भरतपुर, २७ माघ ।
कफी र काफियाको छैटौं श्रृंखलामा युवा गजलकार लेखराम सापकोटा र गंगा लामिछाने सुनिए । सिर्जन साहित्य प्रतिष्ठानको आयोजनामा गैंडाकोटको नारायणी रिसोर्टमा शनिबार गरिएको युगल गजल वाचन कार्यक्रममा सापकोटा र लामिछानेले समान ७ गजल सुनाए ।
नखोज आँसु चुहाउन प्रिय तिमीले होइन म रोइदिन्छु,
ओढेर घुम्टो सर्माउन प्रिय तिमीले होइन म रोइदिन्छु
युगल गजल वाचनको सिलसिलाको सुरुमै सापकोटाले यो शेरबाट स्रोता दर्शकलाई सम्बोधन गरे । वाचनको अन्त्य गंगा लामिछानेले गरिन् ।
दुःखी हुन्नन् र प्रेमीहरु समझदारीमा प्रेम छुट्यो भने,
मात्र एकपटक मुस्कुराइदेऊ म सारा जंघार तर्न सक्छु ।
दुवै स्रस्टाका गजलका शेरले माहोल अत्यन्तै रोमाञ्चक देखिन्थ्यो । रमणीय नारायणी छेउमै गजल सुन्न आएका महिला सर्जकको उपस्थिति अघिपछि भन्दा बाक्लो थियो । वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले प्रणय दिवसका बेला गरिएको यस कार्यक्रमले छुट्टै अर्थ राखेको बताए । गजल सुन्न प्रणयभावमा लेखिएका गजलहरुले माहोललाई आफ्नो बसमा पार्न सफल रहेको गजल अभियान्ता पुष्प अधिकारी ‘अञ्जलि’ले बताए । वाचन गरिएका सबै गजलमाथि समीक्षक द्वारिका नेपालले टिप्पणी व्यक्त गरे । उनले दुवै स्रस्टाका गजलमा प्रणयभावका असन्तुष्टि, समर्पण, दर्शन तथा समसामयिकता मिसिएको दावी गरे ।
कार्यक्रमको अन्तिममा दुवै स्रस्टाले गजलमा सवालजवाफ पनि गरे । विगत २ दशक अघिदेखि नेपाली गजलका क्षेत्रमा कलम चलाउँदै आएका सापकोटा नवलपरासीका पहिलो चरणका युवा स्रस्टा हुन् । सहयात्री, अनामिकालगायत साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका सापकोटाको २०६१ सालमा श्रद्धाका फूलहरु गजल संग्रह प्रकाशित छ ।
गजलपथका यात्रीहरु र गजल बिम्ब गरी संयुक्त गजल संग्रहमा पनि उनका गजल संग्रहित छन् । हवाइ आकारमा प्रकाशित तिम्रा खुसीहरुमा उनको मुक्तक तथा हाइकुको संग्रह हो । फुटकररूपमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा पनि उनका गजल, कविता, मुक्तक, समीक्षालगायत सामग्री प्रकाशित छन् । पछिल्लो समय पुस्तक व्यवसायमा संलग्न उनी कायाकैरनमा कला र साहित्य बिटमा कलम चलाउँछन् । सापकोटा सिर्जन साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन् ।
त्यसैगरी गंगा लामिछाने गैंडाकोटकै स्रस्टा हुन् । विगत एक दशकदेखि साहित्य साधना गरिरहेकी उनी नेपालीमा स्नातकोत्तर हुन् । लेखराम सापकोटासँग गजलमा सवालजवाफ गरिरहने गंगाका राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा फुटकर लेखरचना प्रकाशित छन् । गजलको राजधानीका रूपमा चिनिने गरेको चितवन र नवलपुरमा गजलको लहर जारी राख्न यस्तो खाले कार्यक्रम सुरु गरिएको हो ।
यसैवर्षको असारदेखि सुरु गरिएको कफी र काफियाको पहिलो शृङ्खलामा पाका स्रस्टा गोविन्दराज बिनोदी र धनराज गिरि प्रस्तुत भएका थिए । त्यसपछि साउनमा हेमा आले र केवि धुवाँले, भदौमा सरोज उजाड र सरला जोशी, असोजमा आदर्श सुशील र दीप मिलन, कार्तिकमा रमेश प्रभात र टीका सापकोटा प्रस्तुत भइसकेका छन् ।