विनोदबाबु रिजाल
चितवन, २९ माघ ।
आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टुअन्तर्गत नेपालको चौथो खेलमा नेपाली युवा बलर सन्दीप लामिछनेले जादुमय बलिङ गरेका छन् ।
सन्दीपले १० ओभरमा ५ मेडनसहित २० रन मात्रै खर्चेर ५ विकेट झारिदिए । सन्दीपले फालेको ६० बलमध्ये ५० त डट नै भयो । बाँकी बलमा २ चौका मात्रै खेर गएको छ । उनले २ रन मात्र कुदेर ल्याउन दिए । उनको बलिङ इकोनोमी २ मात्रै छ ।
सन्दीपले कसिलो बलिङ गरेपनि केन्याली टिमको स्कोर भने राम्रो बनेको छ । केन्याले ५० ओभर पूरै खेलेर ८ विकेट क्षेतिमा १७७ रन बनाएको छ । केन्याले आज खेलमा राम्रो सुरुआत गरेको थियो । केन्या एक समयमा विनाक्षति १६ ओभरमा ६५ रनमा थियो । त्यसबेला बलिङ गर्न आएका सन्दीपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
ब्याटिङतर्फ केन्याका ओपनर इर्फान करिमले सर्वाधिक ४२ रन बनाए भने ओबान्डाले ४१ रन जोडेका थिए । त्यसबाहेक मिडल अर्डरका कोलिन्स ओबोयुले २७ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्वपूर्ण योग्दान दिन सकेनन् । नेपालका तर्फबाट सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले समान १–१ विकेट लिए ।
यसअघिको नेपाली टिमको प्रदर्शन हेर्दा केन्याले बनाएको यो स्कोर पार गर्न सजिलो छैन । नेपालले पहिलो खेलमा नामिबियाले दिएको १३८ रनको लक्ष्य पार गर्न ४९.२ बलसम्म संघर्ष गर्नुपरेको थियो भने ९ विकेट गुमाएको थियो । त्यस्तै दोस्रो खेलमा ओमनसँग १३८ रनमै नेपाली टिम अलआउट भएको थियो । तेस्रो खेलमा पनि यूएईलाई जित्दा नेपालले ३४ ओभरमा ११५ रन बनाउन राम्रै संघर्ष गरेको थियो ।
नेपालले जवाफमा केहीबेरमा ब्याटिङ गर्दैछ । नेपालको ३ खेलमा एक हार र दुई जितसहित ४ अंक रहेको छ भने दुई खेलमा दुवै हारसहित केन्याले अझै अंकको खाता खोल्न बाकीँ रहेको छ ।