चितवन, माघ २७
चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ आजबाट सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
पहिलो खेलमा न्यू डायमण्ड विजयी
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको शिवम न्यू डायमण्ड एकेडेमी विजयी भएको छ । भारतको हरियाणा पुलिसको महिला टिमलाई उसले ३–० को सेटमा सजिलै पराजित ग¥यो । पहिलो सेटमा २५–२० को जित हात पारेको डायमण्डले दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–१५ को जित हात पा¥यो ।
समूह ‘बी’ मा रहेको डायमण्डलाई दोस्रो चरण प्रवेशका लागि उत्कृष्ट सफलता मिलेको छ भने हारले हरियाणाको खतरा बढेको छ । समूह ‘बी’मा तीन टिम छन् । अर्को खेलमा हरियाणाले नेपाल पुलिस क्लबको सामना गर्नुपर्नेछ ।
दोस्रो खेलमा विभागीय टिम एपीएफले आईफ्याट बंगलादेशको सामना गर्दैछ । खेल अहिले भइरहेको छ । प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, नेपाल आर्मी, चितवन टाइगर र बंगलादेश छन् ।
दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिनेछ ।
भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।