चितवन, २८ माघ ।
जू फुटबल क्लब जुगेडी भरतपुरमा जारी प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा रामपुर फुटबल क्लबविरुद्ध उत्कृष्ट २–० गोलअन्तरको जित निकाल्दै जुगेडीले उपाधि भिडन्त पक्का गरेको हो । जुगेडी दोस्रो चितवन च्याम्पियनसिप कप २०७२ को विजेता हो ।
पहिलो हाफको नवौं मिनेटमा जर्सी नम्बर १० का योगेश गुरुङले गरेको गोलबाट खाता खोलेको जुगेडीले ६३ औं मिनेटमा जर्सी नम्बर २३ का डोना थापाको गोलबाट जित सुनिश्चित ग¥यो ।
खेलको म्यान अफ दी म्याच बनेका जुगेडीका कप्तान निराजन मल्ललाई चितवनका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सुवेदी र माओवादी केन्द्रका नेता नारायण दाहालले ट्रफी प्रदान गरे ।
सोमबार हुने भरतपुर फुटबल क्लब (बीएफसी) र गैंडाकोट फुटबल क्लबबीचको खेलबाट फाइनल भिड्ने अर्को टिमको टुंगो लाग्नेछ । फाइनल प्रतिस्पर्धा आगामी फागुन २ गते गरिने छ ।
खेलको विजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।
यसैबीच हरेक दिन प्रदान गर्ने गरिएको एभरेष्ट लक्की ड्रमा आइतबार भरतपुर–११ निवासी पूर्णबहादुर योञ्जनले आकर्षक मोबाइल प्राप्त गरेका छन् । एभरेष्ट लक्की ड्रमार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।