रन चाहियो, जुन करणले सहजै पूरा गरे र नेपालाई विश्वकप छनोटमा पु¥याए ।
जिम्बावेको टिकट पक्का गर्न १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई त्यसबेला झड्का लाग्यो, जब पानीले खेल रोकियो । खराव सुरुवातका बाबजुद त्यसबेला नेपालले ३४ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो । रोहितकुमार पौडेल र आरिफ शेख क्रिजमा जमेका थिए । तर, केहीबेर पानीले खेल रोकियो । पानी रोकिएपछि सुरु भएको खेलमा नेपालले लगातार विकेट गुमायो । नेपालले २९ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर, करणले सनसनीपूर्ण जित दिलाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनाएको थियो । उसको सुरुआत समान्य रह्यो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।
तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो । तर, लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।
अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पूरा गरे । उनी १०३ रनमा नटआउट रहे ।
नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।