विनोदबाबु रिजाल
हाम्रो मित्रता केही समयदेखि झाँगिएको छ । मलाई यो जोडी निकै मन पर्छ । उनीहरुले घुमेको, रमाएको, ‘इञ्जोय’ गरेको औधी मन पर्छ । केही पहिलेदेखि नै मलाई यो जोडीको भित्री कुरा जान्न मन थियो । अर्थात मायाका कुरा, साथका कुरा, विश्वासका कुरा थाहा पाउन मन थियो । केही प्रयास गरें पनि । तर, खै के नमिलेको हो सम्भव भएको थिएन । यसपालि सम्भव भयो । उनीहरु गफिन तयार भए ।
भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख डा. प्रमोद लामिछाने र प्रबन्ध निर्देशक डा. बीएम –विष्णुमाया)खरेल दुवै भेटिए उनीहरुको कार्यकक्षमा । प्रणय दिवसको छेको पारेर मैले उनीहरुको व्यवसायको कुरा, तनावको कुरा, असन्तुष्टिको कुरा होइन, मयााकै कुरा गर्न खोजेको थिएँ । “मायालाई कसरी हेर्नुहुन्छ ?” मैले मेरो विषयबारे झ्याप्पै आक्रमण गरें । “ओहो ! यो त गाह्रो कुरा, हामी चिकित्सा क्षेत्रको मान्छे यस्तो जवाफ कसरी दिनु ?”, उनीहरुले एकै स्वरमा भने ।
हुन पनि हो, यो त अन्तरवार्ताको प्राचीन प्रश्न भयो । मलाई याद छ, कयौंपटक सामान्य मान्छेलाई कसैको सफलताको बखान गरेपछि फलानोलाई के भन्नुहुन्छ भनी सोध्दा ‘म ज्वाइँ भन्छु’ वा ‘म काका भन्छु’ भन्ने जवाफ आएको ।
मैले स्थिति नियन्त्रणमा लिन मसिना विषयबाटै प्रवेश गरें ।
भेट हुनुअघिको कुरा
प्रमोदको घर लमजुङ हो । तनहुँ र लमजुङमा विद्यालय शिक्षा र काठमाडौंबाट दश जोड दुई सकेपछि सरकारी छात्रवृत्तिमा भरतपुर मेडिकल कलेजबाट उनले एमबीबीएस सके । त्यसलगत्तै अपाङ्ग बाल अस्पताल बनेपामा सेवा गर्ने मौका पाए । त्यहाँ एक वर्ष काम गरेपछि काठमाडौं युनिभर्सिटीमा थप अध्ययनका लागि आवेदन गर्न पाउने रहेछ । एमबीबीएस सकेको १ वर्षभित्रै उनले एमडी सुरु गर्न पाए । बीएन्डबी हस्पिटल र अपाङ्ग बाल अस्पताल उनको अध्ययन क्षेत्र बन्यो । अर्थोपेडिक अर्थात हाडजोर्नी उनको विषय हो । उनले १० वर्षको अवधिमा एमबीबीएस सके ।
विष्णुमाया काठमाडौंमा जन्मिइन् । काठमाडौंमा पढिन् । पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबाट बीडीएस (ब्याचलर्स इन डेन्टल साइन्स) गरिन् । त्यसपछि मास्टर्स इन हस्पिटल म्यानेजमेन्ट सिक्किम मणिपाल युनिभर्सिटीबाट सकिन् ।
पहिलो भेट
अपाङ्ग बाल अस्पतालमा काम गरिरहँदा प्रमोदलाई कसैले विहे गर्ने अफर गरे । त्यहीं विष्णुमायाका मामा–माइजू पनि काम गर्थे । उनीहरुले पनि कुरा ल्याए । उनीहरुले केही वर्षदेखि प्रमोदको बारेमा ‘जासुसी’ गरेका रहेछन् । दुवैमा कुरा पु¥याएछन् । तर, विष्णुमाया विहे गर्न तयार थिइनन् । मामामाइजूकै पहलमा प्रमोदलाई विष्णुमायाको घर लगियो । प्रमोद पूरै तयार थिए । कुरा गर्ने भनेपछि अगाडि बढ्नकै लागि अर्थात विहे हुनेसम्मकै लागि गर्ने भन्ने थियो । बीडीएस सकेर क्लिनिक खोलेकी विष्णुमाया चाइनामा मास्टर्सको लागि प्रयास गरिरहेकी थिइन् । त्यसैले विष्णुमाया ‘औपचारिकता’ का लागि जस्तो भेट्दै थिइन् । अर्थात उनी हतपत विहे गरिहाल्ने ‘मुड’ मा छदै थिइनन् । मामामाइजूले प्रमोदलाई बोलाइसकेका थिए ।
विष्णुमायालाई जानकारी नै थिएन । एक्कासि आउनेबेलामा जानकारी भयो । उनले मामामाइजूलाई भनिन्, “भेट्नलाई भेट्छु, विहे गर्न फोर्स गर्न पाउनुहुन्न ।”
एउटा मैत्रीपूर्ण फुटबल थियो । त्यो ९० मिनेटपनि प्रमोदको लागि लामो भयो । कयौंपटक घडी हेरे । “जानु छ भनेपछि दिमागमै त्यही कुरा खेलिरह्यो”, प्रमोदले भने, “फुटबल खेलिसकेपछि सिधै हानिएँ ।” विष्णुमायाले भेट्नका लागि मात्रै भेटिदिदै छिन् भन्ने प्रमोदलाई थाहै थिएन । स्वयम्भुचोकमा विष्णुमायाकै क्लिनिकमा गफ भयो । तर, विष्णुमायाले सिधै भनिन्, “म विहे गर्ने मुडमा छैन, परिवारले भेट भनेर भेटेको हुँ, म त पढ्ने हो ।”
बाहिर सिमसिम पानी परिरहेको थियो । प्रमोदको मनमा भने खडेरी प¥यो । त्यहीबेला बाइक पञ्चर भयो । विष्णुमायाले नै मर्मत गर्ने ठाउँ देखाइदिइन् । विहे नहुने भएपछि खिन्न मनसँगै बाइकको हावाले पनि दुःख मनायो ।
विहेको प्रसंग
त्यो असारको कुरा थियो । कुरा बिग्रेपछि मंसिरअघि विहेको कुरा भएन । प्रमोदको मनमा अब फेरि विष्णुमायासँग भेट होला भन्ने थिएन । मंसिर लागेपछि अरु कसैसँग कुरा चल्ला, भेट होला, विहे होला भन्ने सोचे र आफ्नै काममा लागे । एक्कासि मंसिरमा फेरि उही कुरा आयो । योबीचमा मामामाइजू सक्रिय नै थिए । अहिले भने विष्णुमाया ‘पोजिटिभ’ भएको कुरा सुनाए । प्रमोद दोस्रो प्रयासका लागि तयार भइहाले ।
असारपछि मंसिरसम्मको बीचमा विष्णुमायाले चाइनाका लागि प्रयास गरिन् । सफल भइनन् । छात्रवृत्तिका लागि चाइनाबाहेक अरु अवसर थिएन । घरबाट त्यही वर्ष विहे गर्नैपर्ने ‘प्रेसर’ आयो । अनेकथरि केटा, अनेकथरि ‘ब्याकग्राउण्ड’ सुनाएर हैरान पारेका थिए । त्यसपछि चिन्दै नचिनेको, बुझ्दै नबुझेको मान्छेसँग विहे गर्नुभन्दा त्यही मान्छे(प्रमोद) लाई ल्याउनु म चेक गर्छु भनिन् । मामामाइजूले धेरै समय सँगै काम गरेको मान्छे ल्याएको कारणले पनि उनमा विश्वास पलायो । अर्थात मामामाइजूमाथि उनको भरोसा भयो ।
दोस्रो भेट भयो । परिवारका सबैजना तुरुन्तै तयार भए । तर, विष्णुमायाको ‘केरकार’ बाँकी थियो । विष्णुमायाले ‘वान–टु–वान’ वार्ता गर्न खोजिन् । बेग्लै कोठामा लगिन् । के कुरा भयो त त्यहाँ ? दुवैजना हाँसे केहीबेर । “चुरोट खानुहुन्छ कि हुन्न भनेर सोधें”, विष्णुमायाले भनिन्, “अनि मेरो फरदर एजुकेसनबारे पनि जान्न खोजें ।”
“मैले विहे गरेकै भोलिपल्ट जाने भएपनि पठाउँछु भनिदिएँ”, प्रमोदले आफूले भनेको सम्झिए । अनि चुरोट ? हाहाहा… उनी हाँसे, “खानेले त खादिनँ भन्छन्, म नखानेले के भनें होला ?” विष्णुमायाले अर्को कुरा पनि सोधिन्, “तपाईं उपाध्याय बाहुनको छोरा, म जैसी । तपाईंलाई ‘प्रब्लम’ हुँदैन ?” प्रमोदले भनिदिए, “कुनै प्रब्लम हुँदैन, ढुक्क बन ।”
त्यसपछि मंसिर १२ गते ‘इन्गेजमेन्ट’ भयो । उनीहरुले सँगै सपिङ गरे । कपडा नापेरै किने । गहना रोजेरै किने । प्रमोद लमजुङबाट काठमाडौं आए । दुलही लिएर गए । त्यो ऐतिहासिक दिन थियो, २०६७ मंसिर २४ गते ।
चितवन बसाइ
सुरुमा विष्णुमायालाई चितवनको एलर्जी थियो । उनी मुखै फोरेर भन्थिन्, “चितवनको ‘च’ र डाक्टरको ‘ड’ मेरो अगाडि नल्याउनू ।” कारण ? उनले भनिन्, “चितवन बस्दा मलाई फाप्दैन थियो । एलर्जी आउने, छालामा समस्या हुने ।” अनि डाक्टर ? “डाक्टरको लाइफ आम मान्छेको भन्दा बेग्लै हुन्छ भनेर । उनीहरु धेरै व्यस्त हुन्छन् र परिवारलाई समय नै दिन्नन् भन्ने थियो ।” तर, लेखेको कुरा मेटिन्न भनेजस्तै उनको जिन्दगी पनि अति व्यस्त डाक्टरसँगै जोडियो र तान्दै चितवन पनि ल्याइदियो ।
बीएण्डबीमा रहँदा प्रमोदले धेरै बाइक एसिडेन्ट देखे । गाडी एसिडेन्टबाट घाइते भएकाहरु पनि धेरै देखे । ती धेरैजसो चितवन र आसपासका देखे । उनले चितवनमै त्यस्ता घाइतेको उपचार गर्नेबारे सोचे । दुईजनाबीच सल्लाह भयो र सहमति पनि जुट्यो । अनि खुल्यो एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर । यसमा धेरै खटिन्छन् उनीहरु । धेरै विपन्नलाई निःशुल्क सेवा गरेका छन् । कसैको दुःख हेरिरहन सक्दैनन् ।
माया के हो त ?
म फेरि मायामा फर्किएँ । उनीहरुले पूरै मागीविहे गरे । विहेअघिको ‘लभिङ रिलेसन’ बारे उति अनुभव छैन उनीहरुमा । तर, विहेपछिको लभमा पोख्त । विहेपछि उनीहरु छुटिएको दिन छैन । “हामी सँगै काम गर्छौं, सँगै खान्छौं, सँगै हिड्छौं”, प्रमोदले भने, “मेरो कुनै सेमिनार, तालिम वा पर्सनल काममा पनि म्याडम सँगै जानुहुन्छ । अहिलेसम्म छुटिएको रेकर्ड छैन ।” त्यसो भए यही हो त माया ? “हो नि ! साथ हो, केयर हो, मुख्य कुरा व्यवहार हो ।
माया भन्ने कुरा देखाउने कुरा होइन, यो त महसुस गराउने हो”, विष्णुमायाले भनिन्, “लभ देखाउन उहाँलाई आउँदैन । तर, महसुस गराउनुहुन्छ । परिवारको केयरिङमा उहाँ ‘पर्फेक्ट हजब्याण्ड’ । “म्याडम पनि पर्फेक्ट वाइफ”, प्रमोदले पनि तारिफ गरे, “आजसम्म म जति जे छु, जे सफलता हात लागेको छ सबै म्याडमकै कारणले भएको हो । उहाँ नभई म हुदिनँ थिएँ ।”
पहिलेको ‘च’ र ‘ड’ प्रतिको धारणा पूरै परिवर्तन भयो विष्णुमायाको ।
“मलाई अहिले यो दुवै फापेको छ । चितवनले हुने एलर्जी पनि अहिले छैन”, उनले भनिन्, “डाक्टरसँग विहे भयो भन्नेमा कुनै पश्चात्ताप अहिले छैन । मलाई राम्रो नै भएको छ ।” उनलाई मीना (खरेल)दिदीले जिस्काउनुहुन्छ, “च र डलाई हेलाहा गर्थिस्, भाग्यले तान्दै यहीं ल्यायो होइन ?”
पहिलो भ्यालेन्टाइन
मंसिर २४ गते विहे भएपछि फागुन २ गते पहिलो भ्यालेन्टाइन नजिकै थियो । विडम्बना के भइदियो भने फेब्रुअरी १४ मा भ्यालेन्टाइन थियो, १ तारिख आसपास विष्णुमायालाई ‘बेल्सपाल्सी’ (प्यारालाइसीसको एउटा रुप) भयो । उनको मुख बाँगिएर बायाँतिर मोडियो । उनको स्वरुप बिगारिदियो । विहे भएको एक डेढ महिनामै त्यस्तो भएपछि साह्रै नमज्जा लाग्यो ।
“उहाँले त्योबेला पनि मेरो निकै केयर गर्नुभयो”, विष्णुमायाले भनिन्, “अरुजस्तै भयो, रिलेसनमै असर पथ्र्यो होला । तर, उहाँले मलाई उपचार गराउनुभयो, एकदमै सहज लिनुभयो ।” उपचार हुँदै थियो, सुधार हुँदै थियो । फेब्रुअरी १४ आइहाल्यो । बाँगिएको अनुहार नै लिएर उनीहरु नारायणगढको सेन्ट्रल पाल्म होटलमा सेलिब्रेसन गर्न गए ।
भ्यालेन्टाइन स्पेशल थियो । एक कुनामा उनीहरु रमाइरहे । उल्लेख्य के भयो भने कार्यक्रमको अन्तिममा त्यहाँ एउटा घोषणा भयो, “आजको बेस्ट भ्यालेन्टाइन कपल प्रमोद–विष्णुमाया । उनीहरु छक्क परे । “एक त मुख बाँगिएको, अर्को न कसैलाई चिनेका छौं, न हामीले विशेष केही गरेका छौं, हामी बेस्ट कपल भयौं”, प्रमोदले भने, “यसरी हाम्रो पहिलो भ्यालेन्टाइन नै अविष्मरणीय भइदियो ।” प्रमोदले यसो भनिरहँदा विष्णुमायाको अनुहारमा अनौठो कान्ती छाइरहेको थियो ।
सधैं खुसी हुन्न रै’छ
जीवन सुख–दुःखको मेल हो । दिनपछि रात आएजस्तै, हर्षपछि विस्मात आएजस्तै रमाइलो र नरमाइलो क्षण पनि चक्र बनेर घुमिरहँदो रहेछ । सधैं राम्रो कुरा मात्रै सुनिरहन पाउने भए यो ब्रह्माण्डको विकासक्रम, हाम्रो जीवनशैली पनि अहिलेको भन्दा बेग्लै हुने थियो । यो जोडीको जीवनमा पनि त्यस्तै भएको छ । यति मिठो सम्बन्ध, यति हाँसीखुसी जीवनमा एउटा यस्तो घटनाको प्रवेश भएको छ, जसले उनीहरुको रमाइलोमा थोरै नरमाइलो मिसाइदिएको छ कञ्चन पोखरीमा सकैले मैलो पानीको गाग्री पोखाइदिएजस्तो ।
करिब एक सालअघिदेखि विष्णुमायाको पेटमा क्यान्सर छ । जटिल अवस्थामा पुगेको उनको क्यान्सर अगाडि थाहा भएन । एक्कासि अवस्था बिग्रिएपछि थाहा भयो । उनीहरुले गर्न सकिने जति सबै प्रयास गरेका छन् । नेपाल, भारत र जापानका भएजति प्रविधिबाट उपचार लिइसकिन् । कयौंपटक केमो चढाएकी छन् । सोचेभन्दा राम्रो सुधार त देखिएको छ । “तर, यो रोगको पूरै उपचार सम्भव छैन”, विष्णुमायाले भनिन्, “यति खुसी परिवारमा एक्कासि यस्तो घटना आइदिदा एउटा श्रीमान्लाई कस्तो महसुस भयो होला ? “यसलाई म कसरी व्यक्त गरुँ ?”, प्रमोद निकै भावुक बने, “त्यसदिन म धेरैबेर रोएँ । पूरै छाँगाबाट खसेजस्तै भएँ ।”
उनलाई अब जिन्दगी नै यत्ति रहेछ सँगै काट्ने भन्ने लाग्यो । भगवानले पनि राम्रो जोडीलाई किन यत्ति छिट्टै छुटाउन खोजेको होला भन्ने लागेर धिक्कारे । तैपनि उनले हिम्मत हारेनन् । दुनियाका जुनसुकै ठाउँमा गएर पनि जेसुकै गरेर पनि बचाउँछु भन्ने आँट गरे । बोकेर हिडे पनि । विष्णुमायामा आएको सुधारले उनमा पनि केही खुसी ल्याएको छ ।
रोग थाहा भएपछि विष्णुमायालाई कस्तो भयो होला त ? “म पनि निकै आत्तिएँ”, उनले भनिन्, “तर, जिन्दगीमा जहिलेपनि म एउटा नभए अर्को विकल्प रोज्नुपर्छ भन्ने मान्छे हुँ । त्यसैले क्यान्सर त भयो, अब थप के ? भन्ने सोच्न थालें ।” अनि मृत्युबारे उनको धारणा के बन्यो त ? “के म मृत्युदेखि नै डराएकी हुँ त ? भन्ने सोचें”, उनले भनिन्, “यो रोग लागेपछि मृत्यु त अवश्य हुन्छ नै । तर, त्यसपछि पनि अर्को संसार होला । त्यहाँपनि एडजस्ट भइएला भन्ने लाग्यो । यदि नभएपनि किन डराउनु छ र भन्ने सोच्न थालें ।” यही दर्शनले उनलाई बलियो बनाएको छ । भित्र रोगै छैन कि झै बनाएको छ । बाहिरबाट उनी हट्टाकट्टा लाग्छिन् । पूरै तन्दुरुस्त लाग्छिन् ।
उनीहरुबाट एउटा छोरा भएको छ । त्यही छोराप्रतिको आफ्नो दायित्व सम्झिएर पीडा हुन्छ । अब बाँकी समयमा उनले आफूलाई यसैमा समर्पित गर्नुछ । आखिर संसार चलेकै छ । हिजो पनि चलेको थियो, भोलि पनि चल्ने नै छ । आज मैले गाह्रो महसुस गरेपनि भोलि त फेरि एडजस्ट भइहाल्छ नि भन्ने लाग्छ उनलाई ।
जोडीहरुलाई सुझाव
उनीहरुमा उत्ताउलो लभ कहिल्यै आएन । एक त उनीहरु विहेअघि लभिङ रिलेसनमा रहेनन् । अर्को कुरा उनीहरु गम्भीर स्वभावका छन् । उत्ताउलोपना देखिदैन । त्यसैले पनि फेरि उनीहरुको जोड यसैमा छ कि, ‘माया देखाउने कुरा होइन, महसुस गराउने हो ।’ त्यसोभए माया वा सफल दाम्पत्य जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो त ? “विश्वास”, एकअर्कामा सही थाप्दै उनीहरुले भने, “कम्प्रमाइज अनि सपोर्ट ।” अनि अन्तिममा प्रमोदले भने, “सत्य कुरा कहिल्यै नढाट्नुस् ।”
भ्यालेन्टाइनमा यसपालि मलाई बेग्लै मायाको गफ गर्न मन लागेको थियो । त्यही गरें । उनीहरुले सहजरुपले आफ्ना कुरा व्यक्त गरे । वास्तवमै उनीहरुले माया देखाएका होइनन्, महसुस गराएका हुन् । दाम्पत्य जीवनको औधी धेरै समय बिताएका छैनन् उनीहरुले । तर, ज्यादै परिपक्वता देखाएका छन् । उनीहरुमा विश्वास छ, एकअर्काप्रति भरोसा छ । आखिर यही त हो नि माया । छुटिने बेला फेरि एकपटक कुरा भयो, “आखिर मायालाई कसरी हेर्नुहुन्छ त ?” जे जति भनियो त्यसरी नै ।
हामी सबै हास्यौं ।
bhaibinod@gmail.com